१३ बैशाख २०८१, बिहीबार
Follow Us

कान्तिलोकपथ बामपन्थीको मागी खाने भाँडो भएको थियो: उदयशमशेर

नेपालब्रिटेन डट कम्
८ मंसिर २०७४, शुक्रबार १२:४०

काठमाडौं । कांग्रेसबाट ललितपुर क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेदवार उदय शम्शेर राणाले विकास गर्नेलार्इ मत दिन मतदाताहरुलार्इ आग्रह गरेका छन् ।
दक्षिण ललितपुरको ठूलादुर्लुङमा चुनावी घरदैलो कार्यक्रमपछि आयोजित सभालार्इ सम्बोधन गर्दै उम्मेदवार राणाले ललितपुर क्षेत्र नं १ को विकासका लागि आफूले निकै संघर्ष गरेको बताएका हुन् । उनले भने, ‘आज यो क्षेत्रमा जति विकास भएकोछ त्यो आफै भएको होइन, यसका लागि मैले सिंहदरवारका धेरै ढोका चहारेको छु ।’
उनले आफूले चुनाव जितेपछि ४ बर्षमा २५ बर्षमा भएको विकास भन्दा दश गुणा बढी विकास भएको दावी गर्दै भने, ‘उदय शम्शेरले केही नगरेको भए कसरी करोडौं र अर्वौंका बजेटहरु आए, किन बामपन्थीहरुले जित्दा यहाँ ठूला बजेट आएनन् ?’ उनले केही बामपन्थीहरुले उदय शम्शेरले केही गरेन भन्दै भ्रम सिर्जना गर्न खोजेको प्रति आपत्ति जनाउँदै कसको पालामा कति विकास भयो सार्वजनिक रुपमा बसहका लागि आव्हानसमेत गरे ।
‘बामपन्थीहरुले उदयले केही गरेन भन्दै हिडेका छन् म उनीहरुलार्इ प्रमाणसहित बहस गर्नका लागि आह्वान गर्छु । जनताका अगाडि कसले कति विकास गर्‍यो छलफल गरौं ।’ कान्तिलोकपथलार्इ लामो समय बामपन्थीहरुले मागि खाने भाँडो बनाएको र जनतालार्इ आश्वासन मात्र दिएको भन्दै राणाले आफूले चुनाव जितेपछि साढे तीन अर्व बजेट विनियोजन भएको बताए ।
मैले र मकवानपुरमा इन्द्र बानियाँले चुनाव जितेपछि कान्तिलोकपथ निर्माणले गति लियो, पहिला सबै बामपन्थीहरुले कान्तिलोकपथ बनाउँछौं भनेर जनतालार्इ झुक्याउने मात्र काम गरे’, उनले भने, ‘अहिले सडक फराकिलो र कालोपत्रेको काम धमाधम भइरहेको छ । अब चाँडै निर्माण सम्पन्न हुन्छ।’ यस्तै उनले गिम्दी ठुलादुर्लुङ जोड्ने बाटोमा विगतमा बामपन्थी सांसदहरुले करोडौं रकम ल्याएपनि कुनै हिसावकिताव नभएको बताए । उनले स्थानीयलार्इ विगतमा भएका खर्चको हिसाव खोज्नसमेत स्थानीयलार्इ आग्रह गरे ।
आफू निर्वाचित भएपछि यो बाटो निर्माण कार्य अगाडि बढेको उनले बताए । यस्तै उनले शशिपा भञ्ज्याङबाट तल ओर्लने बाटो खराव भएको भनेर स्थानीयबाट आवाज उठेपछि आफूले क्षेत्र विकास कोषको रकम ४० लाख खर्च गरेपछि बाटो सहज भएको जनाए । यस्तै शशिपा देखि बगुवाजाने बाटोमा ७३ करोड रुपैयाँ बिनियोजन भएको र बाटोको स्तरोन्नति कार्य अगाडि बढेको उल्लेख गरे । आफ्नो पहलमै विभिन्न दातृ निकायको सहयोगमा विद्यालय निर्माणका साथै अन्य कामहरु भइरहेको उल्लेख गरे । २०४८ सालदेखि नै आफ्ना बुबा सागर शम्शेर ललितपुर क्षेत्र १ को विकासमा सक्रिय भएर लागेको उल्लेख गर्दै उनले भने, ‘चुनावमा हारे पनि हामीले यहाँको विकासमा कहिल्यै पछाडि हटेनौं र भोली पनि हामी यसैगरी लागिरहने छौं ।’
उनले पार्टी भन्दा पनि व्यक्तिको योगदान हेरेर मत दिन आग्रह गर्दै भने, यदि कांग्रेसल विकास गरेको छैन भने मत नदिनुस् तर विकास गरेको छ भने तपार्इको हामीलार्इ चाहिन्छ । हामी अझै यहाँको विकासका लागि लाग्नेछौं ।’ ७० सालमा चुनाव जितेपछि आठ पटक ठुला दुर्लुङ पुगेको उनले बताए । ‘भूकम्प गएको दोस्रो दिन मै म यहाँ राहत सामग्री लिएर आएको थिए, दोस्रो पटक भूकम्प आउँदा त म यहीँ थिए । विगतमा चुनाव जितेकाहरु कति पटक यहाँ आए र अहिलेका उम्मेदवार कति पटक यहाँ पुगेका छन् तपार्इहरुले ख्याल गर्नुपर्छ’ उदयले भने ।