१३ बैशाख २०८१, बिहीबार
Follow Us

ताङतिङ समाज युकेको दशौं वार्षिकोत्सव सम्पन्न

नेपालब्रिटेन डट कम्
२७ श्रावण २०७३, बिहीबार ११:३१

ताङतिङ समाज युकेको दशौं वार्षिकोत्सव भव्यरुपमा सम्पन्न भएको छ। लण्डनको हेजस्थित बोटवेल सोसल सेन्टरमा गत जुलाई ३० तारिखमा सम्पन्न समारोहको उद्घाटन बेलायतकालागि नेपालका कार्यवाहक राजदूत शरदराज आरन तथा समाजका अध्यक्ष लक्ष्यबहादुर गुरुङले पानसमा दियो बाली संयुक्तरुपमा गर्नुभएको थियो। सो अवसरमा नेपाल तथा बेलायतका राष्ट्रिय गानहरु बजाइएका ‌थिए। समाजका उपाध्यक्ष तर्कजङ्ग गुरुङले स्वागत मन्तव्य दिनुभएको सो समारोहमा समाजका निवर्तमान अध्यक्ष केशबहादुर गुरुङले समाजको विगत दश वर्षका उपलब्धिहरुबारे जानकारी गराउनुभएको थियो।

उहाँले संस्थापक अध्यक्ष क्याप्टेन गौबहादुर गुरुङको कार्यकालमा इंगल्याण्डको नर्थ एसेक्सस्थित विम्बिस र डेबडेन गाउँहरुसंग कास्कीको ताङतिङ गाउँसंग मित लगाएको (ट्वीन भिलेज संबन्ध स्थापना) र ताङतिङ मितेरी संघ स्थापनामा उहाँको भूमिकाको स्मरण गर्नुभयो। मितेरी संघको सकृयतामा ताङतिङ गाउँमा शिशु स्याहार केन्द्रको सन्चालन, वर्षेनी जस्तो निशुल्क स्वास्थ्य शिविर, स्थानीय विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति, शिक्षकहरुलाई बेलायतको शैक्षिक भ्रमण जस्ता कार्यक्रमहरु सन्चालन गरिएको जानकारी दिनुभयो। उहाँले आफ्नो कार्यकालमा ताङतिङ समाज युकेको संयोजनमा विश्वभरि छरिएका ताङतिङेहरुबाट सहयोग संकलन गरी रु ६० लाख बराबरको ताङतिङ कल्याणकारी कोष स्थापना गर्न सफल भएको र सो कोषको ब्याजबाट ताङतिङमा वर्षेनी हुने चैत्र मेला सन्चालन तथा गरीब असहायलाई गाह्रोसाह्रो पर्दा सहयोग पुराउँदै आएको बताउनुभयो।  समाजका वर्तमान अध्यक्ष लक्ष्यबहादुर गुरुङले विगतका राम्रा कामहरुलाई निरन्तरता दिनुका साथै समाजलाई अरु चुस्त बनाउने काम भैरहेको बताउनुभयो।

IMG_2030

उहाँले आफ्नै प्रमुख प्रयासमा दशौं वार्षिकोत्सव मनाउन ताङतिङस्थित विद्यालयका शिक्षक डिल्लीजङ गुरुङ तथा दूधपोखरी समाजका अध्यक्ष सुबेदार मेजर टोकबहादुर गुरुङलाई युके ल्याउन सफल भएको र यो एउटा थालनी मात्र भएको बताउनुभयो। शुभकामना मन्तव्य अनि तमु प्ये ल्हु संघ युके आमा समूहको आकर्षक नृत्यको सम्मिश्रण रहेको सो कार्यक्रममा समाजलाई सघाउनुहुने सदस्यहरुलाई खादा तथा पुष्पगुच्छा दिइ बधाइ तथा शुभकामना दिइएका थियो।

ग्रयाजुयट गरेका सदस्यहरु, छात्रछात्राहरु, नयाँ घर किन्नेहरु, हालसालै विवाह गरेकाहरु अनि नयाँ बच्चा पाएकाहरुलाई पनि समाजको तर्फबाट बधाइ तथा शुभकामना दिइएको थियो। त्यसैगरी दशौं वार्षिकोत्सवको अवसरमा ताङतिङ गाउँ लगायत नेपालका विभिन्न क्षेत्रमा योगदान पुराउनुहुने महानुभावहरुलाई खादा तथा ताम्रपत्र सहित सम्मान गरिएको थियो। जसमा अटल्सफोर्ड काउन्सिल अन्तर्गत विम्बिस र डेबडेन क्षेत्रका डिष्ट्रिक्ट काउन्सिलर श्रीमती टिना नाइट, पहार ट्रष्ट नेपालका अध्यक्ष हावार्ड ग्रीन, अवकाशप्राप्त कर्णेल डीक क्रोम्बी, आइल अफ म्यानका जोन –याली लगायत हुनुहुन्थ्यो। त्यसैगरी समाजका संस्थापक अध्यक्ष क्याप्टेन गौबहादुर गुरुङ एवम् निवर्तमान अध्यक्ष केशबहादुर गुरुङलाई पनि ताम्रपत्र र खादालगाएर सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरुले ताङतिङ समाज युकेका गतिविधिहरुको प्रशंसा गर्दै आगामी दिनमा आफुहरुको सहयोग र सद्भावना निरन्तर रहने बताउनुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक राजदूत शरदराज आरनले ताङतिङ समाज युकेका कार्यकलापहरुको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि यस्तै उपलब्धिमूलक कामहरु गर्न शुभकामना दिनुभएको थियो। कार्यक्रममा नेपालबाट आउनुभएका सुबेदार मेजर टोकबहादुर गुरुङ तथा डिल्लीजङ गुरुङले पनि मन्तव्य दिनुभएको थियो।

IMG_2094

सो अवसरमा नेपाल, ताङतिङ अनि ताङतिङ समाज युकेलाई सहयोग गर्नुहुने सबै सदस्य तथा सहयोगीहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो। कार्यक्रमको अन्त्यमा रोचक चिठ्ठा कार्यक्रम सन्चालन गरिएको थियो। अतिथि तथा सहभागीहरुलाई समाजका वरिष्ठ सदस्य नरबहादुर गुरुङले पाइप बजाएर स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन समाजका सचिव दुर्गा गुरुङले गर्नुभएको थियो।