१३ बैशाख २०८१, बिहीबार
Follow Us

लोकतन्त्रमा जनता मालिक हुन्छन् : प्रधानमन्त्री देउवा

नेपालब्रिटेन डट कम्
१७ मंसिर २०७४, आईतवार १४:३३

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनको सरकार भएमा जनताका हकअधिकार कुण्ठित हुने बताउँदै लोकतन्त्रमा मात्रै जनता मालिक हुने बताउनुभएको छ । यही मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभाका लागि चुनाव प्रचारप्रसारका क्रममा गृह जिल्ला डडेल्धुरा पुग्नुभएका देउवाले एमाले माओवादीले वाम गठबन्धनका नाममा एकदलीय सर्वसत्तावादी शासन लाद्न खोजेको आरोप लगाउनुभएको छ ।

नेपाली काँग्रेसका सभापति तथा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारसमेत रहनुभएका प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसको नेतृत्वमा जारी भएको लोकतान्त्रिक संविधानमा सबै वर्ग क्षेत्रको अधिकार सुरक्षित भइसकेको जिकिर गर्दै डडेल्धुरालगायत सुदूरपश्चिमवासीलाई विकासको प्रत्याभूति गराउने जिम्मेवारी आफ्नो रहेको बताउनुभयो ।

आज अजयमैरु गाउँपालिकाको देवल दिव्यपुरमा सम्पन्न भएको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले जनताका हकअधिकार र विकास निर्माणका कार्यलाई दु्रत गतिमा लैजानका लागि लोकतान्त्रिक गठबन्धनले जित्नु जरुरी छ भन्नुभयो ।

उहाँले देशमा कम्युनिष्टको जित भएमा देश अधिनायकको कब्जामा रहने जनताले सवतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारसमेत हनन् हुने भएकाले काँग्रेसका पक्षमा उभिन मतदातालाई आग्रहसमेत गर्नुभयो ।

हालसम्म जिल्लामा जे जति विकासका काम भएका छन् आफ्नो प्रयासले भएको भन्दै उहाँले छिट्टै परशुराम नगरपालिकाको परिगाउँमा महाकाली नदीमाथि पुलको निर्माण गर्नेसमेत प्रधानमन्त्री देउवाले प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले दशवर्षे सशस्त्र द्वन्द्वबाट देश र जनताले ठूलो क्षति व्यहोरेको भन्दै द्वन्द्वकालीन संरचना तत्काल निर्माण गरिने विश्वास व्यक्त गर्दै सञ्चारको पहुँच नपुगेका ग्रामीण क्षेत्रमा इन्टरनेटको सुविधा पु¥याउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘छिटै डडेल्धुराका हरेक विद्यालयमा इन्टरनेटको सुविधा पुग्नेछ ।”

प्रधानमन्त्री देउवाले आजै डडेल्धुराको प्रसिद्ध भगवती नवदुर्गा माताको दर्शन गरी अजयमेरु गाउँपालिका–५ र ६ अथवा प्रदेश क्षत्र नं १ को देवलदिव्यपुरमा पार्टीले आयोजना गरेका आमसभामा सम्बोधन गर्नुभएको थियो । उहाँ ती आमसभामा लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेसको जित आवश्यक रहेको बताउनुभयो ।