१४ बैशाख २०८१, शुक्रबार
Follow Us

डा. आरजुको उम्मेदवारीसँगै मेरो पनि शक्ति बढ्यो

नेपालब्रिटेन डट कम्
११ मंसिर २०७४, सोमबार १२:२५

सुशीला मिश्र भट्ट, उपमेयर, धनगढी उपमहानगरपालिका

कैलाली–५ निर्वाचन क्षेत्रमा अधिकांश धनगढी उपमहानगरपालिका पर्छ । उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले डा.आरजु देउवालाई उम्मेदवार बनाएको छ । डा.आरजुको चुनावी गतिविधिलाई धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्टले नजिकबाट नियालिरहेकी छन् । देउवाको चुनावी अवस्था, त्यहाँका मतदाताको मनोदशाबारे उपमेयर सुशीलासँग कुमार राउतले गरेको कुराकानी :

० निर्वाचनको माहोल कस्तो छ ?
– नेपाली कांग्रेसका उम्मेदवार आरजु देउवालाई जिताउने माहोल छँदै थियो, त्यसलाई अझ विश्वासिलो र मजबुत बनाउन हामी लागिरहेका छौं ।

० कसरी ?
– अहिले हामी टोल भेलामा लागेका छौं । एउटा वडाको कम्तीमा आधा दर्जन ठाउँमा टोल भेला गराउँछौं । उक्त भेलामा को बोल्दा प्रभावकारी हुन्छ, त्यसतर्फ ध्यान दिएका छौं । सबैले बुझून् भनेर मातृभाषामा पार्टीका एजेन्डा प्रस्तुत गरेका छौं ।

० जनचाहना के रहेछ ?
– वाम गठबन्धनले भ्रम छरेकाले जनतामा द्विविधा उत्पन्न भएको छ । उनीहरूले प्रोपगान्डा गरेर मतदातालाई अल्मल्याउने रणनीतिमा लागेका छन् ।

० तपाईंहरूले के गर्नुभएको छ ?
– हामीले राम्रा कुरा गरेका छौं, सहजीकरण गरिरहेका छौं, प्रोपगान्डालाई चिर्ने प्रयास गरिरहेका छौं, हामीले आफ्ना एजेन्डा जनतालाई बुझाउने प्रयास गरिरहेका छौं । सुदूरपश्चिमका जनताका लागि कांग्रेस वरदान हो भन्ने कुरा जनतालाई बुझाइरहेका छौं ।

० कांग्रेस कसरी वरदान ?
– शेरबहादुर देउवा यस क्षेत्रका नेता नभइदिएको भए अहिले पनि हामी भारतको बाटो हुँदै काठमाडौं पुग्नुपर्ने थियो । त्यसअघि कर्णाली पारी छुट्टै संसार थियो, यही क्षेत्रबाट प्रधानमन्त्री भए पनि शेरबहादुर देउवाबाहेक कसैले केही गरेन । उहाँले सुदूरपश्चिमलाई राजधानीसँग जोड्नुभयो । कर्णालीपारि २२ वटा पुल निर्माण गरिदिनुभयो । त्यसकारण सुदूरपश्चिमका लागि कांग्रेस वरदान हो । हामीले वजनदार उम्मेदवार रोज्न जनतालाई आग्रह गरेका छौं ।

० आरजु वजनदार उम्मेदवार हुन् ?
– हो, राष्ट्रिय अन्तर्राष्ट्रिय पहुँच राख्ने, विकास निर्माणमा योगदान दिनसक्ने सर्वसाधारणको काम नभेटी फोनको भरमा गर्न सक्ने क्षमता डा.आरजु देउवासँग छ । जनभावना बुझ्ने, ठाउँ र वस्तुस्थितिको मूल्यांकन गर्न सक्ने क्षमता डा.आरजुसँग छ । यस क्षेत्रमा उहाँको उम्मेदवारीसँग मेरो पनि शक्ति बढेको महसुस गरेकी छु ।

० कसरी ?
– ओजिलो व्यक्तित्वसँगै राज्य संयन्त्रमा उहाँको जुन पहुँच छ, त्यसका लागि उहाँसँग सामीप्यमा रहन यहाँका सर्वसाधारण मात्र होइन, नेपाली कांग्रेसका ठूलै नेताहरू पनि लालयित छन् । उहाँसँगको मेरो सामीप्यतासँगै डा.आरजुसँग भेट गर्न चाहना राख्नेहरूले गर्दा मेरो पनि शक्ति बढेको महसुस गरेकी छु ।

० टुरिस्ट उम्मेदवार भन्नेहरूलाई तपाईंहरूको जवाफ ?
– उहाँलाई टुरिस्ट उम्मेदवार भन्न मिल्दैन । ललितपुरमा जन्मिनुभएको, बर्दियामा हुर्किनुभएको हो । उहाँको आमाको निर्वाचन क्षेत्र पनि यही हो । उहाँ सुदूरपश्चिमकी बुहारी हुनुहुन्छ, धनगढीमा उहाँका देवरको घर छ, हालै उहाँले घर पनि किन्नुभएको छ । गुमेको चारवटा जिल्ला राणाहरूकै पहलमा फिर्ता भएको हो । राणाहरूको यहाँ पाँच सय वर्षको इतिहास छ, अहिले आएर डा.आरजुलाई टुरिस्ट उम्मेदवार भन्ने ?

