११ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाली कांग्रेसको सहज बहुमत आउछ : नेता खाँण

नेपालब्रिटेन डट कम्
१७ मंसिर २०७४, आईतवार ११:५०

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७४ केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले अहिलेको निर्वाचनमा नेपाली कांग्रेसले सहजढंगले बहुमत ल्याउने बताउनुभएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले आइतबार काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक खाँणले सो कुरा बताउनुभएको हो ।

“दोस्रो चरणमा निर्वाचन हुने १२८ स्थानमध्ये नेपाली कांग्रेसले ११८ स्थानमा उम्मेदवार उठाएको छ,”संयोजक खाँणले भन्नुभयो,“यसमा ७० स्थानमा हामी अग्रस्थानमा छौ ।” उहाँले लोकतान्त्रिक गठबन्धनका लागि छोडिएको १० स्थानका अधिकांश ठाँउमा सहयोगी दलका उम्मेद्वारहरु विजयी हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसले प्रतिनिधिसभाको कूल स्थानमा कति सीट जित्छ ? भन्ने प्रश्नको जवाफ दिदैं उहाँले भन्नुभयो,“ हाम्रो सहज बहुमत आउछ , पहिलो चरणमा पनि बहुमत सीटमा विजय हासिल गर्ने हाम्रो अनुमान छ ।”

उहाँले नेपाली कांग्रेसका शीर्ष नेताहरु निर्वाचन प्रचारको राष्ट्रव्यापी अभियानमा जानुभएको, बामपन्थी गठबन्धनका कारण पार्टी एकजुट भएको र लोकतान्त्रिक गठबन्धनका बीचमा राम्रो समन्वय भएको कारण यो निर्वाचनमा नेपाली कांग्रेसको अवस्था निकै राम्रो भएको पनि उल्लेख गर्नुभयो ।

निर्वाचन परिचालन समितिका संयोजक खाँणले स्थानीय निर्वाचनमा देखिएको जनमत यो निर्वाचनमा आउदासम्म परिवर्तन भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“नेपालको जनमत परिवर्तनशील छ, स्थिर रहिरहदैन भन्ने कुराको प्रमाण पहिलो संविधानसभा र दोस्रो संविधानसभाको निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्ड उठ्नुभएको काठमाडौं–१० र एमालेका अध्यक्ष केपी ओली उठ्नुभएको झापाको अवस्थालाई हेरे पुग्छ। पहिलो चुनावमा भारी मतले जित्नुभएका प्रचण्ड त्यही क्षेत्रमा दोस्रो चुनावमा भारी मतले हार्नुभयो भने पहिलो चुनावमा हार्नुभएका एमाले नेता ओली दोस्रो चुनावमा त्यही क्षेत्रमा भारी मतले विजयी बन्नुभयो ।”

उहाँले निर्वाचनमा राजनीतिक पार्टीहरुको चुनावी मुद्दाको ठूलो भूमिका हुने भएपनि उम्मेद्वार केन्द्रमा रहने उल्लेख गर्दै वाम गठबन्धनमा एमालेले ४० प्रतिशत सीट माओवादीलाई र अन्य केही सीट सानाबाम र स्वतन्त्रलाई दिएको हुनाले त्यसको लाभ नेपाली कांग्रेसलाई हुने पनि बताउनुभयो । उहाँले भन्नुभयो,“पार्टीको एजेण्डा र उम्मेदवारहरुको बीचमा तालमेल नमिलेर बामगठबन्धन सोचे जसरी र सही ढंगले परिचालन भएको पनि छैन ।” नेपाली कांग्रेसका नेता खाँणले यसपटक पार्टीले उठाएका मुद्दाहरु पनि निकै सान्दर्भिक भएको उल्लेख गर्नुभयो ।

उहाँले नेपाली जनमत तानाशाही र अधिनायकवादको विपक्षमा रहेको बताउदै भन्नुभयो,“नेपाली कांगे्रसले राणाशाहीको विरुद्धमा गरेको आन्दोलनमा पनि जनताले साथ दिएको, पञ्चायत विरुद्धको आन्दोलनमा पनि साथ दिएको र राजाको निरङ्कुशता विरुद्ध पनि साथ दिएको उल्लेख गर्दै बामगठबन्धनले घोषित रुपमै अधिनायकवादी समाजवाद र साम्यवादतिर जाने उद्घोष गरेकोले नेपाली जनमत त्यसबाट तर्सेको छ । यो जनमत लोकतन्त्रप्रति आकर्षित भएको छ ।”

उहाँले नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमानसिंहले २०४६ सालमा र गिरिजाप्रसाद कोइरालाले २०६२ मा कम्युनिष्टहरुलाई बहुदलीय संसदीय शासन व्यवस्था आउने विश्वास दिलाएकोले सहकार्य गर्नुभएको तर एमाले र माओवादीका बीचमा सहकार्यहुनासाथ पुन अधिनायकबाद तर्फ जाने उद्घोष गरेकोले कम्युनिष्टहरुको निष्ठामा समेत प्रश्न उठेको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“ माओवादी अध्यक्ष प्रचण्डले २०६४ मा शक्तिखोरमा जे भाषा बोल्नुभएको थियो, त्यही भाषा बाम सहकार्यको घोषणाका समयमा बोल्नुभएको छ,उहाँहरु दुवैमा सुधार भएको देखिएन ।”

