८ बैशाख २०८१, शनिबार
Follow Us

डढेलोले स्पेन र फ्रान्स प्रभावित

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७३, शुक्रबार ०६:५९

म्याड्रिड । उत्तरपश्चिमी स्पेनको ग्यालिसिया इलाकाका करिब चार हजार हेक्टर जङ्गल क्षेत्र डढेलोमा परी स्वाहा भएको छ । तीब्ररूपले जताततै डढेलो फैलनुको ठोस कारण नखुले ता पनि यसलाई सो क्षेत्रका पदाधिकारीले ‘असामान्य घटना’ बताएका छन् ।

स्थानीय पत्रपत्रिकाका अनुसार २० ठाउँबाट आगो फैलिएको र कुनै कुनै ठाउँमा त गत सोमबारदेखि नै शुरु भएका थिए ।

आगलागीबाट बचाउन ४५ थरी जङ्गली जीवजन्तुलाई अन्यत्र सार्नु परेको थियो । आगलागीबाट कुनै मानवीय क्षति नभएको तर, पोन्टेभेड्रा नगर नजिकै एउटा प्रहरी बाहन भने पूर्णरूपले ध्वस्त भएको जनाइएको छ ।

साथै, डढेलो नियन्त्रण गर्न प्रयासरत एउटा हेलिकोप्टर दुर्घटनाग्रस्त भई जमिनमा खसेको थियो । हेलिकोप्टरमा रहेका दुईजना अग्नी नियन्त्रक भने भाग्यवश सकुशल उम्केर भाग्न सफल भए ।

दावानलको कारण जोखिममा परेका निकटवर्ती थुप्रै गाउँमा सरकारले लेभल(२ को सजगता सूचना जारी गरेको थियो ।

डढेलोसँग जुध्न स्थानीय सरकारी निकायले करिब चारसय अग्नी नियन्त्रक तथा ७० वटाभन्दा बढी हेलिकोप्टर र २० भन्दा बढी अन्य विमान परिचालन गरेको र सयौँको सङ्ख्यामा स्थानीय स्वयंसेवक पनि खटिएका छन् ।

सुक्खा मौसम र कडा हावाहुरीका कारण ती सबैका परिश्रम खेर गइरहेको र डढेलो यस सप्ताहान्तसम्मै नियन्त्रणमा आउने छाँट देखिएको छैन ।

डढेलो लाग्नुको ठोस कारण नखुलाइए तापनि स्थानीय आर्दो गाउँवासीले खिचेका भिडियो फिल्ममा अलग अलग पाँचस्थानबाट एक्कासी, एकै पटक आगोको लप्का फैलिएर आएको देखिँदा जङ्गलमा सुनियोजित डढेलो लगाइएको अनुमान गरिएको बताइएको छ ।

त्यसैगरी, दक्षिणी फ्रान्सका धेरै नगर बाहिर पनि डढेलो लागी करिब तीनहजार तीनसय हेक्टर जङ्गल क्षेत्र स्वाहा भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

फ्रान्सको दक्षिणी प्रान्त बोचे दु रोनेको रोग्न्याक इलाका र प्रान्तीय राजधानी तथा फ्रान्सकै दोस्रो विशाल महानगर मार्सेल्लीनजिक समेत गरी करिब दुईहजार पाँचसय हेक्टर जङ्गलक्षेत्रमा दावानल फैलिएको छ ।

यी क्षेत्रमा फैलिएको डढेलोको ज्वालामा परी तीनजना स्थानीय जनता र हेरोल जिल्लामा चारजना अग्नी नियन्त्रक सख्त घाइते भएका छन् ।

डढेलोसँग जुध्न स्थानीय सरकारी निकायले करिब एकहजार आठसय अग्नी नियन्त्रक तथा पाँच सय वटाभन्दा बढी बारुणयन्त्र र सात वटा अन्य विमान परिचालन गरेको छ ।

विगतका धेरै हप्तादेखि रहिरहेको अतिसय तापक्रमयुक्त सुक्खा मौसम र कडा हावाहुरीका कारण यहाँ पनि सबैका परिश्रम खेर गइरहेको भनी फ्रान्सका गृहमन्त्री बर्नार्ड काजेनोभेले समाचारदाताहरूलाई बताउनुभएको छ ।