० जनता कन्भिन्स भए ?
– भ्रम लामो समयसम्म टिक्दैन, सत्य लुकाउन सकिँदैन, उजागर हुन्छ । हामीले सँगै भात खाने, घरआँगनमा आएर दुःख–सुखका कुरा गर्ने नेता होइन, विकास निर्माणमा भिजन भएको नेतालाई जिताएर पठाउनुपर्छ । फोनको भरमा जनताको काम गरिदिने नेतालाई जिताउनुपर्छ । अरु उम्मेदवारसँग डा.आरजुलाई दाँज्न मिल्दैन ।

० घरदैलो कार्यक्रम गरिसक्नुभयो ?
– सम्भव भएसम्म गरिरहेका छौं, धेरै जनसंख्या र ठूलो क्षेत्र भएकाले सबैतिर सम्भव होलाजस्तो छैन । त्यसैले हामीले नयाँ रणनीति बनाएर उम्मेदवारसँग सर्वसाधारणले भेट्न पाउनु भनेर घरदैलोको सट्टा टोल भेला गराएका छौं ।

० डा. आरजुले जित्नुहुन्छ ?
– नजित्ने त कल्पना पनि गरेका छैनौं ।

० जातिगत रूपमा अप्ठ्यारो छैन ?
– यो विषयमा केही सशंकित छौं, यद्यपि अहिलेसम्मको परिणाम हेर्ने हो भने जातिगत रूपमा हामीलाई कुनै अप्ठ्यारो छैन । जातीय हिसाबले झर्ने मतको प्रतिशत हामी घटाउँदैछौं ।

० कसरी घटाउनु हुन्छ ?
– मतदाताको प्रकृति हेरेर काम गरिरहेका छौं । यो लोकतन्त्र र कम्युनिस्ट गठबन्धनबीचको प्रतिस्पर्धा हो भनेर हामीले बुझ्ने व्यक्तिहरूलाई भनेका छौं । हामीले कसलाई जितायौं भने स्रोतमाथिको नियन्त्रण, रोजगारीको अवसर र विकास हुन्छ भनेर उम्मेदवारको तुलना गरेर देखाएका छौं ।

० सत्ताको सदुपयोग कत्तिको गर्नुभएको छ ?
– नगरपालिकाको एउटा गाडी हो, त्यो हामीले कार्यालयमै थन्काएर जनताको घरदैलोमा गएका छौं । स्थानीय जनप्रतिनिधि हुनुको नाताले जनताको घरदैलोमा पुग्नु पदको दुरुपयोग होइन जस्तो लाग्छ । रह्यो कुरो डा. आरजुको, उहाँ स्वतन्त्र रूपमा आफ्नो चुनावी अभियानमा लाग्नुभएको छ ।

० कांग्रेसमा अन्तर्घात पनि हुन्छ नि ?
– नेपाली कांग्रेस मासबेस पार्टी हो, आकांक्षी धेरै हुन्छन्, असन्तुष्टि हुनु स्वाभाविक हो । तर कैलाली–५ मा केही असन्तुष्टि भए पनि डा.आरजुलाई जिताउने कस्टमा एक मत छौं ।

० कैलाली–५ मा कांग्रेसको संगठन बलियो हो ?
– बलियो भएर नै होला मैले अत्यधिक मत ल्याएर धनगढी उपमहानगरको उपमेयरमा चुनाव जितेकी हुँ । अहिले हाम्रो प्रतिस्पर्धा भनेको कम्युनिस्ट गठबन्धनसँग हो, आन्तरिक प्रतिस्पर्धा नभएकाले यहाँ कांग्रेस एकजुट छ ।

० डा.आरजुलाई जिताउन कत्तिको खट्नु भएको छ ?
– मानसिक रूपमै चुनावमा लागेकी छु । भौतिक रूपमा बिहान साढे ७ देखि राति ८ बजेसम्म चुनावी कार्यक्रममै व्यस्त छु ।

० डा. आरजुले चुनाव जित्नु होला त ?
– परिणाम नआएसम्म ढुक्क हुन सकिँदैन, मैले चुनाव जित्दासमेत पनि यस्तै भएको थियो । अन्तिम समयसम्म मेहनत गर्नुपर्छ, मतपरिणाम आएपछि ढुक्क भइन्छ ।