१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रदेश नम्बर ४ मा पहिलो चरणमा काँग्रेस सबल भएको निष्कर्ष (तथ्यांकसहित)

नेपालब्रिटेन डट कम्
८ मंसिर २०७४, शुक्रबार १३:०२

पोखरा । प्रतिनिधिसभा र प्रदेशसभाको यही मंसिर १० हुने पहिलो चरणको निर्वाचनमा प्रदेश नम्बर ४ का निर्वाचन क्षेत्रहरुमा नेपाली काँग्रेसले अग्रता कायम गर्ने देखिएको छ । प्रदेश नम्बर ४ को गोरखा, लमजुङ, मनाङ, बागलुङ, म्याग्दी र मुस्ताङमा यहि मंसिर १० गते पहिलो चरणको निर्वाचन हुँदैछ भने कास्की, तनहुँ, स्याङ्जा, पर्वत र नवलपरासीको बर्दघाट पुर्वका दुई क्षेत्रमा दोस्रो चरण अन्तरगत मंसिर २१ गते निर्वाचन हुँदैछ ।

हिमाली जिल्ला मनाङमा प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका टेकबहादुर गुरुङ र नेकपा एमालेका पोल्डेन छेपाङ गुरुङका बीच सिधा प्रतिस्पर्धा हुँदैछ । मनाङका ४ वटा स्थानिय तहमा नेपाली काँग्रेसबाट धेरै जनप्रतिनिधि सभाहरु निर्वाचित भएकोले मात्र नभई विगतमा पनि टेकबहादुर र पाल्टेन गुरुङ जस्ता काँग्रेस नेताहरुले विजय प्राप्त गर्दैै आएको जिल्ला भएकोले पनि प्रतिनिधि सभासभामा काँग्रेसले नै जित्ने अनुमान धेरैको छ ।

५ हजार ८ सय ८१ मतदाता रहेको मनाङमा नासुङ र चामेमा काँग्रेसको प्रभाव बढि मानिन्छ । यसै क्षेत्रका चिन्ता घले नेपाली काँग्रेसको तर्फबाट प्रदेशसभा ‘क’का उम्मेदवार हुनुहुन्छ । उहाँको प्रतिस्पर्धा नेकपा एमालेकै दोर्ज डेडुल शेर्पासँग हुँदैछ । चुनावी प्रचार अभियानमा काँग्रेसको पक्षमा जनलहर आएकोले यो प्रदेशमा घलेको विजय निश्चित जस्तै रहेको बताईन्छ ।

प्रदेश ‘ख’मा नेपाली काँग्रेसको तर्फबाट कर्मा गुरुङ र नेकपा एमालेको समर्थन पाएका राजिव गुरुङ अर्थात दीपक मनाङेका बीचमा हुने प्रतिस्पर्धामा पनि कर्माले बाजि मार्ने संभावना छ । कर्मा स्थानीय र धेरै मतदाता रहेका ठाऊँको भएकोले पनि उहाँलाई धेरै मतदाताले समर्थन गरेका छन् । राजिव अर्थात दीपक मनाङेको छविलाई लिएर धेरैले आलोचना गर्दै आईरहेकोले पनि उहाँ पछि पर्ने बताईन्छ ।

यसैगरि प्रतिनिधिसभामा १ सीट रहेको लमजुङमा पनि नेपाली काँग्रेस अगाडि देखिन्छ । नेपाली काँग्रेसका दिलबहादुर घर्तीसँग बामगठबन्धनबाट उठ्नुभएका नेकपा माओबादी (केन्द्र)का देवप्रसाद गुरुङको प्रतिस्पर्धा हुने देखिएपनि विजय कांग्रेस नेता घर्तीको पक्षमा पर्ने देखिन्छ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट देवेन्द्र पराजुली पनि लमजुड.मा उम्मेदवार उठ्नुभएको छ । पराजुली विगतमा माओबादीको जिल्ला सचिव समेत रहेर काम गरिसकेकोले माओबादीका मत समेत उहाँले पनि काट्ने बताइन्छ ।

माओबादीका उम्मेदवार गुरुङलाई स्थानिय मतदाताले पर्यटक उम्मेदवारको संज्ञा समेत दिन थालेका छन् । घर्ती विगतदेखि नै लमजुङलाई आधार बनाएर राजनीतिमा सक्रिय रहदै आउनुभएको छ ।

