१६ चैत्र २०८०, शुक्रबार
Follow Us

देशका सबै युवायुवती हाम्रा छोरा प्रकाश हुन्

नेपालब्रिटेन डट कम्
७ मंसिर २०७४, बिहीबार ०९:३६

पुष्पकमल दाहाल (प्रचण्ड)

हाम्रा प्रिय पुत्र कमरेड साकार दाहाल (प्रकाश) को श्रद्धाञ्जली सभामा यहाँहरुको सहानुभूतिपूर्ण उपस्थितिका लागि म र मेरो परिवार आभारी छौं । हाम्रो पारिवारिक शोकमा तपाईंहरुको ऐक्यबद्धता हाम्रा लागि धेरै महत्वपूर्ण छ । पीडामा साथ दिनुले खुशीमा साथ दिनुभन्दा धेरै महत्व राख्दछ । तपाईंहरुको साथले हामीलाई एक मात्र पुत्रको वियोगको पीडा सहन र पीडासँग लड्न धेरै शक्ति मिलेको छ ।
यही मंसिर ३ गते राति आकस्मिक हृदयघातबाट हाम्रा छोरा प्रकाशको असामयिक निधन भयो । उनी जम्मा ३६ वर्षका थिए । ३६ वर्ष संसार बुझ्न र बाँच्न अत्यन्त थोरै उमेर हो । कलिला दुई छोरालाई टुहुरा बनाएर उनी यति थोरै उमेरमै हामीबाट सधैंका लागि बिदा भए ।
म पूर्णकालीन राजनीतिमा लागेको तीन वर्षपछि २०३८ सालमा प्रकाशको जन्म भयो । म भूमिगत राजनीतिमा थिएँ, कहिलेकाहिँ मात्र घर आउँथे, त्यो पनि राति अबेला आउँथे र बिहान झिसमिसेमै हिडिहाल्थे । उनी निरन्तर सामाजिक आर्थिक र मनोवैज्ञानिक असुरक्षाबीच हुर्किए । सुरक्षाका कारण एक पछि अर्को स्कुल फेर्दाफर्दै उनको पढाइ लथालिङ्ग भयो । अरु थुपै्र नेपाली युवाजस्तै कलिलैमा हतियार बोकेर क्रान्ति र नेतृत्वको रक्षाका लागि उनी पूर्णकालीन कार्यकर्ता भए । अहिले सम्झदा यस्तो लाग्छ, उनी आफनो जीवनमा कहिल्यै किशोर हुन पाएनन्, बालकबाट सिधैं युवा भए । सक्रिय राजनीतिक जीवनका कारण लालनपालनमा मैले बाबुका रुपमा उनीमाथि न्याय गरिनँ, गर्न सकिनँ ।

प्रकाश अब छैनन् । तर देशका हेरक युवायुवतीमा हामीले प्रकाशलाई देखेका छौं । यो देशका सबै युवायुवती हाम्रा छोरा प्रकाश हुन् र तिनको समुन्नत भविष्यका लागि हामीले अझ धेरै मेहनत गर्नुपर्छ भन्ने निष्कर्षमा हामी अझ दृढ भएका छौं ।

केहीले कमरेड प्रकाशलाई केवल मेरो छोरा मात्र ठाने र त्यसैमा उनको व्यक्तित्व सीमित गर्न खोजे । तर उनी प्रविधिमा, संगठनमा र व्यवस्थापनमा अत्यन्त पोख्त थिए । म प्रधानमन्त्री हुँदा र त्यसपछि पनि मेरो निजी सचिवालयमा उनी मेरो छोरा भएका कारण होइन, त्यो भूमिकाका लागि आवश्यक योग्यता र क्षमता भएका कारण जिम्मेवारीमा थिए । उनी अत्यन्त मिडियामैत्री थिए । प्रविधिमा उनको रुचिमात्रै थिएन, दख्खल पनि थियो । व्यवस्थापनमा उनको दक्षता त यहाँहरु सबैले देख्नुभएकै हो । सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढी सहकर्मी र सहयोद्धा भए । म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोस्रो कार्यकाल उनको सहयोग बिना सफल हुने थिएन ।
पुत्रवियोग मान्छेको जीवनमा सबैभन्दा ठूलो शोक मानिन्छ र रहेछ पनि । शोकको यो घडीमा हामीले देश मात्र होइन, विश्वभरिबाटै हार्दिक समवेदना र सान्त्वना पायौं । नेपालका सबै राजनीतिक दल र तिनको नेतृत्वले हामीलाई दिएको समवेदना र ढाडसप्रति हामी ऋणी छौं । हाम्रा छिमेकी देश चीन र भारतबाट म र मेरो परिवारले निकै छिटो पे्रमपूर्ण समवेदना पायौं । यूरोप, अमेरिका, अस्ट्रेलिया, अफ्रिका र एसियाका विभिन्न देश अनि संसारभरिका थुप्रै कम्युनिष्ट पार्टीले यो शोकमा हाम्रो परिवारप्रति ऐक्यबद्धता र सहानुभूति देखाए । विभिन्न पेशागत, व्यवसायिक र सामाजिक संघसंस्थाले यो शोकमा हामीलाई सान्त्वना दिए । मंसिर ३ गते नर्भिक अस्पतालदेखि पेरिसडाँडा र आर्यघाटसम्म स्वतःस्फुर्त रुपमा उर्लिएको जनसागरलाई मैले क. प्रकाशले छोटो उमेरमा कमाएको प्रतिष्ठाको प्रमाण मानेको छु ।
दश वर्ष लामो नेपाली क्रान्तिकालमा हामीले त्याग, तपस्या र बलिदानका धैरै कीर्तिमान देख्यौं । जीवनको लम्बाइ होइन, उचाइ धेरै हुनुपर्छ भन्ने हाम्रो मान्यता थियो र छ । कमरेड प्रकाशको मृत्युपछि नेविसंघ, अनेरास्ववियु र अखिल (क्रान्तिकारी) सँगै युवा संगठनहरुले पनि म र मेरो परिवारलाई संयुक्त सान्त्वना दिए र हामी सबै तपाईंका छोराछोरी हौं भनेर हाम्रो आत्मबल बढाए । प्रकाश अब छैनन् । तर देशका हेरक युवायुवतीमा हामीले प्रकाशलाई देखेका छौं । यो देशका सबै युवायुवती हाम्रा छोरा प्रकाश हुन् र तिनको समुन्नत भविष्यका लागि हामीले अझ धेरै मेहनत गर्नुपर्छ भन्ने निष्कर्षमा हामी अझ दृढ भएका छौं । हो, हामी शोकाकूल छौं । तर, देश र समाजप्रतिको दायित्व यो शोकमा हामीले अझ बढी महसुस गरेका छौं ।
आफन्तजन, राजनीतिज्ञहरु, पार्टीका साथीहरु, महामहिमहरु, विभिन्न पेशा र वर्गका शुभचिन्तकहरु, यो शोकका क्षण्मा यहाँहरुले मनैदेखि दिएको समवेदना र सहानुभूतिले हामीमा धैर्य र हिम्मत थपेको छ । आजको उपस्थितिका लागि म परिवार र पार्टीका तर्फबाट हृदयदेखि नै तपाईंहरुप्रति कृतज्ञता व्यक्त गर्दछु ।
७ मंसिर २०७४
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले लाजिम्पार्टमा आयोजित श्रद्धाञ्जली सभामा दिएको अभिव्यक्ति