७ बैशाख २०८१, शुक्रबार
Follow Us

म बुहारी हुँ, मैले कैलाली किन रोजे ? : डा. आरजु

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७४, बुधबार १४:१०

धनगढी । नेपाली कांग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले आफू सुदूरपश्चिमकी बुहारी भएकोले कैलालीमा निर्वाचन क्षेत्र रोजेको बताउनुभएको छ । उहाँले कैलालीसहित प्रदेश नम्बर ७ को समग्र विकासलाई पहिलो प्राथमिकता बनाएकोले यहीबाट चुनाव लडेको बताउनुभयो ।
‘मलाई काठमाडौं, बाँके, बर्दिया सहित धेरै ठाउँबाट चुनाव लड्न अनुरोध आएका थिए’ डा. राणाले भन्नुभयो, ‘तर मैले कैलालीको यो क्षेत्र रोजे ।’ क्षेत्र नम्बर ५ का नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. देउवाले मंगलबार धनगढी उपमहानगरपालिको वडा नम्बर ३ का बडहरा, विशालनगर, मसानटोल, चटकपुरलगायतका स्थानमा घरदैलौ र चुनावी सभा सम्पन्न गर्नुभयो ।
चुनावी सभाहरुमा उहाँले आफूलाई सुदूरपश्चिमका समस्या र अवस्थाबारे राम्रो ज्ञान रहेको दावी गर्दै भन्नुभयो, ँयहाँको तीब्र आर्थिक सामाजिक विकासको अठोट सहित म चुनावमा होमिएकी छु । यो क्षेत्र पिछडिएको क्षेत्रको रुपमा अब रहदैन ।
उहाँले काँग्रेसले नै सुदूरपश्चिमलाई राजधानीसंग प्रत्यक्ष सम्पर्क स्थापित गराएको चर्चा गर्नुभयो ।
‘२२ पुलको निर्माणपछि नै सुदूरपश्चिमको राजधानीसँग प्रत्यक्ष सम्पर्क स्थापित भएको हो’ उहाँले भन्नुभयो,‘ सुदूरपश्चिम विश्वविद्यालयको स्थापना, मेडिकल कलेज, गेटा विमानस्थलको विस्तारलगायतका कार्य काँग्रेस नेतृत्वको सरकारका कारण मात्रै सम्भव भएको हो ।’
नेतृ देउवाले पश्चिम सेती जलविद्युत आयोजना, पञ्चेश्वर आयोजना, दोधाराचाँदनीमा सुख्खा बन्दरगाह, गेटा विमानस्थलको स्तरोन्नती, गौरिफन्टा नाको स्तरोन्नत, एक वर्षभित्र पोलिक्लिनिक इन्स्टिच्युटको स्थापना, विशेष औद्योगिक क्षेत्रलगायत सुुदूरपश्चिमको तीब्र आर्थिक विकासका प्रमुख आधारका रूपमा रहेका योजनाहरू कांग्रेसले नै अघि बढाउने उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले लोकतन्त्रको स्थापना, संविधान सभाबाट संविधानको निर्माणको नेतृत्व गरेको काँग्रेसले संविधानको पूर्ण कार्यान्वयन तथा मुलुकको द्रुत आर्थिक विकास पनि काँग्रेसले नै गर्ने दावी गर्नुभयो ।