सशस्त्र द्वन्द्वका क्रममा सुन्दरबजार नगरपालिका परेवाडाँडाका एमाले नेता तिलक पाण्डेलाई माओबादीले हत्या गरेकोले त्यसको बदला लिन केहि एमालेहरु लागिपरेका छन् । यसबाहेक लमजुङमा मात्रै करिब २ सय जनाको माओबादी सशस्त्र युद्धताका हत्या भएकोले तिनका परिवार र आफन्तले माओबादीका उम्मेदवारलाई समर्थन नगर्ने निश्चित छ । यसको फाइदा काँग्रेसका उम्मेदवार दिलबहादुर घर्तीलाई मात्र नभएर प्रदेश तर्फका उम्मेदवारहरुले पनि प्राप्त गर्नेछन् ।

लमजुङको प्रदेशसभा ‘क’मा काँग्रेसको गर्जबहादुर गुरुङ र एमालेका धनञ्जय दवाडीबीच मूख्य प्रतिस्पर्धा हुने भएपनि कम्यूनिष्ट गठबन्धनका दवाडीले पाउने मत विवेकशिलका तुलसीराम, संघीय समाजबादीका ईन्द्रबहादुर र नयाँ शक्तिका राजु थापा लगायतले काट्ने भएपछि गुरुङ बलियो बन्नुभएको छ ।

प्रदेश ‘ख’मा पनि काँग्रेसका कृष्णप्रसाद कोईरालाको अवस्था निकै सुदृढ देखिएको छ । लमजुङ काँग्रेसका सभापति भैसकेका कोईराला स्वच्छ छविका र मिलनसार नेता मानिनुहुन्छ । यो प्रदेशबाट नेकपा एमाले नेता पृथ्वीसुब्बा गुरुङलाई बाम गठबन्धनले साझा उम्मेदवार बनाएपनि नयाँ शक्तिका सरोज दनाई, संघीय समाजबादीका सुरेशकुमार गुरुङ, विवेकशीलका मुनिन्द्र थापा लगायतले दिने धक्का पृथ्वी सुब्बालाई सहन गाह्रो पर्ने देखिन्छ ।

लमजुङमा कुल १ लाख १५ हजार ४ सय ५४ मतदाता रहेका छन् ।

गोखरा जिल्लाका दुईवटा निर्वाचन क्षेत्रमा पनि नेपाली काँग्रेस र नेपाली काँग्रेसकै समर्थन प्राप्त गरेका नयाँ शक्तिका उम्मेदवारहरु विजयको नजिक पुगेका छन् । निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभासभाको लागि ८ जना उम्मेदवार चुनावी मैदानमा रहेपनि काँग्रेसका चिनकाजी श्रेष्ठ र माओबादी केन्द्रका हरिराज अधिकारीबीच मूख्य प्रतिस्पर्धा रहेको छ । काँग्रेसका श्रेष्ठ पूर्व सांसद र नेपाली काँग्रेसका माथिल्लो तहका नेता भएकोले मात्रै होईन, स्थानिय जनताको पक्षमा निरन्तर लागिरहेको नेता समेत भएकोले आम मतदाताको विश्वास श्रेष्ठले जित्नुभएको छ ।

बुढिगण्डकी जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउन र निर्माण क्षेत्रमा स्थानियबासीलाई मुआब्जा उपलब्ध गराउन श्रेष्ठले गरेको प्रयासको यतिबेला गोरखाबासीले सराहना गरेका छन् । यसबाहेक कम्यूनिष्टका साझा उम्मेदवार अधिकारीले पाउनुपर्ने मत नेकपा मालेका उम्मेदवार नारायणबाबु, संघीय समाजबादीका दिपेन्द्र गुरुङ, मंगोल नेशनलका आकाश रानामगर लगाएतले काट्ने भएपछि श्रेष्ठ झन बलियो देखिनुभएको छ ।

गोरखामा नयाँ शक्ति पार्टीको समेत राम्रो प्रभाव रहेको र नयाँ शक्तिको समर्थन काँग्रेसलाई भएकोले पनि श्रेष्ठको विजयमा शंका नरहेको बताईन्छ ।

