८ बैशाख २०८१, शनिबार
Follow Us

एस्टार फाइनान्सियल यूकेद्वारा निशुल्क परामर्श

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०७४, बुधबार २१:३५

लन्डन । ए स्टार फाइनान्सियल सोलुसन यूकेले बेलायतवासी नेपालीहरुको हक हित र सुविधालाई मध्यनजर गर्दै २५ नोभेम्बर शनिबारका दिन हेज एण्ड हार्लिंगटन कम्युनिटी सेन्टर, अल्बर्ट रोडमा मोर्गेज, कर, कानून, वील्स,स्टेट प्लानिंग लगायतका विषयमा सम्बन्धित विज्ञहरुद्वारा निशुल्क परामर्श कार्यक्रम संचालन गरेको छ ।

एसएनपी प्लस र हिलिंगडन गोर्खा नेपलीज यूथ कम्युनिटीको सहकार्यमा गरिएको उक्त कार्यक्रममा नेपालीहरुको बाक्लो उपस्थितिरहेको थियो । कार्यक्रममा ए स्टार फाइनान्सियल यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मिन दर्लामी, ए स्टारका मोर्गेज एण्ड प्रोटेक्सन एड्भाइजर रमेश सरांगकोटी, सिए समिरनाथ प्याकुरेल र एक्सम स्टोन सोलिसिटरको तर्फबाट सोलिसिटर हितेश शाहले आ-आफ्नो क्षेत्रको बारेमा जानकारी गराएका थिए ।

मोर्गेज एण्ड प्रोटेक्सन एड्भाइजर रमेश सरांगकोटीले बेलायतमा घर खरिद प्रकृया र यसबारेमा पुर्याउनुपर्ने विचार लगायत मोर्गेज सम्बन्धी विषयलाई प्रष्ट्याएका थिए । एक्सम स्टोनका सोलिसिटर हितेश शाहले पनि घर खरिद गर्दाको प्रारम्भिक चरणदेखि अन्तिम चरणसम्मको सोलिसिटरको भूमिका र प्रकृयाको बारेमा अवगत गराएका थिए ।

सिए समिरनाथ प्याकुरेलले पनि बेलायतमा प्रचलित कर प्रणालीको बारेमा र भावी दिनहरुमा हुन गैरहेको कर सम्बन्धी परिवर्तनको बारेमा उल्लेख गर्दै नियमानुसार सरकारलाई तिर्नपर्ने करलाई बेवास्ता नगर्नको लागि अनुरोध गरेका थिए । त्यस्तैगरी ए स्टार फाइनान्सियल सोलुसन यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मिन दर्लामीले हालै भएको बैंकको ब्याज दर बृद्दी तथा यसको प्रभाव, वील्स र स्टेट प्लानिंग सम्बन्धी जानकारी गराउँदै आफूहरू विज्ञापन तथा प्रचार प्रसारको लागि आएको नभएर सर्वसाधारणको जानकारीको लागि परामर्श दिने उद्देश्यले पटक पटक यस्तो निशुल्क परामर्श दिंदै आएको बताएका थिए ।

साधारण कुराहरुको जानकारीको अभावमा नेपालीहरुले अनावश्यक समस्याका साथै आर्थिक बोझ समेत बोक्नुपर्ने भएकोले नेपाली समूदायलाई सचेत गराउने आफ्नो उद्देश्य रहेको दर्लामीले बताएका थिए । कार्यक्रमको अन्तिम चरणमा उपस्थित भएकाहरुको व्यक्तिगत जिज्ञासा एवं समस्याको बारेमा पनि छलफल गरिएको थियो ।
– नरेन्द्र बस्नेत