७ बैशाख २०८१, शुक्रबार
Follow Us

आक्रमणका घटना नदोहो-याउन काँग्रेसको चेतावनी

नेपालब्रिटेन डट कम्
८ मंसिर २०७४, शुक्रबार १२:५५

काठमाडौं । नेपाली काँग्रेसले निर्वाचनको संघारमा आफ्ना कार्यकर्तालाई लक्ष्य गरी नेकपा (एमाले)का कार्यकर्ताबाट भौतिक आक्रमण भएको भन्दै त्यस्ता क्रियाकलाप नदोहो-याउन चेतावनी दिएको छ ।

काँग्रेसले आज विज्ञप्ति जारी गरी पहिलो चरणको निर्वाचनको संघारमा बाजुरा र धादिङमा काँग्रेसका कार्यकर्ताको हत्या नै गर्ने मनशायले एमाले कार्यकर्ताबाट भौतिक आक्रमण भएको भनी निन्दा गरेको छ ।

“यस घटनाले शान्तिपूर्ण एवं निर्बाधरुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि ठाडो उल्लंघन गरेको छ र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको छ । यस प्रकारका अवांछित क्रियाकलाप पुनःनदोहो-याउन काँग्रेस चेतावनी दिन चाहन्छ”, पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल जारी विज्ञप्तिमा उल्लेख छ ।

बाजुराको बूढीगंगा नगरपालिका–१ मा बिहीबार राति एमालेका करिब ४० जना कार्यकर्ताको समूहको धारिलो हतियार प्रहारबाट काँग्रेसका स्थानीय कार्यकर्ता कृष्णबहादुर थापा, अम्म थापा, ललित थापा, गोपाल थापा, गोरे सनाई र लाल नेपाली घाइते भएको र डम्बर थापा, रमेश नेपाली र किसन नेपाली अझै सम्पर्कविहीन अवस्थामा रहेको पार्टीले जनाएको छ ।

घाइतेको जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचार भइरहेको छ । एमालेका कार्यकर्ताले घाइते कृष्ण थापाको मोबाइल, डायरी, ज्याकेट र नगदसमेत लुटेको र वडाध्यक्ष राजेशबहादुर सिंहलाई पछाडिबाट हातहतियारले हानेर घाइते बनाएको काँग्रेसले आरोप लगाएको छ ।

त्यस्तै धादिङको धुवाँकोट गाउँ कार्यसमितिका काँग्रेस सभापति सन्तोष बस्ताकोटीलाई एमालेका वडा प्रमुखसहितको नौ जनाको समूहले आज बिहान ६ बजे सुतिरहेको अवस्थामा खुकरीले आक्रमण गरी गम्भीर घाइते बनाएको काँग्रेसको आरोप छ । उहाँको अवस्था अत्यन्त चिन्ताजनक रहेकाले आजै बिहान हेलिकप्टरबाट काठमाडौँ ल्याई ट्रमा सेन्टरमा उपचार भइरहेको काँग्रेसले जनाएको छ ।

काँग्रेसले लोकतन्त्रप्रतिको उर्लँदो अपार जनलहरबाट अतालिएर दिनानुदिन काँग्रेसका नेता एवं कार्यकर्तालाई लक्ष्य गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले एमालेले सुनियोजित तवरबाट बारम्बार घटना दोह-याइरहेको आरोप लगाउँदै काँग्रेस नेता, कार्यकर्ता, शुभेच्छुक, अमतदाता सो घटनाबाट रत्तिभर विचलित नहुने जनाएको छ ।

काँग्रेसले उक्त घटनामा संलग्न व्यक्तिलाई तत्काल खोजी गरी कडा कानूनी कारबाही गर्न र घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।