६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन अस्ट्रेलियाले प्रवक्तामा डिला खरेल

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७४, बुधबार २१:४१

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया कार्यसमितिले पूर्णता पाएको छ।

संघका अध्यक्ष टोनु घोतानेको अध्यक्षतामा बसेको बैठकले संघको विधानको दफा १८को २.२ बमोजिम प्रवक्तामा डिला खरेल, पब्लिक अफिसरमा भिम खरेल तथा कार्यसमिति सदस्यहरूमा परशुराम अधिकारी , अच्युत अधिकारी, मुरारी लम्साल र उद्धव भट्टलाई मनोनित गरेको छ।

समितिमा रिक्त रहेका एक पब्लिक अफिसर, एक प्रवक्ता र ४ सदस्य गरी ६ जनालाई मनोनित गरी कार्यसमितिलाई पूर्णता दिएको एनआरएन अस्ट्रेलियाका महासचिव नारायण कोइरालाले बताए । संस्थालाई गतिशील बनाउँदै एकपटकको नेपाली सधैँको नेपाली भन्ने भावनालाई अंगिकार गर्दै नेपालीका लागि नेपाली भन्ने मुल मन्त्र लिएर अघि बढ्ने अभिप्राय सहित विभिन्न क्षेत्र, पेशा, व्यवसाय र समाजसेवामा लामो समयदेखि कार्य गर्दै आएका व्यक्तिहरूको नाम प्रस्ताव गरिएको र सोही बमोजिम कार्यसमितिको बहुमतले सो निर्णय गरेको महासचिव कोइरालाले बताए।

प्रजातान्त्रिक परिपाटीमा हरेक समितिका निर्णयहरू सर्वसम्मत वा नभए बहुमतको आधारमा हुने भएकोले यो निर्णयमा एक उपाध्यक्ष अशोक केसी ,कोषाध्यक्ष अच्युत थपलीयालगायतका केहि साथीहरूले असहमति जनाएपनि भारी बहुमतका साथ पारित भएको कोइरालाले बताए ।

‘कार्यसमितिका निर्णयप्रति असहमति जनाउने अधिकार सदस्य तथा हरेक साथीहरूलाई छ तर त्यसका पनि विधि र प्रकृया हुन्छन्’, साथीहरूको विरोधको जवाफ दिँदै कोइरालाले भने ।

‘संस्थाकै जिम्मेवार पदाधिकारीहरू बहुमतको निर्णयप्रति असहमति जनाएपनि प्रेस विज्ञप्ति जारी गरेर संस्थाकै हित विपरित कार्य गर्नु सोभनिय देखिन्न । यो विधान विपरित पनि हो।’ कोइरालाले भने। यस बाहेकका अन्य विषयमा पनि आइसीसीले जारी गरेको विधान र नियमावली एनसीसीको सवालमा कार्यान्वयन नभइसकेको अवस्थामा आइसीसीसँंग सल्लाह र सुझाव लिएर मनोनित गरेको कोइरालाले बताए।

उपाध्यक्ष अशोक केसी तथा कोषाध्यक्ष अच्युत थपलिया, सदस्य अजय राजवंशी, सुरेश रेग्मी लगायत नौ जनाले संस्थाको हित विपरित बहुमतको दम्भमा अध्यक्षले निर्णय गरेको भन्दै विरोध जनाएका छन्। उनीहरूले एकै राज्यबाट पाँंच जना सदस्य मनोनित गर्नु र समावेशी बनाउन नसकेकोमा खेद प्रस्ताव पारित समेत गरेका छन्।