१४ बैशाख २०८१, शुक्रबार
Follow Us

देशलाई कंगाल बनाउनेहरुदेखि सतर्क बनौं

नेपालब्रिटेन डट कम्
११ मंसिर २०७४, सोमबार ०६:४४

नेपालगञ्ज । नेपाली कांग्रेसका नेताहरुले लोकतन्त्रको रक्षा, आर्थिक विकास, समृद्धि र संविधान कार्यान्वयनका लागि कांग्रेसलाई साथ दिन आह्वान गरेका छन् । बाँकेको क्षेत्र नम्बर ३ अन्तर्गत्को प्रदेश सभा ३ क को उढरापुर गिजराबस्तीमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेताहरुले लोकतन्त्रको नाम भजाएर कम्युनिष्ट शासन ल्याउन खोज्नेहरुदेखि सतर्क रहन आग्रह गरेका छन् ।

सभामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोरसिंह राठोरले संविधानसभाबाट प्राप्त ऐतिहासिक संविधानलाई असफल बनाएर मुलुकलाई कंगाल बनाउने उद्देश्यले अभिप्रेरित बाम गठबन्धनलाई परास्त गर्न सके मात्र मुलुक समृद्धिको बाटोमा अघि बढ्न सक्ने बताउनुभयो ।

नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालाले विश्वभर असफल र झण्डै लोप हुने अवस्थामा रहेको कम्युनिष्ट शासन ल्याएर जनतालाई अझ गरिब बनाउने खेल सुरु भएको भन्दै नेपाली जनताले यस्तो दुराशय राख्ने अपवित्र गठबन्धनलाई अनुमोदन नगर्ने विश्वास व्यक्त गर्नुभयो ।

सभालाई नेपाली कांग्रेस बाँकेमा पूर्व सभापति युवराज शर्मा, प्रतिनिधि सभा ३ का उम्मेदवार बादशाह कुर्मी, प्रदेश सभा ३ क का उम्मेदवार चन्तराम थारु लगायतले सम्बोधन गर्नुभएकोे थियो।

वक्ताहरुले गिजराबस्तीको ऐलानी जग्गाको लालपूर्जाका लागि आफूहरुले पहल गर्ने बताउनुभएको थियो । सडक, विजुली, खानेपानी लगायतका विकासे मुद्दामा कुनै कसर बाँकि नराख्ने उहाँहरुको प्रतिबद्धता थियो ।

क्षेत्र नं १,२ र ३ मा धरदैलो जारी
लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री आइतबार विनौना र बैजापुर क्षेत्रमा घरदैलोमा व्यस्त रहनुभयो । उहाँसंगै प्रदेशसभा १ (क) का उम्मेदवार शरदचन्द्र बर्मा पनि खत्रीसंगै घरदैलोमा हुनुहुन्थ्यो । प्रदेशसभा १ (ख) का उम्मेदवार नारायण गौडेलले आइतबार कोहलपुर नगरपालिका वडा नम्बर ७ का लख्ना र रजगडुवामा घरदैलो गर्नुभएका छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार ओमप्रकाश आजाद आइतबार दिनभर प्रदेशसभा २ (ख) का उम्मेदवार सुरेन्द्र हमालसंग प्रिपहवा र धम्बोझी क्षेत्रमा तथा प्रदेशसभा २ (क) का उम्मेदवार निरन्जनसिंह सिंजापतिसंगै बसुदेवपुरमा घरदैलोमा व्यस्त रहनुभएको राप्रपाका नेता ऋषिराज देवकोटाले बताउनुभयो । सिंजापति आइतबार दिनभर नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ का खटिलिया, कण्ठीपुरुवा, आलानगर, मन्दिपुरुवामा घरदैलो कार्यक्रममा सरिक हुनुहुन्थ्योे ।

प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार बादशाह कुर्मी र प्रदेश सभा ३ (ख) का उम्मेदवार लक्ष्मीनारायण शाहको टोलीले आइतबार खजुराको ई गाउँमा घरदैलो र कोणसभा सम्पन्न गरेको छ ।

प्रतिनिधिसभाका उम्मेदवार कुमी र प्रदेशसभा ३ (क) का उम्मेदवार चन्तराम थारुको संयुक्त चुनावी सभा आइतबार उढरापुर गिजराबस्तीमा सम्पन्न गरिएको प्रकाश शाहीले जानकारी दिनुभएको छ ।