१६ चैत्र २०८०, शुक्रबार
Follow Us

ऋचाले किन भनिन् दर्शकलाई मुर्ख ?

sarusaru
१२ मंसिर २०७४, मंगलवार ०६:०३

नायिका ऋचा शर्माको एक अभिव्यक्तिले यतिबेला पूरै सिनेवृतमा भूकम्प ल्याएको छ । केही दिन अगाडि राजधानीमा आयोजित ‘एकादेश फिल्म फेस्टिभल’मा ‘छक्का पञ्जा’मा श्रीमतीलाई दैनिक कुट्न पाउनु पर्छ भन्ने दृश्यमा ताली पिट्ने दर्शकलाई मूर्ख भनेको बयानले ऋचा कतै आलोचित त कतै तारिफकी पात्र बनेकी छन् ।

सामाजिक सञ्जालमा एक समुहले ऋचाको अभिव्यक्तिलाई समर्थन गरेको छ भने अर्को समुहले गलत भनिरहेको छ । तर, ‘छक्का पञ्जा’ टीमले फेसबुकमा ऋचालाई लक्षित गर्दै लेखेको ‘गेट वेल सुन’ स्टाटसले पनि अहिले हलचल पैदा भएको छ । ‘छक्का पञ्जा’का कलाकार तथा निर्माता दीपकराज गिरीले फेसबुकमा ‘एकजना नायिकाले हाम्रो चलचित्र हेरेर ताली बजाउने दर्शकलार्इ मूर्ख भन्नु भएछ ।’ “प्रिय नायिकाज्यू दर्शकलाइ मूर्ख भन्नु भएकोले नै तपार्इका फिल्मले कहिल्यै दर्शक पाएनन्…” भन्दै एक स्टाटस लेखे ।

निर्देशक दीपाश्री निरौला, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, गौरव पहारीले दीपकराजको उक्त स्टाटस शेयर गर्दै ऋचाको भनाइप्रति आपत्ति जनाएका छन् । यस्तैमा ऋचाले पनि आफ्नो आधिकारीक फेसबुकमा ‘छक्का पञ्जा’ हेर्ने दर्शकलाई मूर्ख नभनेको लेखेकी छिन् ।

ऋचाले फेसबुकमा यस्तो स्टाटस लेखेकी छिन् –

म एक कलाकार,निर्माता र दर्शक भएको कारणले दर्शकलाई मुर्ख भन्ने अधिकार नै छैन तर म पनि एक दर्शकका रुपमा बिचार दिन पाउँछु । दर्शकले हामीलाई बनाएको हो र हामी दर्शकलाई भगवान् मान्छौ ।मैले कुनै पनि चलचित्र हेर्ने दर्शक मूर्ख हुन् भनेर कहिल्यै बोलेकी छैन तर जिन्दगीको कुनै पनि मोडमा होस् वा चलचित्रमा महिला हिसाको विषयलाई हास्ने कारण बनाइन्छ भने म त्यस विषयमा आफ्नो बिचार राख्न किन्चित डगमगाउने छैन चाहे संसारले नै मलाई बिरामी सावित गरोस्। सिनेमामा आफूलाई मन लागेको देखाउँन पाइन्छ तर त्यसप्रति बिभिन्न धारणा आउँछन्, तर मेकरले त्यसलाई पचाउँन सक्नुपर्छ । कलाका हरेक क्षेत्रमा सर्जकहरु आफ्नो सृजनामा यति तल्लिन भएर लागेका हुन्छन् कि उनीहरु एउटा गिलासभित्र हुन्छन् । दर्शकहरु नै हुन्, जस्ले त्यो गिलासलाई बाहिरबाट हेरेर अनेक तर्क गर्छन् । असल कलाकार तिनै हुन्, कहिलेकाही दर्शकका तर्कलाई पनि आत्मसात गर्छन् ।
म कलाकार हुँ, दर्शक हुँ तर सबैभन्दा म एक महिला हुँ । फिल्ममा एक महिलालाई तारन्तार थप्पड हानेको दृश्यमा मैले ताली बजाउँन सकिनँ भनेकी हुँ । किनभने, अहिलेको समयमा बिहेकै लोभमा कुनै महिलाले यति धेरै थप्पड खाँदैनन् । यदि महिला हिँसामाथि बनेको फिल्म भए, ठिकै थियो । तर, यो त कमेडी सिनेमा हो । र, यहि कुरा मैले एकादेश फिल्म फेस्टिभलमा चलचित्रमा महिलाको भूमिका शिर्षकको अन्र्तक्रियामा दर्शकले सोधेको प्रश्नमा यो कुरा बोलेकी थिएँ । र, मैले बोल्दा त्यो सिनेमा हेरेर ताली बजाउँने दर्शक मूर्ख हुन् पनि भनेकी थिइनँ । तपाईहरु भिडियो पनि हेर्न सक्नुहुन्छ। सार्वजनिक भएको भिडियोमा मैले दर्शकलाई मुर्ख भनेको कतै सुनिन्छ भने दर्शकले नै मलाई प्रश्न गरुन्।मैले त आफूलाई लागेको कुरा बोलेकी थिएँ ।
र, आफूलाई चित्त नबुझेको कुरा बोल्न पाउँनु मेरो अधिकार पनि हो ।
सर्जक सधैँ महान हुँदैन । अहिले त झन् चलचित्रको कुनै दृश्यमा कुनै समुदायको चित्त दुख्यो भने सच्चाउँने चलन छ । टेलिभिजनका हरेक प्रोगाममा कुनै समुदायलाई चित्त दुखे भन्नुहोला भन्ने म्यासेज पनि आइरहन्छ ।
फिल्म मेकरले यस्ता कुरामा ध्यान पुर्याउँनु पर्छ ।
र, कहिलेकाही आफूलाई सच्चाउँनु पनि पर्छ । सच्चिनु आफ्नो कद सानो बनाउँनु होइन । भूँइ र समयसित नजोडिएको मेकर जति नै अग्लो भएपनि, उस्को जग बलियो हुँदैन । म मा पनि धेरै कमजोरी छन् र म सुन्छु,आफ्नो कमजोरी अङाल्छु, सच्चाउछु, अनि राम्रो बन्ने प्रयास जीवनभर गरिरह्न्छु।
धन्यबाद ।

उनले यो स्टाटस नायिका रेखा थापा, केकी अधिकारी, नीशा अधिकारी, अर्पण थापा लगायतका कलाकारहरु पनि ट्याग गरेकी छन् । चाँडै ऋचाको यो जवाफको उत्तर कलाकार दीपकराज गिरीले पनि चोटिलो तरिकाबाट फेसबुकमार्फत पक्कै दिनेछन् । प्रत्यक्ष रुपमा नभएपनि फेसबुकको माध्यमबाट ‘छक्का पञ्जा’ टीमसँग ऋचाको यतिबेला वार युद्ध चलिरहेको छ

– फिल्मी खबरबाट ।