७ बैशाख २०८१, शुक्रबार
Follow Us

लण्डनका महानगर प्रमुखद्वारा ट्रम्पको राजकीय भ्रमण रद्द गर्न आग्रह

नेपालब्रिटेन डट कम्
१४ मंसिर २०७४, बिहीबार १३:२७

लण्डन । लण्डनका महानगर प्रमुख सादिक खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेलायतमा हुने भनी तय भएको राजकीय भ्रमणलाई रद्द गर्न आग्रह गर्नुभएको छ । बेलायतमा अमेरिकी राष्ट्रपतिले मुसलमान विरोधी भिडियोलाई पुनः ट्वीट गरेपछि खानले सो भिडियोप्रति विरोध जनाउँदै यस पहिले बेलायती नागरिकले ट्रम्पको भ्रमणबारेमा विरोध जनाइरहेका बेलायतीको स्वरलाई थप शसक्त बनाउनुभएको हो ।
महानगरप्रमुखले अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिका कारण यस समयमा उहाँलाई बेलायतमा उचित सम्मान मिल्न नसक्ने बताउनुभएको छ ।
प्रधानमन्त्री मेका सरकारी प्रवक्ताले अमेरिकी राष्ट्रपतिले मुसलमान विरोधी भिडियोलाई पुनः ट्वीट गर्नु गलत भएको छ । बेलायती गृहमन्त्री एम्बर रडले विहीबार सरकारको धारणा दोहोराउँदै ट्रम्पले मुसलमानविरोधी भिडियो प्रधानमन्त्री मेलाई पठाउनु गलत थियो भन्नुभएको छ ।
“मेरो विचारमा प्रधानमन्त्रीको प्रतिक्रियाले अमेरिकी राष्ट्रपतिमा केही प्रभाव आउने छ,” रडले भन्नुभयो । गृहमन्त्री रडले भिडियोबारे बेलायती सांसदलाई जवाफ दिँदै भन्नुभयो, “बेलायती जनताले कुनै समुदाय विरुद्धको पक्षपातपूर्ण अभिव्यक्तिलाई अस्वीकार गर्नेछन् ।” वर्तमान् सरकार पनि कुनै धार्मिक विश्वास र सम्प्रदायलाई घृणा गर्ने कुनै समूहलाई पनि सहन सक्दैन, रडले थप्नुभयो ।