१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सेती–महाकालीमा काँग्रेसलाई जिताउनुस् फेरि प्रधानमन्त्री हुन्छु : देउवा

नेपालब्रिटेन डट कम्
१६ मंसिर २०७४, शनिबार १३:४२

भीमदत्तनगर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि र प्रदेशसभामा सेती–महाकालीमा काँग्रेस विजयी भए आफू पुनः प्रधानमन्त्री हुने दाबी गर्नुभएको छ । बेलौरी, झलारी र भीमदत्तगरमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले आफू एकपटक पुनः प्रधानमन्त्री भएर यहाँको पञ्चेश्वर परियोजना र पश्चिम सेती जलविद्युत् परियोजनाको निर्माण गरेर छाड्ने दृढता प्रकट गर्नुभयो ।
“पञ्चेश्वर परियोजनाको निर्माण कार्य थालनी हुने चरणमा छ, पश्चिम सेती ठेक्का नै भइसक्यो,” उहाँले भन्नुभयो – “यी दुई ठूला परियोजना बने प्रदेश नं ७ मुलुककै धनी प्रदेश बन्छ ।”
महाकाली अञ्चल अस्पतालको स्तरोन्नति र मझागाउँ विमानस्थल सञ्चालन गर्ने वाचा गर्दै प्रधानमन्त्री देउवाले महाकाली नदीमा बनिरहेको चार लेनको पुल बनाएरै छाड्ने अठोट व्यक्त गर्नुभयो । सुदूरपश्चिमको विकासका लागि आफू जहिले पनि कटिबद्ध भएर लागेको र आगामी दिनमा समेत ठूला योजनाहरु ल्याएर विकास गरिने उहाँले बताउनुभयो ।
चुनाव सार्न खोज्यो भनेर विपक्षीले अनाहकमा हल्ला फैलाइरहेकामा उहाँले दुखेसो पनि पोख्नुभयो । सभामा काँग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडू, नारायणप्रकाश साउद र रमेश लेखकलगायतले मन्तव्य राख्नुभएको थियो ।