१२ बैशाख २०८१, बुधबार
Follow Us

यसरी जित्दै छिन् डा. आरजुले कैलाली–५ मा (तथ्यांकसहित)

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०७४, बुधबार १३:२८

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. आरजु देउवाले कैलाली–५ बाट सुविधाजनक ढंगले चुनाव जित्दै हुनुहुन्छ । स्थानीय तहको निर्वाचन परिणामलाई हेर्ने हो भने कैलाली–५ नेपाली कांग्रेसको पक्कड क्षेत्र हो । धनगढी उपमहानगरपालिकाको १९ वटा वडा र कलौरी गाउँपालिकाको २ वटा वडा मिलेर यो निर्वाचन क्षेत्र बनेको छ ।

उपमहानगरमा नेपाली कांग्रेसका नृपबहादुर वडले कांग्रेसकै बागी उम्मेदवार गोपाल हमाललाई पराजित गरेर मेयरमा निर्वाचित भएका हुन् । मेयर वडले १४ हजार ३ सय २४ मत ल्याए । बागी उम्मेदवार हमालले ११ हजार ५ सय २७ मत ल्याएर दोस्रो भए । उपमेयर सुशीला मिश्र भट्टले १७ हजारभन्दा बढी मत ल्याएर विजयी भएकी थिइन् । तेस्रो भएका माओवादी केन्द्रका रामसमझ रानाले १० हजार २ सय ९ मत ल्याएका थिए । चौथो पोजिसनमा रहेको एमालेका दुर्गाप्रसाद जोशीले ९ हजार ९ सय ४६ मत प्राप्त गरेका थिए ।

धनगढी उपमहानगरपालिकाको १९ वडामध्ये नेपाली कांग्रेसले १२ वडा जितेको छ । १, २, ४, ५, ७, ८, ९, १०, १२, १३, १६ र १७ वडामा नेपाली कांग्रेस विजयी भएको छ । एमालेले १४ र १९ वडा जितेको छ भने माओवादी केन्द्रले ३, ६, ११, १५ र १८ गरी पाँचवटा वडा जितेको छ । कलौरी गाउँपालिकाको ९ र ६ नम्बर वडा यो निर्वाचन क्षेत्रमा मिसिएको छ । ६ नम्बर वडामा नेपाली कांग्रेसका पे्रमबहादुर चौधरी ८ सय ८४ मत ल्याएर विजयी भएका थिए भने ९ नम्बर वडामा स्वतन्त्र उम्मेदवार खेमराज चौधरी ४ सय ६९ मत ल्याएर विजयी भएका छन् ।

मेयरमा विजयी वड र बागी उम्मेदवार हमालको मत जोड्दा २५ हजार ८ सय ५५ पुग्छ । धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसको यो मतमा घुन पुतली नलाग्ने ठानिन्छ । यसमा राप्रपाको मत ८ सय २९ छ । उक्त मत पनि डा. आरजुलाई आउने लगभग निश्चित छ । माओवादी र एमालेको मत जोड्दा २० हजार १ सय ५५ हुन्छ । तत्कालीन माओवादी केन्द्रबाट मेयरका उम्मेदवार बनेका रामसमझ राना नेपाली कांग्रेसमा प्रवेश गरिसकेका छन् । उनी कांग्रेसमा प्रवेश गरेसँगै वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानाको मत घट्ने निश्चित ।

कांग्रेसको संगठन बलियो भएको तथा राप्रपा र वाम गठबन्धनमा विचलन आएकाले कांग्रेस उम्मेदवार आरजु देउवाले सुविधाजनक ढंगले निर्वाचन जित्न पूर्वानुमान गरिएको छ ।