८ बैशाख २०८१, शनिबार
Follow Us

पत्रकार कुट्नेलाई कारबाही गर्न माग

नेपालब्रिटेन डट कम्
११ मंसिर २०७४, सोमबार १३:०२

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी विषयलाई लिएर महासंघ सिन्धुपाल्चोक शाखा सचिव दिनेश थापामाथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेको छ ।

महासंघका सचिव रेमबहादुर विश्वकर्माले आज विज्ञप्ति जारी गर्दै पत्रकार थापामाथि भएको आक्रमण प्रेस स्वतन्त्रतमाथि आक्रमण भएको ठहर गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग गरिएको छ ।

विज्ञप्तिमा पत्रकारलाई स्वतन्त्र र भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै पक्षसँग माग गरिएको छ । आइतबार सुनकोशी गाउँपालिका–६ स्थित आफ्नै घरमा बसिरहेको अवस्थामा साँझ ६ः३० बजेतिर तरुण दलका कार्यकर्ता प्रमोद तामाङको नेतृत्वमा आएको समूहले आक्रमण गरेको महासंघले जनाएको छ ।

यसैगरी प्रेस चौतारी नेपालले प्रदेश नं ३ का प्रदेश संगठन कमिटीका सदस्य थापामाथि आक्रमणमा संलग्नलाई कारबाहीको माग गरेको छ । आज चौतारी उपाध्यक्ष विश्वमणि सुवेदीले दोषीमाथि कडा कारबाही क्षतिपूर्तिसहित पत्रकार थापाको उपचारको व्यवस्था मिलाउन सरकार र राजनीतिक दलसँग माग गर्नुभएको छ । पत्रकार थापाको छाती तथा ढाडमा चोट लागेको छ ।