८ बैशाख २०८१, शनिबार
Follow Us

जानकी मन्दिरमा आज विवाह पञ्चमी मनाइँदै

sarusaru
७ मंसिर २०७४, बिहीबार ०२:४९

काठमाडौँ। त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ।

यसैगरी मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक मनाइँदैछ।

गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनक नन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे। शिवधनुषलाई भाँचेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो।

रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको विश्वास गरिन्छ।

सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीर नभए पनि अदृश्यरूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन्।

सो महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ।

पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ ।

रङ्गभूमिमा स्वयंवर विधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइएपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ।

त्यसअवसरमा निस्केको भगवान्को डोला शोभा यात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन्।

रङ्गभूमि मैदानमा वर र कन्या पक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीता रामको प्रतीकात्मक झाँकी र लाखौँ संख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ।

तिरहुतिया गाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ। श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन्। यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ।

देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ। उक्त महोत्सव पहिले एक महिनासम्म भव्यरूपमा मनाउने गरिएकामा अहिले चार दिनमात्र मनाइन्छ।

यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी मनाइँदैछ। आज विवाह गर्न साइत नचाहिने मान्यतासमेत छ।

-डिसी नेपालबाट ।