क्षेत्र नम्बर २ बाट भने नेपाली काँग्रेसले नयाँ शक्ति पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई समर्थन गरेको छ । यसै क्षेत्रबाट एमाले र माओबादीका साझा उम्मेदवारको रुपमा माओबादी केन्द्रका नारायणकाजी श्रेष्ठ चुनावी मैदानमा छन् । काँग्रेसको प्रभाव क्षेत्रको रुपमा चिनिएको यस क्षेत्रबाट नेपाली काँग्रेसका मतदाताले भट्टराईलाई मत दिने र श्रेष्ठको मत पनि नेपाली मजदुर किसान पार्टीका गोबिन्दसिंह बस्नेत, राष्ट्रिय जनमुक्तिका नारायण अर्याल लगाएत बामपन्थी पृष्ठभूमिका अन्य उम्मेदवारले काट्ने देखिएको छ ।

गोरखाको क्षेत्र नम्बर १ अन्तरगत प्रदेश सभा क मा नेपाली काँग्रेसका धिरम थापा र माओबादी केन्द्रका लेखबहादुर थापाका बीचमा मूख्य प्रतिस्पर्धा हुने देखिएपनि काँग्रेसका थापाले जित्ने निश्चित जस्तै छ । यसैगरि प्रदेशसभा ख मा पनि विकासप्रेमी नेताको पहिचान बनाएका राजेन्द्र बजगाँईले बामगठबन्धनका उम्मेदवार एमालेका रामशरण बस्नेतलाई पराजित गर्ने धेरैको विश्वास छ । प्रदेशसभाका दुवै उम्मेदवार धिरम र राजेन्द्रको क्षमता र व्यक्तित्वका कारण उनीहरु आफू मात्र नभएर आफ्नो क्षेत्रबाट चिनकाजी श्रेष्ठलाई जिताउन सहज अवस्था सृजना गर्ने बताईन्छ ।

क्षेत्र नम्बर २ अन्तरगत प्रदेशसभा क मा काँग्रेसले नयाँशक्तिका हरिशरण आचार्यलाई समर्थन गरेको छ । त्यहाँ नेकपा माओबादी केन्द्रबाट वाम गठबन्धनका साझा उम्मेदवार कमला नहर्कीसहित ७ जना चुनावी मैदानमा छन् ।

प्रदेशसभा ख मा भने काँग्रेसका प्रकाशचन्द्र दवाडी विजयको नजिक हुनुहुन्छ । शिक्षा क्षेत्रमा धेरै लगानी गरेका दवाडी स्थानिय मतदातसमक्ष प्रत्यक्ष भिज्नुभएको छ । उहाँसँग प्रमुख प्रतिस्पर्धा गर्ने कम्यूनिष्टका साझा उम्मेदवार माओबादी केन्द्रका अमरबहादुर गुरुङ भने सोहि प्रदेशका नभएर क्षेत्र नम्बर १ बाट आएकोले पर्यटक उम्मेदवारको रुपमा आलोचित हुनुभएको छ ।

गोरखामा कुल १ लाख ८९ हजार ४ सय ४८ मतदाता छन् ।

पहिलो चरणमै निर्वाचन हुन लागेको धौलागिरी अञ्चलको बागलुङ जिल्लामा पनि नेपाली काँग्रेस अगाडि देखिएको छ । बागलुङ जिल्लाको क्षेत्र नम्बर १ मा काँग्रेस नेतृ चम्पादेवी खड्का र नेकपा एमालेका सूर्यप्रकाश पाठकबीच मूख्य प्रतिस्पर्धा हुँदैछ । महिला नेतृ र वर्तमान सरकारमा राज्यमन्त्री समेत भएकोले खड्काको पक्षमा मतदाता देखिएका छन् ।
एमालेका पाठकलाई भने नयाँशक्तिका कृष्णप्रसाद शर्मा, नेकपा मालेका निरबहादुर क्षेत्री र संघीय समाजबादी फोरमका महेन्द्र जिसीले धक्का पर्ने देखिन्छ ।

