१६ चैत्र २०८०, शुक्रबार
Follow Us

किन रोजे राजकुमार ह्यारीले डिभोर्सी नायिका ?

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०७४, मंगलवार २१:२२

लण्डन । बेलायती राजकुमार ह्यारी र अमेरिकी नायिका मेगान मार्केलको बिवाह पक्का भएको छ । बेलायती राजदरबारले सोमबार विज्ञप्ती जारी गर्दै बिवाहबारे सार्वजनिक गरेको हो ।

को हुन् मार्केल ?

अमेरिकी लिगल ड्रामा सिरिज सुट्समा वकिलको भूमिकामा अभिनय गरेर चर्चित बनेकी मार्केलले साइन्स फिक्सन थ्रिलर फ्रिन्जमा गुप्तचरको रुपमा अभिनय गरेकी छन् ।

उनले अभिनयमा आउनु अघि कलात्कम अक्षर लेख्ने काम (कलीग्राफी) गरेको बताइएको छ ।

अमेरिकी कलाकार तथा फिल्म निर्माता ट्रेभोर इंगेलसनसँग ७ वर्ष लामो प्रेम सम्बन्धलाई बिवाहमा परिणत गरेकी मार्केलले दुई वर्षपछि बैवाहिक जीवन टुंग्याएकी थिइन् ।

बैवाहिक जीवनबाट एक्लिएको तीन वर्षपछि एक ब्लाइन्ड डेटमा उनको भेट बेलायती राजकुमारसँग भएको प्रकाशित रिपोर्टहरुमा जनाइएको छ । मार्केल ३६ वर्षकी छिन् भने ह्यारी ३३ वर्षका छन् ।

आफूलाई साथीले भेटाइदिएको दुवैले अन्तर्वार्तामा बताएका छन् । तर, गोपनीयताका लागि दुवैले ति साथीको परिचय खुलाएका छैनन् । उनीहरुको भेट लण्डनको एक पार्टीमा गत वर्षको जुलाईमा भएको थियो ।

‘पहिलो भेटमै म उनीसँग प्रभावित भएको थिएँ,’ राजकुमार ह्यारीले अन्तर्वार्तामा भनेका छन् ।

केहीसाता अघि प्रिन्स ह्यारीले नटिङ्गम कटेजमा आफूलाई बिवाहको प्रस्ताव गरेको मार्केलले बताएकी छिन् । ‘उनले गरेको प्रस्ताव अन्त्यन्तै रोमान्टिक थियो’, मार्केलले भनेकी छिन्,‘मैले तत्कालै हुन्छ भने ।’

मार्केलले बिवाह लगत्तै आफ्नो अभिनय जीवन त्यागेर सामाजिक सेवामा सक्रिय हुने घोषणा गरेकी छन् । उनले आफूले खेल्दै आएको टेलिशृंखला समेत बिवाह पछि नखेल्ने बताएकी छन् ।

केन्सिङ्टन प्यालेसलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार मार्केललाई इन्गेजमेन्टमा दिइएको रिङ प्रिन्स ह्यारी आफैंले डिजाइन गरेका हुन् जसमा दुई हिरा राखिएको छ । दुवै हिरा प्रिन्स ह्यारीका आमा डायनाको चिनो हो ।

घाइते सिपाहीहरुको लागि सेप्टेम्बरमा आयोजना गरिएको एक खेलकुद कार्यक्रममा ह्यारी र मार्केल सँगै उपस्थित भएका थिए ।

गत वर्ष नोभेम्बरमा केन्सिङ्टन प्यालेसले एक विज्ञप्ती जारी गर्दै मार्केलको बिषय जोडिएर प्रकाशित नकारात्मक समाचारको खण्डन गर्दै विज्ञप्ती जारी गरेको थियो । जसमा ह्यारी र मार्केल केही महिनादेखि प्रेम सम्बन्धमा रहेको खुलासा गरिएको थियो ।

दुई महिनाअघि भ्यानिटी फेयर म्यागेजिनलाई अन्तर्वार्ता दिने क्रममा मार्केलले ह्यारीसँगको प्रेम सम्बन्धबारे मुख खोलेकी थिइन् । ‘हामी प्रेममा छौं र खुशी छौं,’ उनले भनेकी थिइन् ।

सन् २०१५ देखि लागू भएको बेलायती राज संस्थासम्बन्धी नियमले रोमन क्याथोलिकसँग राज परिवारका सदस्यले बिवाह गरेपनि राजा वा रानी बन्न पाउने बाटो खुला गरेको छ ।

सन् २००२ मा इंल्याण्ड चर्चले डिभोर्सी व्यक्तिले पनि पुन: चर्चमा बिवाह गर्न पाउने नयाँ कानुन पारित गरेको थियो । यसले गर्दा ह्यारी र मार्केलको बिवाहमा सहजता थपेको छ ।

बिवाहपछि पनि मार्केललाई राजकुमारी उपाधी दिइने छैन । उनी राजपरिवार सदस्य नभएकलो उनलाई राजकुमारीको साटो प्रिन्सेस हेनरी अफ वेल्स सम्बोधन गरिनेछ ।

तर, ह्यारीलाई बिवाह अगावै उनका दाजू विलियमलाई जस्तै ड्युकको पद दिइने अनुमान छ । जसले गर्दा बिवाह लगत्तै मार्केलले डचेज को उपाधि पाउनेछिन् ।

ह्यारीकी आमा डायनाले समेत राजकुमारी पद पाएकी थिइनन् । उनलाई राजपरिवारको बुहारी हुन्जेल प्रिन्सेस अफ वेल्स सम्बोधन गरिएको थियो भने प्रिन्स चार्ल्ससंग डिभोर्सपछि उनलाई डायना, प्रिन्सेस अफ वेल्स सम्बोधन गर्न थालिएको थियो ।

-एजेन्सीहरु