१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेविसंघको महाधिवेशन पुनः एक दिन लम्बियो

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७३, शुक्रबार ०८:१६

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशन थप एक दिन लम्बिने निश्चित भएको छ । शनिबार मतदान गर्ने गरी तयारी भइरहेकोमा महाधिवेशन प्रतिनिधिहरूको नामावली प्रकाशित गर्न ढिलाई भएका कारण नयाँ नेतृत्वका लागि मतदान आइतवारमात्र हुने भएको छ ।
नयाँ नेतृत्व चयनका लागि भोली उम्मेदवारी मनोनयन र आइतवार मतदान गर्ने भनिएपनि विवादका कारण महाधिवेशन प्रतिनिधिहरुको नामावली अझै प्रकाशित हुन सकेको छैन् । आज मतदाता नामावलीलाई अन्तिम रुप दिने तयारी भइरहेको छ । दिउँसोसम्म अन्तिम नामावली प्रकाशित गर्ने महाधिवेशन आयोजक समितिले जनाएको छ। ११ जिल्लाको विवाद समाधानका क्रममा प्रतिनिधी थप्ने निर्णय भएसँगै महाधिवेशन प्रतिनिधिहरुको संख्या ३४ सय ६० पुगेको छ ।
थपिएको नाममा समेत विवाद रहेका कारण नामावली सार्वजनिक हुन नसकेको हो । महाधिवेशन प्रतिनिधिको संख्यामा अझै केहि थपघट हुन सक्ने बताइएको छ । महाधिवेशन प्रतिनिधिहरूको नामावली पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गरिने बताइएको छ । निर्वाचन सम्बन्धी अन्य सबै प्रक्रिया पार्टी मुख्यालयमै हुने बताइएको छ । नेविसंघको बन्दसत्र भने नहुने निश्चित प्राय भएको छ। नामावली प्रकाशन विवाद र बन्दसत्रका लागि उपयुक्त स्थान नभेट्टाएका कारण तीन दिनका लागि भनिएको नेविसंघको महाधिवेशन ८ दिनमा समेत सम्पन्न हुनेमा आशंका छ। महाधिवेशनको साउन २३ गते पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।