दाङ । दाङको तुलसीपुरमा अज्ञात समूहले गराएको बम विष्फोटमा घाइते भएका एक म्यादी प्रहरीको उपचारको क्रममा मृत्यु भएको छ ।

विष्फोटमा गम्भीर घाइते तुलसीपुर उपमहानगरपालिका १८ का विनोद चौधरीको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारकाे क्रममा आज बिहान साढे २ बजे ज्यान गएको दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन् ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको क्रममा मृत्यु भएको यो पहिलो घटना हो ।

गम्भीर घाइते भएका अन्य तीन जनाको पनि कोहलपुर मेडिकल कलेजमै उपचार भइरहेको छ । अरु पाँच जनाको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा म्यादी प्रहरी देबी डिसी, सुनिता चौधरी, नरदेवी बुढाथोकी, बमराज सुनार, नेवबहादुर केसी, पार्वती केसी र हिमलाल रसाइली छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तुलसीपुरमा आयोजित चुनावी सभामा पुग्दै गर्दा करिब २ सय मिटर टाढा मंगलबार दिउँसो बम विष्फोट भएको थियो ।

– अनलाइन खबरबाट ।