१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनएको सचिवालय नागपोखरीमा

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०७४, मंगलवार ०९:०५

सन् २०१७ नोभेम्वर २४ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाबीच भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघमा भएको भेटघाटको मुख्य उद्देश्य संघको सचिवालय नागपोखरीमा सर्न लागकेकोमा नेपाल उद्योग वाणिज्य महासंघलाई औपचारिक जानकारी गराउनु रहेको थियो। उक्त कार्यक्रममा अध्यक्ष भवन भट्टले महासंघ अध्यक्ष राणालाई हार्दिक धन्यवादको पत्रसहित टोकन अफ एप्रिसियसन प्रदान गर्नुभयो।
कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले गैरआवासीय नेपालीहरूको क्षमता र प्रतिभालाई नेपालको सर्वाङ्गीण विकासमा उपयोग गर्दै विदेशमा रहेका नेपालीहरूको हितलाई संरक्षण गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघको स्थापना गर्ने अभियानको थालनी गर्दाकै दिनदेखि नेपाल उद्योग वाणिज्य महासंघले हाम्रा अग्रजहरूसँग निरन्तर सहयोग गर्दै अएको स्मरण गर्नुभयो। गैरअवासीय नेपाली संघ नेपालमा दर्ता हुन लामो समय लागेको सन्दर्भमा महासंघले प्रदान गरेको संरक्षण र सहयोगप्रति अध्यक्ष भट्टले कृतज्ञता प्रकट गर्नुभएको थियो। सचिवालय सञ्चालनका लागि भवन तथा वित्तिय कारोवारमा सहकार्य गरी महासंघले एनआरएन अभियानलाइ थप योगदान पुर्याएको उहाँले उल्लेख गर्नुभयो।
सन् २००३ देखि महासंघको भवनमा एनआरएनए सचिवालय रहँदै अएको थियो। सन् २०१३ अक्टोवरमा नेपाल सरकार परराष्ट्र मन्त्रालयबाट संघ विधिवत रुपमा दर्ता भएपछि बालुवाटारमा आफ्नो भवन निर्माण कार्य अगाडि बढ्न सकेको अध्यक्ष भट्टले जानकारी दिनुभयो। महासंघको संरक्षकत्वमा रहेको सचिवालय सार्दा एकतर्फ न्यास्रो लागेको र अर्कोतर्फ हाम्रो उन्नतिको नयाँ पाइला टेक्न सफल भएकोमा गौरवको अनुभूति समेत हुन गएको उहाँको भनाइ थियो। नेपाल उद्योग वाणिज्य महासंघको यस प्रकारको निस्वार्थ सहयोग र संरक्षकत्वले संघको विगत १४ वर्षको लामो यात्रालाई अविस्मरणीय योगदान पुर्‍याएको अध्यक्ष भट्टले बताउनुभयो। सहयोग, सद्भाव र सहकार्यका लागि एनआरएनए नेपाल उद्योग वाणिज्य महासंघप्रति सधैँ आभारी रहने भन्दै उहाँले भविष्यमा महासंघसँगको सहकार्य अझ प्रगाढ र घनिभूत रहिरहने विश्वास व्यक्त गर्नुभयो।
अध्यक्ष भट्टले आर्थिक समृद्धिका लागि दुवै संस्था मिलेर लगानीको क्षेत्रमा सहकार्य गर्ने बताउँदै लागनीका क्षेत्र पहिचान गर्न निकट भविष्यमा नै एक लगानी सम्बन्धी कार्यशाला गोष्ठी आयोजना गर्ने जानकारी दिनुभयो।
महासंघका अध्यक्ष भवानी राणाले गैरआवासीय नेपाली संघसँग सहकार्य गर्न पाएकोमा संघप्रति आभार प्रकट गर्दे भविष्यमा यस सहकार्यलाई अझ दिगो पार्दै लैजाने बताउनुभयो। आगामी दिनहरुमा दुवै संस्थाहरुले आर्थिक तथा सामाजिक क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्नु पर्ने उहाँको भनाइ थियो। अफ्नै भवनमा सर्ने तयारीमा रहेको एनआरएनएलाई उहाँले उन्नति र प्रगतिको लागि शुभकामना व्यक्त प्रदान गर्नुभयो।
कार्यक्रममा नेपाली उद्योग वाणिज्य महासंघ र एनआरएनए अध्यक्ष लगायत महासंघका उपाध्यक्षद्वय उमेश लाल प्रधान र चन्द्र प्रसाद ढकाल, गैरआवासीय नेपाली संघका सचिव डि.बी क्षेत्री, महिला संयोजक रजनी प्रधान, युरोपका उपक्षेत्रीय संयोजक गोविन्द प्रसाद गौंतम, युकेका आइसिसि सदस्य शान्ति कुवँर थापा, युएसएका गैरआवासीय नेपाली शिशिर भट्ट, महासंघका महासचिव सुरेशमान श्रेष्ठको सहभागिता रहेको थियो।