१३ बैशाख २०८१, बिहीबार
Follow Us

चुनावपश्चात् राजपा–फोरम पार्टी एउटै हुने

नेपालब्रिटेन डट कम्
५ मंसिर २०७४, मंगलवार १३:१२

सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँगको चुनावी तालमेल मधेशी जनताको अधिकार प्राप्तिका लागि भएको र यो सफलतापश्चात् पार्टीगत एकताप्रति अगाडि बढ्ने बताउनुभएको छ । यो चुनावी तालमेलको शुरुवात हो, यसले राम्रो संकेत दिएको छ र यो विस्तारै मधेशी एकताका लागि उदाहरणीय थालनी बन्ने समेत उहाँले तर्क दिनुभयो ।

अध्यक्ष यादवले आज राजविराजमा रासससँग कुाराकानी गर्दै संविधान संशोधन, मधेसीको पहिचान, अधिकार र राज्यमा मधेसीको सहभागिताका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीले चुनावी तालमेल गरेको र यो सफल हुने दाबीसमेत गर्नुभयो ।

साथै उहाँले मधेशीको अधिकार प्राप्ति नभएसम्म मधेशीको लडाइँ समाप्त नहुने बताउँदै मधेशी गठबन्धनले बहुमत प्राप्त गरेमा मधेशीको अधिकार सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले काँग्रेस, एमाले र माओवादीले जति मीठो भाषण र आश्वासन दिए पनि मधेशी हितमा नभएको आरोप लगाउनुभयो ।

राज्यमा सबैभन्दा बढी कर तिर्ने मधेशमा सरकारी लगानी अत्यन्त कम भएको र भेदभाव रहेकाले आफ्नो बहुमत आए राज्यको लगानी बढाउने शिक्षा, स्वास्थ्य र रोजगारीको वातावरण बनाउने दाबी गर्नुभयो । साथै, उद्योगधन्दाका लागि स्वदेशी तथा विदेशी लगानी वृद्धि गर्ने र कृषि उद्योगमा जोड दिने उहाँले उल्लेख गर्नुभयो ।