१२ बैशाख २०८१, बुधबार
Follow Us

भाषाको हङकङ संस्करण सार्वजनिक

नेपालब्रिटेन डट कम्
११ मंसिर २०७४, सोमबार ०८:१५

हङकङ । हङकङ साहित्यिक साझा शृङ्खलाको ६७ भागअन्तर्गत यही नोभेम्बर २६ का दिन स्रष्टा वनभोज कार्यक्रम मङ्कीहिलमा सम्पन्न भएको छ । यस कार्यक्रममा नेपालका गीतकार भावेश भुमरीको गीतिएल्बम ‘भाषा’को हङकङ संस्करणको सार्वजनिकीकरण गरिएको छ ।
गीतकार भुमरीको भाषा एल्बमलाई साझा शृङ्खलाका संयोजक डीबी पालुङ्वा, साब्लावुङ साहित्यिक पत्रिकाका सम्पादक/प्रकाशक तथा नेपाली लेखक संघका वैदेशिक उपाध्यक्ष राजकुमार राई, हङकङ नेपाली साहित्यिक प्रतिष्ठानका अध्यक्ष टङ्क सुब्बा सम्बाहाम्फे, समीक्षक समाज हङकङका संयोजक हेमकुमार लवाती, विश्व नेपाली साहित्यिक महासंघ हङकङका अध्यक्ष चन्द्र मादेन अन्छान, शृङ्खलाका पूर्व संयोजकद्वय लालबहादुर गुरुङ र टीबी याक्खा, समालोचक किन्दर राई, कवि दाजु गुरुङ र कवि कमल पौडेलले संयुक्त रुपमा सार्वजनिक गर्नुभयो । एल्बमको टिप्पणी गर्दै गीतकार टङ्क सुब्बा सम्बाहाम्फेले ‘भाषा’ एल्बम पृथक् रहेको, चलनचल्तीका शब्दहरूभन्दा नयाँ शब्द र लेखनशैली प्रयोग भएको उल्लेख गर्दै सो एल्बम स्रोताहरूले पक्कैे रुचाउने कुरामा आफू ढुक्क भएको कुरा राख्नुभयो । राजकुमार राईले भावेश भुमरीले डायस्पोरिक सङ्गीतकार र गायकगायिकाहरूलाई समेटेर एल्बम तयार पारेकाले आफ्नो अनुरोधमा भुमरीको एल्बम हङकङमा आइपुगेको कुरा राख्नुभयो । आफूलाई यस एल्बममा नेपाली डायस्पोरिक जीवनसँग मिल्ने शब्द र सङ्गीत भएकाले नेपाल बाहिर रहेर नेपाली गीतसङ्गीत र साहित्यका स्रष्ठा र माया गर्ने व्यक्तिहरूले सुन्नुपर्ने कुरामा जोड दिनुभयो । सोही कारण यो एल्बम हङकङमा आइपुगेको कुरासमेत प्रष्ट पार्दै एल्बम खरिद गरेर प्रोत्साहन गर्न पनि सबैलाई अनुरोध गर्नुभयो । नेपाली गीतसङ्गीतमा राम्रो स्थान बनाएका र हङकङका धेरै स्रष्टासँग जानकार स्रष्ठा भावेशका तर्फबाट सबैलाई धन्यवाद पठाएको कुरा पनि राईले सुनाउनुभयो ।
एल्बम भाषाका सातवटै गीतमा दार्जिलिङमा जन्मेकी र काठमाडौँमा बस्दै आएकी गायिका निखिता थापाको एकल स्वर रहेको छ भने एकएकवटा गीतको सहगायनमा दार्जिलिङका थुप्देन भुटिया र महेश सेवाले साथ दिएका छन् । एल्बममा हङकङका दिनेश सुब्बा, दार्जिलिङका प्रदीप क्षेत्री, सिक्किमकी विमला सी प्रधान, अमेरिकाका पविधन खालिङ, सन्तोष श्रेष्ठ, केशव पौडेल र कर्मग्याल्छेन बमजनका सङ्गीत रहेका छन् भने सचीन सिंह, नोर्बु शेर्पा, चाँद सिंह, पविधन खालिङ र कुमार थापाका सङ्गीत संयोजन रहेका छन् । अनील स्थापितले आवरण तयार पारेको यस एल्बमका सबै गीत भुमरीकै ह्वाइट साउन्ड स्टुडियो अनामनगर, काठमाडौँमा रेकर्ड भएका हुन् भने भुमरीले आफ्नै म्युजिक कम्पनी सुरप्रभा गीत सङ्गीत प्रालि काठमाडौँबाट बजार व्यवस्थापन गरेका छन् ।
वनभोज कार्यक्रमको दोस्रो चरणमा समालोचक किन्दर राईले साब्लावुङ पत्रिकाको विवेचना गर्दै विश्वमा रहेका साहित्यकारहरूको स्तरीय साब्लावुङ पत्रिका हङकङबाट प्रकाशन हुँदै आएको कुरा बताउनुभयो । यस कार्यक्रममा धेरै कविहरूले आआफ्ना कविता वाचन गरेर कार्यक्रमलाई रोचक बनाउनुभयो । कार्यक्रममा हङकङका साहित्यकार, पत्रकार र कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको समापन शृङ्खलाका संयोजक डीबी पालुङ्वाले गर्नुभएको थियोे ।