निर्वाचन परिचालन समितिका संयोजक खाँणले संविधानसभाको मूलभूत व्यवस्थालाई नै बामगठबन्धनले उल्ट्याउने उद्घोष गरेको पनि उल्लेख गर्नुभएको उल्लेख गर्दै भन्नुभयो,“नेपाली जनतालाई कुनै निरंकुशता र अधिनायकवाद स्वीकार गरेका छैनन् बहुलवादमा आधारित आवधिक निर्वाचन छोडेर एकदलीय निर्दलीय चरित्रको शासन नेपाली जनतालाई स्वीकार्य छैन ।”उहाँले ५ बर्षमा हुने आवधिक निर्वाचनको जनादेश लिएर ५० बर्ष शासन चलाउने कुराले संवैधानिक प्रावधान र बहुदलीय व्यवस्थाको रक्षार्थ उभिएको लोकतान्त्रिक गठबन्धनलाई बल पु-याएको दावी गर्नुभयो ।

उहाँले नेपालमा विद्यमान,भौगोलिक,सांकृतिक,जातीय,धार्मिक,जैविक जस्ता मौलिक विविधता भएको मुलुकका समस्यालाई अधिनायवादी शासन व्यवस्थाले संबोधन गर्न नसक्ने पनि बताउनुभयो ।

मधेशको ठूलो भूभागमा बस्ने नेपालीहरुले उठाएको समस्यालाई टुडिखेलमा उभिएर नेपालको समस्या नै हैन भनेर विखण्डनतर्फ उन्मुख गराउने एमाले राष्ट्रवादी शक्ति हुन नसक्ने बताउदै नेता खाँणले भन्नुभयो,“हामी सबै नेपालीको भावना समेटेर राष्ट्र बलियो हुन्छ भन्ने मान्यतामा छौ, हिमाल,पहाड र तराई कुनै पनि क्षेत्र विनाको मुलुकको हामी कल्पनासम्म गर्न सक्दैनौ ।सबैको समस्याको संबोधन गरेर मुलुकलाई एकताबद्ध बनाएर जानुपर्छ भन्ने हाम्रो मान्यता छ तर उहाँहरु त्यसलाई निषेध गरेर जान खोज्नुभएको छ ।”

उहाँले मधेशका मुद्दा राष्ट्रिय मुद्दा भएको र यसलाई संबोधन नगर्दा मुलुक विखण्डन तिर जाने जोखिम बढ्ने पनि बताउनुभयो । नेता खाँणले नेपाली कांग्रेसले संविधानलाई सर्वस्वीकार्य बनाएर मुलुकलाई विकास र समृद्धिमा लैजाने पनि बताउनुभयो ।

उहाँले नेपाली कांग्रेसकै कारण मुलुकले विकासको मुख देख्न पाएको पनि उल्लेख गर्नुभयो । नेता खाँणले मुुलुकमा बहुदलीय व्यवस्थाको पुनरोदयहुनु पूर्व र त्यसपछि भएको विकास निर्माण र परिवर्तनको तुलना गर्दै सडक,शिक्षा, स्वास्थ्य सेवा, हवाई यातायात, जलविद्युत उत्पादन, औद्योगिक विकास, बैकिङ्ग क्षेत्रमा पनि धेरै परिवर्तन भएको दावी गर्नुभयो ।

कांग्रेस नेता खाँणले लोकतन्त्रको रक्षा,राष्ट्रियताको रक्षा,सहअस्तित्व स्वीकार, शान्ति र समृद्धिको लागि नेपाली कांग्रेसलाई विजयी बनाउन सबैलाई सहयोग पुर्याउन आग्रह पनि गर्नुभयो । उहाँले नेपाललाई समुन्नत पर्यटकीय गन्तव्यको बनाउन चाहेको पनि उल्लेख गर्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका नेता खाँणले शान्ति, स्थिरता, समृद्धि, विकास र लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेसलाई बहुमत आउने पनि दावी गर्नुभयो ।

उहाँले राजनीतिक मुद्दाहरु संवादवाट समाधान गर्न सकिने भन्दै हाल निर्वाचनको विरुद्धमा देखिएका राजनीतक शक्तिहरुलाई पनि बार्तामा आउन आग्रह गर्नुभयो । “शान्ति, लोकतन्त्र,समृद्धि प्रगति र राष्ट्रियतालाई असर गर्ने गतिविधि अबिलम्ब बन्द होस्” नेता खाँणले भन्नुभयो । नेता खाँणले देशभर देखा परेका विष्फोट र हिंसाका घट्नामा विगत माओवादी द्घन्द्घकालमा लडाकू शिविरमा प्रशिक्षित जनशक्तिको संलग्नता पाइएको पनि उल्लेख गर्नुभयो ।

निर्वाचनलाई शान्तिपूर्ण,भयरहित,निष्पक्ष तवरले सम्पन्न गर्न नेपाली कांग्रेस हरतरहले तयार भएको उल्लेख गर्दै नेता खाँणले भन्नुभयो,“नेपाल सरकारलाई यावत शक्तिको प्रयोग गरी मतदाता,उम्मेदवार,कार्यकर्ता र आम नागरिकलाई सुरक्षा दिन सरकार गम्भीर बनोस र सबै सुरक्षा निकाय परिचालन गरोस् ।”

उहाँले निर्वाचनमा आम मतदातालाई सहभागी हुन र राष्ट्रिय मुद्दाहरुको बारमो स्वस्थ बहस चलाएर देशलाई शान्ति र समृद्धिको मार्गमा लैजान अभिप्रेरित गरेकोमा सम्पूर्ण सञ्चारमाध्यम र सञ्चारकर्मीहरुलाई पनि हार्दिक धन्यवाद दिनुभयो ।