७ बैशाख २०८१, शुक्रबार
Follow Us

काँग्रेसद्वारा सामाजिक एवं आर्थिक विकासको मार्गचित्र प्रस्तुत

नेपालब्रिटेन डट कम्
१५ मंसिर २०७४, शुक्रबार १४:१६

काठमाडौं । नेपाली काँग्रेसले निर्वाचनपछि मुलुकलाई विकासको बाटामा अगाडि लैजान सामाजिक एवं आर्थिक विकासको मार्गचित्र प्रस्तुत गरेको छ । काँग्रेसले आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी मुलुकलाई पाँच वर्षमा सम्पन्न मुलुक निर्माण गर्न सामाजिक तथा आर्थिक विकासको मार्गचित्र निर्माण गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमा काँग्रेसको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिका संयोजक विनोद चौधरीले विसं २०४८ मा काँग्रेस सरकारले लिएको उदारीकरण र खुला बजार अर्थनीतिका कारण आर्थिक–सामाजिक क्षेत्रमा व्यापक सुधार आएको भन्दै त्यहीअनुसार पार्टीले आगामी पाँच वर्षको आर्थिक विकासको मार्गचित्र प्रस्तुत गरेको जानकारी दिनुभयो । “काँग्रेस उदारीकरण, खुला बजार अर्थतन्त्र र विश्वव्यापीकरणको आर्थिक नीतिमा विश्वास गर्ने पार्टी हो”, उहाँले भन्नुभयो ।

संयोजक चौधरीले आगामी पाँच वर्षमा दुई अंकले आर्थिक वृद्धिदर हासिल गर्ने, आन्तरिक र बाह्य लगानी आकर्षण गर्ने, विशेष आर्थिक क्षेत्र (सेज) को अवधारणा कार्यान्वयनमा ल्याउने र उद्योग स्थापनाको समयमा लगानीकर्तालाई नगद प्रोत्साहन दिने अवधारणा अगाडि सारेको बताउनुभयो ।

यस्तै पिछडिएको प्रदेशमा विशेष आर्थिक क्षेत्र घोषणा गर्ने, विदेशी लगानीकर्तालाई लगानीको वातावरण बनाउन कानूनमा सुधार ल्याउने, पर्यटकीय पूर्वाधारमा सुधार ल्याउने, बाह्य पर्यटक धेरैभन्दा धेरै भित्र्याउनका लागि अन्तर्राष्ट्रिय विमानस्थललाई बढाउने लगायत कुरा समेटिएका छन् ।

यसैगरी सम्पदाको संरक्षण, कृषि क्षेत्रलाई प्रतिस्पर्धी बनाइने, दु्रत मार्गको काम चाँडो सम्पन्न गरिने, व्यवस्थित शहरीकरण, राष्ट्रिय गौरवका आयोजनालाई पाँच वर्षभित्र सञ्चालन गर्नेलगायत छन् । मार्गचित्रमा विसं २०४८ देखि हालसम्म शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी, उद्योगलगायत क्षेत्रमा भएको सुधारलाई समावेश गरिएको छ ।

सम्मेलनमा पार्टीको प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँणले काँग्रेसले पहिलो चरणमा बहुमत स्थानमा जित्ने र दोस्रो चरणमा पनि अग्रस्थानमा आउने जिकिर गर्नुभयो ।

उहाँले काँग्रेसका पक्षमा जनमत अझ राम्रो भएको बताउँदै भन्नुभयो, “पहिलो चरणको निर्वाचनमा सहभागी भएका नेता पनि यो चरणमा परिचालित हुनुभएको छ र केन्द्रीय प्रतिनिधि पनि खटिनुभएको छ, यसले नेपाली काँग्रेसको पक्षमा राम्रो माहोल बनाएको छ ।”

संयोजक खाँणले नेपालजस्तो धार्मिक, सांस्कृतिक, भौगोलिक, जातीय, जैविक विविधतालाई नेपाली काँग्रेसले आन्तरिक जीवनमा पनि समाहित गरेको र वामपन्थीले उपयोग मात्र गरेको जिकिर गर्नुभयो ।