१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ट्रम्पलाई ट्विटर ‘डिलिट’ गर्न बेलायती सांसदको माग

नेपालब्रिटेन डट कम्
१५ मंसिर २०७४, शुक्रबार ०४:३४

लन्डन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमान विरोधी एउटा भिडियोलाई उनको ट्विटर अकाउन्टबाट पुनः ट्विट गरेपछि बेलायतको एक सांसदले उनको ट्विटर अकाउन्ट बन्द गर्न माग गरेका छन्।

ट्रम्पले अति–दक्षिणपन्थी ट्विटलाई रिट्विट गर्दै समाजमा घृणा फैलाएको आरोप बेलायतका सांसदहरुले लगाएका छन्। उनीहरु ट्रम्पले गर्न लागेको पूर्वनिर्धारित बेलायतको राजकीय भ्रमण खारेज गर्नसमेत माग गरेको बिबिसीले जनाएको छ।

बेलायतको कन्जरभेटिभ दलको एक सांसदले बेलायतकी प्रधानमन्त्री थेरेसा मेले अमेरिकी राष्ट्रपति ट्रम्पलाई उनको ट्विटर अकाउन्ट ‘डिलिट’ गर्न मनाउन सकिन भने विश्व एकदमै राम्रो ठाउँ हुने बताएका छन्।

बेलायतकी गृह मन्त्री अम्बर रुडले बेलायती प्रधानमन्त्रीविरुद्धको आलोचनाले राष्ट्रपति ट्रम्पलाई केही प्रभावित पार्नसक्ने बताइन् । तर उनले ट्रम्पले गर्न लागेको राजकीय बेलायत भ्रमण स्थगित गर्ने विषयलाई भने अस्वीकार गरेको बिबिसीले जनाएको छ । उनले ट्रम्पलाई बेलायत भ्रमणबारे दिइएको निमन्त्रणाको अवधि बढाइएको र त्यो उनले स्वीकार पनि गरेको बताउँदै ट्रम्पको भ्रमणको मिति र निर्धारित तालिका भने अझै स्पष्ट नभइसकेको बताइन् । उनले अमेरिकी राष्ट्रपति ट्रम्पको आलोचना गर्नुपूर्व बेलायत र अमेरिकाको गठबन्धनलाई ध्यान दिनुपर्ने पनि बताइन् । उनले अमेरिका र बेलायतबीच भइरहेको समझदारी कै कारण बेलायती नागरिकको जीवन रक्षा भइरहेकोसमेत बताइन् ।

‘यही हालको सबैभन्दा ठूलो परिदृश्य हो र म सबैलाई यही विषय याद गर्न आग्रह गर्दछु,’ उनले थप्दै भनिन् ।

तर उनले अमेरिकी राष्ट्रपति ट्रम्पले अति दक्षिणपन्थी समूहको ट्विट सेयर गरेर गल्ती गरेको बताउँदै डाउनिङ स्ट्रिटले उनको कदमको निन्दा गरेको बारम्बार दोहोर्‍याइन्।

उनले कसैको विश्वास गिराउने काम गर्ने र जातीयतामाथि प्रश्न चिह्न उठाउँदै घृणा फैलाउने काम बेलायतले कुनै पनि हालतमा नस्वीकार्ने बताइन्।

बेलायती सांसद पिटर बोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटर अकाउन्ट बन्द गर्नुपर्ने भनेर गरेको मागलाई सम्बोधन गर्दै विदेशमन्त्रीले भनिन्,‘यो विषय नोट गर्नका लागि अत्यन्तै रमाइलो छ । मलाई लाग्छ हामीमध्ये धेरैले बोनले जस्तै विचार राख्छौं ।’

पूर्व कन्जरभेटिभ मन्त्री टिम लाउटनले यदि ट्विटरले भनेजस्तो अनलाइनबाट हुने अपराध रोक्ने लडाइँमा यथार्थ रुपमा लागेको छ भने उसले अमेरिकी राष्ट्रपतिको उक्त ट्विट अवश्य ‘डिलिट’ गर्ने बताएका छन् ।

पूर्व मन्त्री लाउटनको यस भनाइलाई जवाफ दिँदै रुडले भनिन्, ‘मलाई लाग्छ लाउटनले दिएको यो आकर्षक भनाइ ट्विटरको प्रमुख कार्यकारी अधिकृतले सुनेको हुनुपर्छ र हामी यो विषयमा निर्णय गर्न उनीहरुलाई नै जिम्मा दिनेछौं ।’

अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो ट्विटलाई लिएर बेलायतका विभिन्न सांसदले उनले गर्ने भनिएको बेलायतको राजकीय भ्रमण खारेज गर्न माग गरका छन् । लेबर पार्टीबाट मन्त्री रहिसकेका ए भिट्टी कोपरले अमेरिकामा द्वेष फैलाउने अमेरिकी राष्ट्रपतिलाई रातो कार्पेट विछ्याउन नसकिने बताएका छन् । अति दक्षिणपन्थी भिडयोलाई ‘रिट्विट’ गरेपछि बेलायतको प्रधानमन्त्री कार्यालयले अमेरिकी राष्ट्रपतिको आलोचना गरको थियो । आफ्नो ट्विटको आलोचना गरेपछि ट्रम्पले बेलायती प्रधानमन्त्री थेरेसा मेलाई आफ्नो ट्विटलाई भन्दा पनि बेलायतमा रहेको आतंकवादमाथि केन्द्रीत हुन भनेका थिए । ‘मलाई ध्यान नदेऊ, बेलायतमा अतिवादी इस्लामिक आतंकवादले गरिरहेको घटनामा ध्यान देऊ,’ ट्रम्पले ट्विट गरेका थिए।

बेलायत र अमेरिका एकदमै विशेष सम्बन्ध रहेको नजिकको साझेदारका रुपमा लिइन्छ । डोनाल्ड ट्रम्प गत वर्ष अमेरिकाको राष्ट्रपति भएपछि ह्वाइट हाउस भ्रमण गर्ने पहिलो विदेशी नेत्री बेलायतकी प्रधानमन्त्री थेरेसा मे नै थिइन् ।

बेलायतको अति दक्षिणपन्थी ब्रिटिस नेसनल पार्टीका पूर्व सदस्यहरुले गठन गरको ‘ब्रिटेन फस्ट’ का उपनेता ज्यादा फ्रान्सेनले ट्विट गरेको भिडियो ट्विटर अकाउन्टमा चार करोड भन्दा बढी फलोअर्स रहेका ट्रम्पले पुनः सेयर गरेका थिए । बेलायतको बेलफास्टमा आयोजना भएको ¥यालीमा दिएको मन्तव्यमा चेतावनीमुलक भाषण गरेको, अनादर गरेको र अपशब्द बोलेको आरोपमा ३१ वर्षे फ्रान्सेनविरुद्ध बेलायतमा मुद्दा चलाइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले फ्रान्सेनको भिडियो रिट्विट गरेकोमा बेलायतका विभिन्न राजनीतिज्ञले विरोध जनाएका छन् । यसैबीच ट्रम्पले रिट्विट गरेको विषयलाई लिएर लन्डनका महानगर प्रमुख सादिक खानले पनि उनको बेलायतमा हुने भनी तय भएको राजकीय भ्रमणलाई रद्द गर्न आग्रह गरेका छन् ।

महानगर प्रमुखले अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिका कारण यस समयमा उनलाई बेलायतमा उचित सम्मान मिल्न नसक्ने बताएका छन् ।