७ बैशाख २०८१, शुक्रबार
Follow Us

भोट तान्न भोज

sarusaru
१२ मंसिर २०७४, मंगलवार ०२:१४

आइतबार बिहानैदेखि बेनीघाट, रोराङको ताल्तीबजारस्थित आधा दर्जन होटल भरिभराउ थिए ।बाम गठबन्धनका झन्डा टाँगिएका ती होटलमा चिउराका थैली, ब्रोइलरको मासु र भातका ताउली तयार थिए । दलका कार्यकर्ता स्थानीयलाई जति सकिन्छ खाऊँ भन्दै डाकिरहेका थिए । उनीहरू थैलीबाट आफूखुसी चिउरा झिक्थे, मासुचाहिँ होटल साहुले खटाएर दिन्थे ।

चेपाङ समुदायको भोट आकर्षित गर्न उम्मेद्वारले उनीहरूका लागि भोज आयोजना गरेका हुन् । मतदानपछि भात र मासुसँगै रक्सी पनि व्यवस्था गरिने आश्वासन बाँडिँदै थियो ।

बेनीघाट–२, पीपलभन्ज्याङस्थित माविका ३ वटा केन्द्रमा मतदान गर्न झरेका २६ सय २२ मतदातामध्ये अधिकांशले भोज हुने थाहा पाएकै कारण बालबालिकासमेत ल्याएका थिए । त्यसको सबै खर्च उम्मेदवार र निर्वाचनमा सहभागी कार्यकर्ताले बेहोर्ने उर्दी थियो । विकट बस्तीका मतदातालाई शानिबार साँझै मतदानस्थल नजिक ल्याएर राखिसकेका थिए । भोट तान्न उनीहरूको खानपिन र बासको सम्पूर्ण खर्चसमेत दलले नै बेहोरे । बु्रसवाङ, मासखर्क, चतेस, घैराङ, झिरवास, सिम्थली, तोर्लाङ र सिउँडीबारका चेपाङका भोट विगत निर्वाचनमा पनि यसै गरी फकाउँदै आएका थिए उनीहरूले ।

उम्मेदवारले चेपाङ बस्तीमा गएर भावी नीति, कार्यक्रम र एजेन्डा सुनाउन पर्दैन । मतदान गर्ने दिन चुल्हे निम्तो दिए पुग्छ । समुदायलाई बुझाउनै कठिन भयो,’ शिक्षकसमेत रहेका चेपाङ अगुवा तिलक चेपाङले भने । मतदानस्थल वरपर भोजभतेर चलिरहँदा मतदान केन्द्रमा उपस्थित पर्यवेक्षक, प्रहरी र सरकारी कर्मचारी मूकदर्शक बनेका देखिन्थे । केन्द्रमा उपस्थित दल र उम्मेदवारका प्रतिनिधिले मतपत्रमा आफैं छाप लगाइदिई मतदातालाई पेटिकामा खसाल्न मात्र लगाएको दृश्य सामान्य थियो ।

उपभोक्ता समिति, विद्यालय व्यवस्थापन समिति, वन उपभोक्ता, वडा नागरिक समिति गठनका चुनावमा पनि चेपाङ समुदायको उपस्थिति वैचारिकभन्दा नास्तापानीमै निर्भर हुने गरेको थियो । पृथ्वी राजमार्गको मलेखुबाट १३ किमिभित्र पर्ने ताल्ती बजारवरपरका सबै बस्ती चेपाङले भरिएको छ । सबैभन्दा बढी चेपाङ रहेका महादेवस्थान, बेनीघाट, जोगीमारा र धुसा गाविस जोडेर बेनीघाट रोराङ गाउँपालिका बनाइएको छ । यहाँका १८ हजार ९ सय २५ मतदातामध्ये ६० प्रतिशत चेपाङ रहेको नेपाल चेपाङ संघका केन्द्रीय सदस्यसमेत रहेका तिलकले बताए । निर्वाचन क्षेत्र नं १ को प्रदेशशभा ‘क’ मा बेनीघाट र सलाङका चेपाङकै मत निर्णायक हुने अवस्था छ ।

बेनीघाटमा चेपाङका २१ सय ९४, गजुरीमा ८ सय २६, थाक्रेमा १ सय १३ र धुनीबेंसीमा १३ घरधुरी छन् । लालपुर्जाविहीन चेपाङबस्तीमा अझै विकासले फड्को मार्न सकेकौ छैन । राजमार्गसँग जोडिएका बस्ती बासिन्दाका आर्थिक उस्तर केही उकासिए पनि विकट वस्तीमा गरिबी उस्तै छ । निर्वाचन अवधिभर सवारीसाधन चलाउन प्रतिबन्ध लगाइए पनि ग्रामीण सडकमा त्यसको कार्यान्वयन थिएन । सदरमुकाम बाहेकका मतदानस्थलमा दलहरूले मतदाता ओसार्न भाडाका सवारी प्रयोग गरेका थिए ।

– कान्तिपुरबाट ।