१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सिन्धुपाल्चोकमा पशुपतिशमशेरका दुई छोरीको कसरत

नेपालब्रिटेन डट कम्
७ मंसिर २०७४, बिहीबार ०८:०९

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा बाबुलाई जिताउन पशुपति शम्शेर राणाका दुई छोरी लागि परेका छन् । राप्रपा प्रजातान्त्रिक र नेपाली काँग्रेसका संयुक्त गठबन्धनलाई भोट माग्दै जिल्लाको हिमाली गाउँ पुगेका दुई छोरी उर्बसी र देवयानीले यो पटक लोकतान्त्रिक गठबन्धनलाई जिताएर सिन्धुपाल्चोकमा विकासको जग मजबुत बनाउन आग्रह गरेका हुन् ।

पैतिस वर्ष अघिदेखि सिन्धुपाल्चोकलाई कर्म थलो बनाएर चुनावमा भाग लिँदै आउनुभएका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष ७६ वर्षीय राणा यस पटकको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा हुनुहुन्छ ।

ती दुई छोरीले यसअघि ०७० सालको संविधानसभा निर्वाचनमा पनि सिन्धुपाल्चोकका केही क्षेत्रमा पुगेर आफ्ना बाबुलाई भोट माग्न सघाएकामा यस पटक भने पूरा तयारीका साथ गाउँगाउँ पुगिरहेका छन् । उनीहरुले आफ्ना बाबुले ३५ वर्षदेखि गाउँ गाउँमा पु-याएको योगदान र शिक्षा क्षेत्रमा गरेको विकासको कदर गर्दै यस पटक विजय गराउन अनुरोध गरेका हुन् ।

जिल्लाको विभिन्न भागमा भएको आमसभामा सहभागी हुनुभएकी छोरी देवयानीले २ नं निर्वाचन क्षेत्रको प्रदेशसभा क र ख मा नेपाली काँग्रेसबाट उम्मेदवार रहनुभएका क्रमशः निमा लामा र विकास तामाङको साथले लोकतान्त्रिक गठबन्धनले चुनाव जित्नेमा विश्वस्त रहेको बताउनुभयो ।
लामो समयदेखि सिन्धुपाल्चोकको विकासको लागि संघर्ष गर्दै आउनुभएका बाबुले भाषणभन्दा बढी काम गर्दै आउनुभएको र अबको दिनमा पनि जिल्लाको जनताको हकहित र विकासको लागि निःस्वार्थरुपमा लागि पर्नेमा कुनै दुविधा नलिन ठूली छोरी उर्बसीले आग्रह गर्नुभयो ।

अहिले बाबुसँगै गठबन्धनबाट दुई दरिलो काँग्रेस नेताको साथ र सहयोगले चुनावी माहोल झनै तातेको बताउँदै छोरी देवयानीले काँग्रेसको प्रदेशसभाको चुनाव चिह्न रुखमा र प्रतिनिधिसभाको लागि गोलाकारभित्रको हलोमा मतदान गर्न आग्रह गर्नुभएको हो । काँग्रेस र राप्रपा प्रजातान्त्रिकका साथीको सहयोग तथा दुई छोरीको मेहनतले पनि आफूले सजिलै चुनाव जित्तेमा आफू ढुक्क भएको राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले बताउनुभयो ।