१५ चैत्र २०८०, बिहीबार
Follow Us

काठमाडौंमा विस्फोट गराउन ल्याइएका बमसहित दुई भारतीय पक्राउ

नेपालब्रिटेन डट कम्
१५ मंसिर २०७४, शुक्रबार ०६:०३

धादिङ । इलाका प्रहरी कार्यालय खानीखोला धादिङले ठुलो संख्यामा विस्फोटक पदार्थ सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा ना ७ ख ४९७६ काकटभिट्टावाट काठमाडौं आउदै गरेको यात्रुबहाक बसमा नौविसेमा प्रहरीले चेकजाँच गर्दा प्रेसरकुकर, सकेट बम सहित विस्फोटक पदार्थ बरामद गरेको हो ।

दोस्रो चरणमा निर्वाचन हुने काठमाडौं लगायतका क्षेत्रमा विस्फोट गराउने उद्देश्यले ल्याइदै गरेको अवस्थामा विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा भारत सिलगुढीका एम फर्मा खान र आसामका राजु मिश्र रहेका छन् । उनीहरुको साथवाट तयारी अवस्थामा रहेको तीन थान बम र विस्फोटक पदार्थका साथै मोटरसाइकलको सक लगायतका सामाग्री बरामद भएको छ ।

सुराकीका आधारमा प्रहरीले उक्त बसलाई नौविसेमा खाना खान रोकेको समयमा नियन्त्रणमा लिएर खानतलासी गर्दा उक्त सामाग्री बरामद भएको हो । उक्त बम र विस्फोटक सामाग्री भारत हुँदै नेपाल भित्राइएको प्रहरीको अनुमान छ ।

निर्वाचन विथोल्ने समूहले उक्त सामाग्री भित्राएको आशंकामा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ । दोस्रो चरणको चुनाव नजिकिंदै जाँदा भएका हिंसाका घटनालाई मध्यनजर गर्दै भारतसँगको सीमा नाकामा प्रहरीले केही समयदेखि सुरक्षा प्रबन्ध थप कडा बनाएको छ ।

प्रहरीका अनुसार उसले अहिलेसम्म ५२ थान हातहतियार र थुप्रै स्थानबाट विष्फोटक पदार्थ बनाउन प्रयोग हुने सामाग्री बरामद भएका छन् । हातहतियार र बिस्फोटक पदार्थ सहित करिब दुई सय पचास सयजना र निर्वाचन विरोधी क्रियाकलापमा संलग्न ५ सयजना भन्दा बढीलाई नियन्त्रणमा लिइएको छ ।