१५ चैत्र २०८०, बिहीबार
Follow Us

काँग्रेसद्वारा चौधरीको निधनप्रति दुःख व्यक्त

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०७४, बुधबार ०९:२५

काठमाडौं । नेपाली काँग्रेसले दाङको तुलसीपुरमा काँग्रेसद्वारा आयोजित आमसभास्थल नजिक मंगलबार बम विस्फोटनमा परी मृत्यु हुनुभएका म्यादी प्रहरी विनोद चौधरीको निधनमा दुःख व्यक्त गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । काँग्रेसले मृतकका परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।
तुलसीपुर उपमहानगरपालिकाका १८ वर्षीय चौधरीको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । अन्य घाइतेको कोहलपुर मेडिकल कलेज र राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको काँग्रेसले जनाएको छ ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा तुलसीपुरमा आयोजित चुनावी सभामा पुग्दै गर्दा मङ्गलबार अपराह्न बम विस्फोट भएको थियो । सो पार्टीले लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले सुनियोजित तवरबाट बारम्बार यस्ता घटना दोहरिनु दुःखद भएको जनाएको छ ।

“काँग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, पार्टीप्रति अगाध माया गर्ने आममतदाता यस घटनाबाट रत्तिभर विचलित हुनेछैनन्, काँंग्रेसका नेता एवं कार्यकर्ताको हत्या नै गर्ने मनसायले गरिएको यस्तो आक्रमणप्रति घोर निन्दा र भत्र्सना गर्दछौँ” विज्ञप्तिमा उल्लेख छ ।

यस्ता घटनाले शान्तिपूर्ण एवं निर्बाध रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकारमाथि ठाडो उल्लंघन गरेको र लोकतान्त्रिक संस्कारको उपहास भएको काँग्रेसको ठहर छ । काँग्रेसले यस प्रकारका अवाञ्छित क्रियाकलाप पुनः नदोहो-याउन तथा घटनामा संलग्नलाई तत्काल खोजी गरी कारबाही गर्न सरकारसँग माग गरेको छ ।