क्षेत्र नम्बर २ मा पनि काँग्रेसका नरबहादुर पुन ‘निरज’ विजयको नजिक हुनुहुन्छ । उहाँको प्रतिस्पर्धा मूख्य गरेर नेकपा माओबादी केन्द्रका देवेन्द्र पौडेलसँग हुने देखिन्छ । विगतमा नेपाली काँग्रेसले जिल्लामा गरेको कामको हिसाबले जिल्लाबासीले वामगठबन्धनको तुलनामा काँग्रेसलाई रुचाउन थालेको र राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत यो निर्वाचनमा नेपाली काँग्रेसलाई सहयोग गर्ने भएकोले काँग्रेसको विजय निश्चित जस्तै छ ।

स्थानिय तहको निर्वाचनमा वामपन्थीसंग गठबन्धन गरेको राप्रपाले बागलुङ नगरपालिकाको उपमेयरमा सुरेन्द्र खड्कालाई जिताउन सफल भएको थियो । तर तिनै खड्का सहित राप्रपाका नेता कार्यकर्ता यो निर्वाचनमा काँग्रेसलाई जिताउन सक्रियतापूर्वक खटेका छन् ।

काँग्रेसका निरज पुन पूर्व सांसद समेत रहेको र विकास निर्माणका क्रममा जनतासँग भिजेको तर वामगठबन्धनका उम्मेदवार देवेन्द्र पौडेल काठमाण्डौमा बसेर उम्मेदवार बन्न मात्रै बागलुङ आएको भन्दै आम मतदाताले आलोचना गरेका छन् ।

बागलुङमा १ लाख ६८ हजार २ सय ८२ मतदाता रहेको बागलुङको क्षेत्र नम्बर १ अन्तरगत प्रदेशसभा ‘क’मा काँग्रेसका दीपेन्द्रबहादुर थापा र वामगठबन्धनका उम्मेदवार एमालेका ईन्द्रलाल सापकोटाबीच मूख्य प्रतिस्पर्धा हुने देखिन्छ । यो प्रदेशमा नयाँ शक्ति र संघीय समाजबादी जस्ता पार्टीका उम्मेदवारले एमालेका सापकोटाको मत काट्ने तर जनजाति बाहुल्य भएको यो प्रदेशमा काँग्रेसका थापा मात्र जनजातिको प्रभावशाली उम्मेदवार भएकोले पनि उहाँको पक्षमा धेरै मत आउने विश्वास छ । थापा बागलुङ काँग्रेसको सभापति समेत हुनुहुन्छ ।

प्रदेशसभा ‘ख’मा काँग्रेसका प्रकाश शर्मा पौडेलसँगै राष्ट्रिय जनमोर्चाको कृष्ण थापा र नयाँ शक्ति पार्टीको युनिश मियाँ गरि तीन जनामात्र चुनावी मैदानमा छन् । विगतमा राष्ट्रिय जनमोर्चाको प्रभाव क्षेत्र मानिएपनि अघिल्लो निर्वाचनदेखि जनमोर्चाको प्रभाव न्यून हुँदै गएको छ । जसका कारण अघिल्लो संविधासभाको निर्वाचनमा काँग्रेसका प्रकाश शर्मा सोहि क्षेत्रबाट विजयी बन्न सफल हुनुभयो । जिल्लाबासी र जिल्लाको लागि महत्वूर्ण काम गरेकोले पनि उहाँ मतदातामाझ लोकप्रिय हुनुहुन्छ ।

बागलुङकै क्षेत्र नम्बर २ अन्तरगत प्रदेशसभा क मा पनि ३ जना उम्मेदवार मात्र मैदानमा छन् । काँग्रेसका मञ्जेसबम मल्ल र नेकपा माओबादीका नेता चन्द्रबहादुर बुढा सँगै संघीय समाजबादीबाट वीरबहादुर दर्जी चुनावी मैदानमा रहेपनि मल्ल अरुभन्दा अगाडि रहनुभएको छ ।

प्रदेशसभा ख मा काँग्रेसका जीतबहादुर शेरचनसँग प्रतिस्पर्धा गर्न वामगठबन्धनले राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीलाई अगाडि सारेको छ । नेविसंघबाट नेपाली काँग्रेसको राजनीति थालेका शेरचन स्थानियस्तरमा निकै लोकप्रिय हुनुहुन्छ । स्थानियबासीहरुको पीर मर्कामा सक्दो सहयोग गर्न तम्सने शेरचनले टेकबहादुर घर्तीलाई धेरै मतान्तरले पछाडि पार्ने देखिन्छ ।

