८ बैशाख २०८१, शनिबार
Follow Us

आचार संहिता मिचेकोमा एमालेविरुद्ध उजुरी

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०७४, मंगलवार १३:२४

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सन्दर्भमा नेकपा एमालेले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई उल्लंघन गरेको आरोप लगाउदै सोको विरुद्ध अविलम्ब कारवाहीको माग गर्दै मंगलबार निर्वाचन आयोगमा उजुरी परेको छ ।

काठमाडौं महानगरपालिका वडा नं ३२ निवासी अमृत कार्की दायर गर्नुभएको उजुरीमा निर्वाचन आचार संहिता (तेस्रो संशोधन) २०७४ बमोजिम राजनीतिक दलले पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७ इन्च र ७ इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सकिने उल्लेख भएकोमा मंसिर १२ गते मंगलबार राष्ट्रिय दैनिकहरु कान्तिपुर,नागरिक,अन्नपूर्ण र नयाँ पत्रिकाको पहिलो पृष्ठमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फोटो सहित “सुखी जनता,समृद्ध नेपाल,सुशासन र स्थिरताको लागि बामपन्थी सरकार १” भन्ने सन्देश सहित छापिएको विज्ञापनको आकार आचारसंहितामा उल्लेख गरिएको भन्दा ठूलो भएकोे उल्लेख गरिएको छ ।

सो उजुरीमा आचार संहितमा एउटा पत्रिकामा एक दिनमा एउटामात्र विज्ञापन गर्न पाइनेमा ४÷४ वटा राष्ट्रिय दैनिकमा एकैचोटी विज्ञापन गरी नेकपा(एमाले)ले निर्वाचन आचार संहिता विपरीत काम गरेकोले सो उपर अविलम्ब कारबाही गर्न निर्वाचन आयोगलाई अनुरोध गरिएको छ ।