१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘बेलायती प्रधानमन्त्री थेरेसा मे को रोचक लगाव’

नेपालब्रिटेन डट कम्
१६ मंसिर २०७४, शनिबार ०५:३६

काठमाडौं । बेलायती प्रधानमन्त्री थेरेसा मेलाई विश्वले शक्तिशाली राजनीतिक महिलाको रूपमा चिनिन्छ । बेलायतकी दोस्रो महिला प्रधानमन्त्री मेको व्यक्तित्व राजनीतिबाहिर बेग्लै छ । फेसनमा उनको रोचक लगाव छ । प्रधानमन्त्री पदमा रहेकै कारण उनी आफ्नो फेसन प्रस्तुत गर्ने सवालमा कहिल्यै पछाडि हटिनन् ।

कपाल च्याप्ने काँटादेखि जुत्ताको डिजाइनसम्ममा उनको चासो रहन्छ । यो उनको प्रधानमन्त्री हुनुअघिदेखिको रहरको निरन्तरता हो । प्रधानमन्त्री हुनुअघि नै उनले लगाएको चितुवाको छाप अंकित हिल जुत्ता बेलायती महिलामाझ फेसन बनेको थियो । फेसन डिजाइनरले तयार गरेका पहिरन मात्रै लगाउने मे नयाँ–नयाँ जुत्ता संकलनमा अहिले पनि चासो राख्छिन् ।

मेको फेसनबारे त धेरैलाई थाहा छ । उनको फेसन बाहिरै प्रकट भइरहेकै हुन्छ । तर, मे खाना पकाउन पनि उत्तिकै रमाइलो मान्छिन् । खाना पकाउनु उनको सोख नै हो । एक अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘मसँग सयवटाभन्दा बढी त रेसिपीसम्बन्धी किताब छन् ।’

उनी फुर्सदको समयमा श्रीमान् फिलिप मेलाई मीठा–मीठा परिकार बनाएर खुवाउन मन गर्छिन् । फिलिपले पनि एक अन्तर्वार्तामा यसलाई पुष्टि गर्दै भनेका छन्, ‘उनीसँग अहिले पकाउन पर्याप्त समय छैन, तर नयाँ–नयाँ परिकार बनाउन सधैँ रुचि राख्छिन् । उनी निकै राम्रो कुक हुन् ।’

मेलाई डिनर पार्टीमा उपस्थित आफ्ना पाहुनालाई आफ्नै हातले पकाएर खुवाउन मन लाग्छ । उनलाई भेडाको मासुका परिकार औधी मनपर्छ । लसुन, इटालियन पनिर र घिउ राखेर भेडाको मासुको परिकार बनाउने कला छ । ‘मलाई भेडाको मासुका परिकार निकै मन पर्छ र यसका धेरै रेसिपी छन् ।

यसका ग्रिल्ड परिकार साँच्चै नै मीठो हुन्छ,’ मेले अन्तर्वार्तामा भनेकी छिन् । चिकेन लासाग्ने र उसिनेको आलुको परिकार बनाउने दख्खल पनि उनीमा छ । पतिको साथमा रहेर परिकार बनाउन पाउनुलाई आफूले महत्वपूर्ण अवसर ठान्ने गरेको पनि उनले बताएकी छिन् ।
– एजेन्सी