१२ बैशाख २०८१, बुधबार
Follow Us

ह्यारीले घुँडा टेकेर मलाई प्रेम प्रस्ताव गरेका थिए: मेघन

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०७४, बुधबार ०५:१२

लन्डन– विवाह बन्धनमा बाँधिने पक्का भएपछि पहिलो पटक संयुक्त रुपमा टेलिभिजन अन्र्तवार्ता दिने क्रममा राजकुमार ह्यारी र अभिनेत्री मेघन मार्केलले विवाहको निर्णयले आफूहरु एकदमै खुसी भएको बताएका छन्।

टेलिभिजन अन्र्तवार्ता दिने क्रममा राजकुमार ह्यारीले सुन्दर मार्केल विस्तारै आफ्नो जीवनमा आएको बताए । बेलायतको राजगद्दीको उत्तराधिकारीको रोलक्रममा पाँचौ नम्बरमा रहेका राजकुमार ह्यारीले चिकेन रोस्ट बनाइरहेको बेला आफ्नै निवास केन्जिङ्टन दरबारमा मार्केललाई प्रेम प्रस्ताव गरेको बताए । मेघन मार्केलले पनि राजकुमार ह्यारीको भनाइलाई समर्थन गर्दै उनले आइतबार राति घरमै प्रेम प्रस्ताव गरेको बताइन्।

‘त्यो अकल्पनीय सरप्राइज थियो । त्यो एकदमै मिठासपूर्ण थियो र रोमाञ्चक पनि थियो । ह्यारीले घुँडा टेकेर मलाई प्रेम प्रस्ताव गरेका थिए,’ मेघनले बताइन्।

‘मेरो प्रेम प्रस्ताव अन्त्य नभइकनै उनले के म ‘हुन्छ’ भनौं भनेकी थिइन्,’ राजकुमार ह्यारीले बताए । ‘त्यसपछि हामीले एकअर्कालाई अंकमाल गर्‍यौं र मैले औठीं लगाइदिएँ,’ ह्यारीले थप्दै भने।

बेलायतको क्ल्यारेन्स हाउसले राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेघनले आउँदो वसन्त याममा विवाह गर्ने तयारी गरेको भन्दै सोमबार इन्गेजमेन्ट भएको घोषणा गरेको थियो । राजकुमार ह्यारी र मेघनबीच विवाह पक्का भएको बताइएपनि उनीहरुको वैवाहिक समारोहका बारेमा केही बताइएको छैन । विवाहको थप कार्यक्रमका बारेमा पछि सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

क्याम्ब्रिजको राजकुमारकी श्रीमतीले राजकुमार ह्यारी र मेघन मार्केलबीच भएको इन्गेजमेन्टले आफू अत्याधिक रोमाञ्चित भएको बताएकी छिन्।

लन्डनस्थित फाउन्डलिङ संग्रहालयको भ्रमण गर्ने क्रममा बोल्दै राजकुमार विलियमकी पत्नीले आफूहरु दुवैजनाले ह्यारी र मेघनले यो खुसीको क्षणलाई रमाइलो तरिकाले लिइरहेको आशा गरेको बताइन्।

स्टोक–अन–ट्रेन्टको भ्रमणमा रहेकी कर्नवाल राजकुमारकी धर्मपत्नी कामिलाले ठट्टा गर्दै अमेरिकाले गुमाउनु हाम्रो उपलब्धी भएको बताएकी छिन् र राजकुमार ह्यारी र मेघनको विवाह बारेको जानकारीले खुसी बनाएको बताएकी छिन्।
राजकुमार ह्यारीको विवाहको मिति भने समय आएपछि सार्वजनिक गरिने वेल्स्का राजकुमारको आधिकारिक निवासस्थानले सोमबार जारी गरेको घोषणामा बताइएको थियो । बेलायतको राजपरिवार निकट स्रोतका अनुसार राजकुमार ह्यारी र मेघनबीचको विवाह सम्भवतः अप्रिल महिनामा हुनेछ।

ह्यारी र मेघनबीच इन्गेजमेन्ट भएको समाचार बाहिरिएपछि बकिङ्घम दरबारका प्रवक्ताले महारानी र एडेनबर्गका ड्युक खुसी भएको र उनीहरुको सुखका लागि आर्शिवाद दिएको बताएका छन्।

आफ्नो छोराले उनको प्रेमिकासँग विवाह गर्न लागेको विषयले आफूलाई निकै नै रोमाञ्चित बनाएको युवराज चाल्र्सले बताएका छन् । युवराज चाल्र्सले मार्केलले पनि विवाहका लागि उनको अभिभावकबाट आर्शीवाद पाइसकेको बताएका छन्।

मेगनका बाबु थोमस मार्केल र आमा डोरिया रगल्यान्डले आफ्नी छोरी दयालु र मायालु भएको बताउँदै राजकुमार ह्यारी र आफ्नी छोरी वैवाहिक जीवनमा बाँधिन लागेकोमा अत्यन्तै खुसी भएको बताएका छन् । ‘आफ्नै छोरीको जस्तै स्वभाव भएका राजकुमार ह्यारीसँग आफ्नी छोरीको दाम्पत्य जीवन अघि बढ्न लागेकोमा खुसी भएका छौं,’ उनीहरुले बताएका छन्।

यसै महिनाको सुरुवातमा गोप्य रुपमा लन्डनमा भएको राजकुमार ह्यारीको इन्गेजमेन्ट बेलायतकी महारानी एलिजावेथ द्वितीय र राजपरिवारका नजिकका सदस्यलाई मात्रै जानकारी रहेको युवराज चाल्र्सलाई उल्लेख गर्दै बिबिसीले जनाएको छ । सन् २०११ मा वेस्टमिन्सटर अबेमा विवाह गरेका राजकुमार ह्यारीका दाई राजकुमार विलियम र उनकी पत्नी क्याथेरिनले पनि ह्यारी र मेघनको विवाहको विषयले रोमाञ्चित बनाएको बताएका छन्।

३३ वर्षे राजकुमार ह्यारी र ३६ वर्षे मार्केलले जोडीका रुपमा राजकुमार ह्यारीले घाइते र बिरामी भएका सैनिकका लागि आयोजना गरेको इन्भिक्टस खेलकूदका बेला गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिक भएका थिए । उनीहरुको १६ महिने सम्बन्ध सन् २०१६ को जुलाई महिनाबाट सुरु भएको थियो । उनीहरुबीच साथी–साथीको माध्यमबाट बेलायतको राजधानी लन्डनमा भेट भएको थियो । सञ्चारमाध्यममा मार्केलविरुद्ध दुव्र्यवहारका घटना सार्वजनिक भएपछि राजकुमार ह्यारीले मार्केलसँग रहेको उनको प्रेमसम्बन्धका बारेमा नोभेम्बर २०१६ मा केन्जिङ्टन दरबारबाट वक्तव्य जारी गर्दै जानकारी गराएका थिए।
– एजेन्सी