७ बैशाख २०८१, शुक्रबार
Follow Us

युवाले स्वदेशमै रोजगारी पाउने ओलीको जिकिर

नेपालब्रिटेन डट कम्
९ मंसिर २०७४, शनिबार १४:२७

दमौली । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्षेनी ४० लाख युवा बेरोजगार भएर विदेशिन बाध्य भएकाले स्थायी सरकार आएपछि मात्रै उनीहरुले स्वदेशमै रोजगारी पाउने बताउनुभएको छ ।
एमाले क्षेत्र नं २ तनहुँद्वारा आज खैरेनीटारमा आयोजित चुनावीसभामा पूर्वप्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण र उद्योगधन्दा स्थापना गर्न पनि मुलुकभित्र स्थिर र टिकाउ सरकारको आवश्यकता रहेकाले वाम गठबन्धनलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
काँग्रेसले लामो समय देशमा शासन गरे पनि जनताको हितमा काम गर्न नसकेको आरोप लगाउँदै नेता ओलीले चुनावपछि एमाले –नेकपा(माओवादी केन्द्र) गठबन्धनले स्थायी सरकार बनाउने र त्यसपछि पार्टी एकता गरी देश विकासमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सभामा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले वाम गठबन्धन एकतामा बदलिएपछि देशले विकास र आर्थिक समृद्धिमा फड्को मार्ने बताउनुभयो । कार्यक्रममा पूर्वसांसद टुकराज सिग्देल, तनहुँ क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार केदार सिग्देल, प्रदेश सभा १ का उम्मेदवार आशा कोइराला, प्रदेशसभा २ का उम्मेदवार किरण गुरुङलगायतले वामगठबन्धनलाई जिताउन आह्वान गर्नुभयो ।