भक्तपुर । व्यापारीसँग रु पाँच लाख चन्दा माग्दै गर्दा प्रहरीले भक्तपुर नगरपालिका–१० भत्केकोपाटीबाट नेपाल कम्युनिष्ट पार्टीका(विप्लव) एक नेतालाई पक्राउ गरेको छ । नेकपा भक्तपुर जिल्लास्तरीय नेता सिन्धुपाल्चोकका डोकेन्द्रराज भट्टराईलाई व्यापारीसँग चन्दा माग्दै गर्दा पक्राउ गरी अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिषर भक्तपुरले जानकारी दिएको छ ।

प्रहरीले भक्तपुरमा पछिल्लो समयमा बम विस्फोटका घटना बढेपछि नेकपाका नेता कार्यकर्ताको व्यापक खोजी गरिरहेको जानकारी दिएको छ ।

प्रहरीले यही मंसिर ९ गते चाँगुनारायण नगरपालिकाका नेपाली काँग्रेसका क्षेत्र नं १ को (क) का उम्मेदवार जीवन खत्रीको घरलाई लक्षित गरी बम विस्फोट गराउन प्रयोग भएको आशंकामा एक वटा मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ ।

प्रेसर कुकर बम विस्फोट गराएर भाग्दै गर्दा केही स्थानीयले रोक्ने प्रयास गर्दा मोटरसाइकल छाडेर भागेको आशंकामा प्रहरीले बेवारिसे अवस्थामा भेटिएको मोटरसाइकल नियन्त्रणमा लिएको हो । मोटसाइकलबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

९ गते एकै समयमा चाँगुनारायण र मध्यपुरथिमिमा क्षेत्र नं २ प्रदेश (ख) का काँग्रेसका उम्मेदवार गणेशमान चक्रधरको घरलाई लक्षित गरी बम विस्फोट गराएपनि अझै कसैलाई पक्राउ गर्न सकेको छैन ।

मंगलबार राति मात्रै सूर्यविनायक नगरपालिका–२ बालकोटमा नेपाली काँग्रेसबाट भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं पूर्वसभामुख दमननाथ ढुंगाना बस्दै आउनु भएको रोज भिलेजबाट करिब १०० मिटर पर बम विस्फोट भएको थियो ।

महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले विस्फोट गराउने व्यक्तिको खोजी भइरहेको बताउनुभयो ।

प्रहरीले चुनाव नजिकिँदै गर्दा पनि सुरक्षा संयन्त्रलाई बलियो बनाएर परिचालन गर्न नसक्दा भक्तपुर जस्तो सानो जिल्लामा पनि सुरक्षा चुनौती बढ्दै गएको दलका नेताहरुले बताएका छन् ।