१६ चैत्र २०८०, शुक्रबार
Follow Us

वाम गठबन्धनको स्थिर सरकार बन्छ, संमृद्धि आउँछ : प्रचण्ड

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०७४, मंगलवार ०९:१६

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकमा वाम गठबन्धनको स्थिर सरकार बन्ने दावी गर्नुभएको छ । पश्चिम चितवनको मेघौलीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अब देशमा संमृद्धि आउँछ । चितवनको माटोमा टेकेर म देशलाई समृद्धितर्फ डो-याउन चाहन्छु ।”

शान्ति प्रक्रियाको एक हस्ताक्षरकर्ता आफू जीवित रहेको बताउँदै उहाँले भन्नुभयो – “शान्ति सम्झौताको अर्का हस्ताक्षरकर्ता गिरिजाबाबु अहिले हुनुहुन्न । उहाँको संकल्प पनि मैले नै पूरा गर्नुपर्छ ।”
यो निर्वाचनमा दुई तिहाइ मत वाम गठबन्धनले ल्याउने र आउँदो ५० वर्षसम्म नेपालमा यही गठबन्धनको सरकार रहने दावी पनि उहाँले गर्नुभयो । उहाँ चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ ।

अबको जिम्मेवारी विकास : मन्त्री पाण्डे
चितवन क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डेले आज गीतानगरमा आयोजित चुनावीसभामा बोल्दै संविधान निर्माण गर्ने कामको जिम्मेवारी आफूले पूरा गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो – “अबको मेरो जिम्मेवारी विकास हो । म निर्वाचनमा उम्मेदवार हुन मात्रै आएको हैन । वर्षौदेखि यहाँको विकास कार्यमा म साझेदारका रुपमा रहँदैआएको छु ।”

देशको ठूलो पार्टी नेपाली काँग्रेसको साथ आफूलाई रहेकाले आफ्नो जित सुनिश्चित रहेको उहाँले बताउनुभयो र भन्नुभयो – “मेरो जीत नै जनताको जीत हो ।”