८ बैशाख २०८१, शनिबार
Follow Us

वार्षिक १५ लाख पर्यटक भित्र्याउन एनआरएनले अभियान थाल्ने

नेपालब्रिटेन डट कम्
१५ मंसिर २०७४, शुक्रबार १०:१८

पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएन) ले वार्षिक १५ लाख पर्यटक भित्र्याउने अभियान थाल्ने भएको छ । पर्यटकीय सहर पोखरा लेखनाथ महानगरपालिकालाई स्मार्ट सिटी बनाउने अन्र्तक्रिया कार्यक्रममा एनआरएन अध्यक्ष भवन भट्टले आफ्नो दुई वर्षे कार्यकालमा वार्षिक १५ लाख पर्यटक नेपाल भित्र्याउने अभियान थाल्ने बताए ।

स्पेनले वार्षिक ६ करोड बढी पर्यटक भित्र्याएको प्रसंग कोट्याउँदै अध्यक्ष भट्टले विश्वकै उत्कृष्ट गन्तव्य मुलुकमा पर्ने नेपालमा भने वार्षिक ८ लाख पर्यटक पनि भित्रिन नसकेकोमा दुःख व्यक्त गरे । आफ्नो दुई वर्षे कार्यकालभित्रै वार्षिक १५ लाख पर्यटक भित्र्याउने गरी विभिन्न अभियानमा लागेको उनले बताए । नेपालमा धेरै पर्यटनको सम्भावना हुदाहुँदै पनि त्यसको मार्केटिङ गर्न नसकिएको अध्यक्ष भट्टको गुनासो छ ।

बुद्धजयन्ती, सगरमाथा दिवस आदि अवसरमा विदेशबाट पाहुनाहरू ल्याउने अभियानमा आफूहरूसमेत लागेको अध्यक्ष भट्टले बताए । उनले एक जनाबाट कम्तिमा तीनजना पर्यटक नेपाल भ्रमणमा आउने वातावरण तयार गर्नुपर्ने सुझाव दिए । पोखरासहित नेपालमा लगानीको वातावरण तयार गर्न पनि आफूहरूले सकेसम्म अन्तर्राष्ट्रिय सम्मेलनहरू सकभर नेपाल र त्यो पनि पोखरामा पार्ने उनले जनाए ।

यस्तै पोखरा लेखनाथ महानगरलाई स्मार्ट सिटी बनाउन गैरआवासीय नेपाली संघ (एनआरएन) ले सहयोग गर्ने भएको छ । पोखरा—लेखनाथ माहानगरपालिका र एनआरएनएले पोखरालाई स्मार्ट सिटी बनाउन छलफल अगाडि बढाइसकेका छन् । हालै पोखरा—लेखनाथ माहानगरपालिका प्रमुख मानबहादुर जीसीको निमन्त्रणामा पोखरा पुगेका एनआरएनए अध्यक्ष भवन भट्टले पाइलट प्रोजेक्टको रूपमा पहिलो चरणमा पोखरालाई स्मार्ट सिटी बनाउने कार्यमा सहकार्य गर्नेबारे छलफल भएको बताए । अध्यक्ष भट्टले थप छलफलपछि यस सम्बन्धमा समझदारी हुने जानकारी दिए ।

एनआरएनएले पोखरालाई स्मार्ट सिटी बनाउने अवधारणा ल्याएपछि बैंकर्सहरु पनि सहकार्य र सहयोग गर्न सकारात्मक देखिएका छन् । पोखरालाई स्मार्ट सिटी बनाउने सम्बन्धमा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकेशरी शाहलगायत अन्य बैंकरहरुसँग अन्तरक्रिया भएको थियो ।

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरा पर्यटकीय सहर भएकाले स्मार्ट सिटीको अवधारणा हुनुपर्नेमा आफूहरू लागिपरेको बताए । उनले भने, ‘हामीले स्मार्ट सिटी बनाउने अभियानमा लाग्दै गर्दा यहाँ प्रयोग हुने प्रविधि सफ्टवेयरहरूको सुरक्षा, उपयोगिता, प्रयोगलगायतका कुरामा समेत ख्याल गर्नुपर्ने भएकाले गर्दा पनि हामीलार्ई सल्लाह सुझावको आवश्यकता छ ।’ पोखरा स्मार्ट सिटी हब प्राविधिक सदस्य राजेन्द्र पौडेलले पोखरामा अनलाइन सेवासमेत आवश्यक भएको बताए । एनआरएनए अध्यक्ष भट्टले पोखरा प्रदेश नम्बर ४ को प्रस्तावित राजधानी भएकोले पोखरालाई स्मार्ट सिटी बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बचन दिए ।

महानगरलार्ई डस्टबिन
एनआरएनएले पोखरा महानगरलाई पहिलो चरणमा एक हजार डस्टबिन दिने भएको छ । एनआरएनएका अध्यक्ष भट्टले पोखरा–लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीसँगको भेटवार्तामा उक्त सहयोग गर्ने वचन दिएका हुन् ।