१३ बैशाख २०८१, बिहीबार
Follow Us

चुनावका लागि आज राति १२ बजेबाट मौन अवधि

नेपालब्रिटेन डट कम्
१८ मंसिर २०७४, सोमबार १३:४५

काठमाडौं । बिहीबार ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको आज राति १२ बजेपछि मौन अवधि सुरु हुँदैछ । दलहरुले निर्वाचनको प्रचार–प्रसार गर्ने आज अन्तिम दिन हो । मौन अवधि सुरू भएपछि निर्वाचन सम्पन्न नहुञ्जेलसम्म राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, मतदाता र सञ्चार माध्यम कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाउने निर्वाचन आयोगले जानकारी दिएको छ ।
मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने व्यवस्था छ । साथै मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्ने निर्वाचन आचार संहितामा उल्लेख गरिएको छ ।
मौन अवधिमा एसएमएस, सामाजिक सञ्जाल, विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने व्यवस्था रहेको छ । दल, उमेदवार, भ्रातृ संगठन, मतदाता, मिडिया लगायत सबैलाई मौन अवधिमा निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १५ हजार ३४४ मतदान केन्द्र कायम गरिएको छ ।
दोस्रो चरणका लागि मंसिर मंगलबार र बुधबार सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको आयोगले जानकारी दिएको छ । ४७ जिल्लाका प्रतिनिधिसभाका १ सय २८ क्षेत्रबाट प्रत्यक्षतर्फ १ हजार ६ सय ६३ तथा प्रदेशसभा सदस्यतर्फ २ सय ५६ क्षेत्रबाट २ हजार ८ सय १९ जना उमेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने आयोगले जनाएको छ ।