१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आफै कार्यकर्ता आफै उम्मेद्वार

sarusaru
१८ मंसिर २०७४, सोमबार ०४:०५

डोटी । एक हातमा पोष्टर-पम्पलेटको झोली, झोलीभित्रै पोष्टर टाँस्न प्रयोग हुने गमको बोतल । अर्को हातमा माईक्रोफोन, काँधमा स्पिकर । पिठ्युँमा झोला, झोलाभित्र एक जोर लुगा, टावल, ब्रस… ।

यति हुलिया बताइसकेपछि तपाईंले सोच्नुहोला चुनावको मुखमा कार्यकर्ताहरु प्रचारप्रसारमा हिँडेछन्, के ठूलो कुरा भो र ?

साँच्चै नै ठूलो कुरा भएन, तर ठूलो कुरा चाहीँ के हो भने उनी कार्यकर्ता मात्रै होइनन्, आफैं उम्मेदवार हुन् ।

राष्ट्रिय जनमोर्चाको तर्फबाट डोटी प्रदेश सभा ‘क’का उम्मेद्वार नरेश आले आफैं उम्मेदवार अनि आफैं कार्यकर्ता बनेर चुनावी क्षेत्रमा जनतासँग भोट मागिरहेका छन् ।

अन्य ठूला दलका उम्मेदवारहरुसँग लावा लस्करै छ । माइकिङ गर्ने, पोष्टर टाँस्ने, झण्डा बोक्ने हुलका हुल छन् । अगाडी पछाडी गाडी हुईंकिन्छन्, तर आलेले हकमा सबै काम आफैंले भ्याउनुपरेको छ ।

‘अरुलाई पटक-पटक, राष्ट्रिय जनमोर्चालाई यस पटक’ उनी आफैं नारा लगाइरहेका थिए । अनि भन्दै थिए ‘आदरणीय जनसमुदाय, ठूला दलहरुले दिएका कोरा आश्वासनमा नपर्नुहोला । यिनीहरुले देशको बिकास गर्न सक्दैनन् । देशमा राजनीतिक अस्थिरता ल्याउने यिनै ठूला दलहरु हुन् ।’

यसमा आलेको आफ्नै मौलिक तर्क छ । भन्छन् ‘जनताको बीचमा गएर आफ्ना कुरा राख्नका लागि हुलका हुल चाहिँदैन, यसले उम्मेदवारको खर्च अनावश्यक बढाउँछ ।’

चुनाव प्रचार प्रसारका लागि उम्मेदवारले कराडौं, अर्बौं खर्च गर्ने गरेको समाचारहरु आइरहँदा उनी भने सादगी उम्मेदवारका रुपमा भेटिए ।

‘चुनाव प्रचारका नाममा अनावश्यक खर्च भइरहेको छ, यस्तो अनुत्पादक क्षेत्रमा गरिने खर्च रोकिनुपर्छ’ आले भन्छन् ‘राजनीतिक दलका कार्यकर्ताहरु समाजसेवी हुन्, उनीहरुसँग करोडौं खर्च गर्नका लागि कहाँबाट आउँछ भन्ने कुराको पनि खोजी हुनु जरुरी छ ।’

उनी उम्मेद्वारहरुले जनतालाई आफ्नो आर्थिक स्रोत देखाउनु पर्ने समेत बताउँछन । ‘जनताको सेवा गर्छु भनेर राजनीतिमा आउनेहरुले आफु जित्नका लागि करौं खर्च गर्छन् भने उनीहरुले कस्तो सेवा गर्लान् ?’ आलेको प्रश्न छ ।

‘भड्किलो चुनाव प्रचार शैलीले बर्तमान राजनीतिमा सर्वहारा/श्रमजीवी बर्गको पहुँच छैन भन्ने नकारात्मक सन्देश दिँदैछ’ चुनावी प्रचार अभियानका क्रममा भेटिएका आलेले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘यो भ्रष्टाचारको प्रारम्भिक संकेत पनि हो ।’

‘ठूला दलका उम्मेद्वारहरुले चुनावमा खर्च गरेको पैसा उनीहरुले पाउने पारिश्रमिकबाट असुल हुन सक्दैन, त्यसैले उनीहरु भ्रष्टाचार गर्छन् ।’

ठूला दल तथा तिनका उम्मेदवारहरुले आचारसंहिता बिपरित तोकिएभन्दा धेरै खर्च गरिरहेको भए पनि निर्वाचन आयोगले अनुगमन गर्न नसकेको आलेको आरोप छ ।

आफू प्रदेश सभा क्षेत्र ‘क’ को करीव करीव सवै स्थानहरुमा एक्लै घुमेको बताउने आलेले भने ‘बिगतको भन्दा यस पटकको निर्वाचनमा राष्ट्रिय जनमोर्चाप्रति जनताको समर्थन बढेको छ ।’ आफूहरुको पार्टी अहिले पनि संघर्षमै रहेको र यो चुनावलाई पनि संघर्षकै रुपमा लिएको आले बताउँछन् ।

राष्ट्रिय जनमोर्चाले डोटीबाट प्रतिनिनिधि सभा र प्रदेश सभामा उम्मेद्वारी दिएको छ

– अनलाइन बाट ।