१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा नर्सको तलब बढ्ने

नेपालब्रिटेन डट कम्
७ मंसिर २०७४, बिहीबार ०७:५९

बेलायतमा सात वर्षपछि नर्सहरूको तलब बढ्ने भएको छ । अर्थमन्त्री फिलिप ह्यामण्डले बेलायती संसदमा यस वर्षको बजेट प्रस्तुत गरेसँगै नर्सहरूको तलब बढाइने बताएका हुन् ।

सरकारी खर्च कटौती गर्ने अभियानमा बेलायती सरकारले सन् २०१० देखि सरकारी सेवाको तलब बृद्धिमा १% को क्याप लगाएको थियो । वार्षिक मूल्यबृद्धि १% भन्दा माथि रहेकोले नर्सहरुको तलब बृद्धि ‘निगेटिभ’ रहँदै आएको थियो ।

बेलायतमा कार्यरत झन्डै २० हजार नेपाली नर्स र स्वास्थ्यसहायक पनि यसबाट लाभान्वित हुनेछन् ।

अर्थमन्त्रीले तलब बढ्ने स्पष्ट सङ्केत गरे पनि कति बढ्छ भन्ने भने बताएनन् ।’एजेन्डा फ़र चेन्ज’ नाम दिइएको सरकारी स्वास्थ्य सेवामा काम गर्ने नर्स र हेल्थ केयर स्टाफहरूको तलब बढ्ने भए पनि यसभित्र डाक्टरहरू भने पर्दैनन् । नर्सको तलब बढ्ने भएसँगै शिक्षक, प्रहरीजस्ता अन्य सरकारी कर्मचारीको तलब बढाउन सरकारलाई दबाब पर्नेछ ।

बेलायतमा नर्सहरुको तलब अमेरिका, क्यानडा, अस्ट्रेलियालगायतका धेरै विकसित देशभन्दा कम रहेको छ । आकर्षक सेवा सुविधा नभएकोले यो क्षेत्रमा माग अनुसारको जनशक्ति आपूर्ति हुन सकेको थिएन ।