म्याग्दी जिल्लामा पनि नेपाली काँग्रेस यसपटक अगाडि देखिएको छ । २०७० सालको निर्वाचनपछि काँग्रेसले आफ्नो संगठन मजबुत बनाउँदै लगेकोले गत स्थानिय तहको निर्वाचनमा ६ वटा मध्ये ४ वटा स्थानिय तहमा काँग्रेसले विजय प्राप्त गरेको थियो ।

७५ हजार ३ सय ५८ मतदाता रहेको म्याग्दीमा नेपाली काँग्रेसका खमबहादुर गर्बुजा र नेकपा एमालेका भूपेन्द्रबहादुर थापाबीच मूख्य प्रतिस्पर्धा हुने देखिन्छ । बामगठबन्धनका साझा उम्मेदवार भनिएपनि एमालेका थापाले पाउने मत राष्ट्रिय जनमोर्चाका फौजबहादुर कार्की, नयाँ शक्तिका नारायण शर्मा र राष्ट्रिय जनमुक्तिका तिलकबहादुर थापा मगर लगाएतले समेत लैजाने भएपछि एमाले उम्मेदवार कमजोर बन्ने र काँग्रेसका गर्बुजाले विजय प्राप्त गर्ने विश्लेषण स्थानियस्तरमा गर्न थालिएको छ ।

प्रदेशसभा क मा काँग्रेसले राप्रपाका भीमप्रसाद गौचनलाई समर्थन गरेकोले गौचन र माओबादी केन्द्रका बिनोद केसीबीच प्रतिस्पर्धा हुँदैछ । प्रदेशसभा ख मा अमला फगामी पुनलाई काँग्रेसले अगाडि सारेको छ । उहाँको मूख्य प्रतिस्पर्धा बागगठबन्धनकी साझा उम्मेदवार नरदेवी पुनसँग हुने भएपनि नरदेवीले केपी ओली नेतृत्वको सरकारमा मन्त्रीमण्डलमा रहँदा समेत राम्रो काम गर्न नसकेको भनि स्थानियस्तरमा बढी आलोचना भएको छ । त्यसको फाइदा काँग्रेसका फगामी पुनले प्राप्त गर्ने देखिन्छ । काँग्रेसको संगठन बलियो बन्दै गएको र एमालेको उम्मेदवारप्रति आलोचना बढ्दै गएकोले पनि काँग्रेसको उम्मेदवारले म्याग्दीमा जित्ने संभावना बढेको हो ।

हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा पनि यो निर्वाचनमा काँग्रेस अगाडि हुने देखिएको छ । मुस्ताङको विकास र सम्बृद्धिका लागि काँग्रेस नेतृत्वमा रहँदा नै महत्वपूर्ण काम गर्दै आएकोले यसपटक पनि मुस्ताङबासीले काँग्रेसलाई जिताउने देखिन्छ । काँग्रेसका रोमी गौचन पूर्व मन्त्री समेत रहेको र बौद्धिक व्यक्तित्व समेत भएकोले एमालेका प्रेमप्रसाद तुलाचन उहाँभन्दा कमजोर देखिनुभएको छ ।

गौचनको राजनीतिक पृष्ठभूमिका अगाडि तुलाचनको व्यापारिक (निर्माण व्यवसाय) पृष्ठभूमि ओझेलमा पर्ने देखिएको छ । प्रदेशसभातर्फ क मा नेपाली एमालेका इन्द्रधारा विष्ट र नेपाली काँग्रेसका मिक्युर गुरुङ तथा प्रदेश सभा ख मा काँग्रेसका छिरिङ धावा गुरुङ, एमालेका महेन्द्रबहादुर थकाली, राप्रपाका नरबहादुर हिराचन र राप्रपा प्रजातान्त्रिकका प्रविणकुमार शेरचन चुनावी मैदानमा हुनुहुन्छ ।
मुस्ताङमा कुल ५ हजार ८ सय ८१ मतदाता छन् ।