१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपालको हिमाली क्षेत्रमा हिमपातको सम्भावना

sarusaru
१९ मंसिर २०७४, मंगलवार ०३:१४

काठमाडौं- मौसम पूवार्नुमान महाशाखाले दक्षिणपूर्वी अरब सागरमा देखापरेको शक्तिशाली चक्रवातका कारण नेपालका हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको भन्दै पर्वतारोहीलाई सतर्क रहन अपिल गरेको छ । महाशाखाले सोमबार जारी गरेको विज्ञप्तिमा पर्वतारोहीलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
महाशाखाका मौसमविद् मीनकुमार अर्यालले दक्षिणपूर्वी अरब सागरमा देखापरेको चक्रवातको प्रभावस्वरुप नेपालको हिमाली क्षेत्रमा हिमपात हुनसक्ने बताए । ‘यसको प्रभाव विशेषगरी पश्चिम र मध्य हिमाली क्षेत्रमा पर्ने सम्भावना छ’, उनले भने ।
अर्यालले चक्रवातको बाहिरी घेराले सोमबारसम्म नेपालको पश्चिमी भूभागलाई छोएकाले त्यसको हल्का प्रभाव पश्चिममा देखापरिसकेको बताए । ‘मंगलबार र बुधबार पश्चिम नेपालमा बदली हुन्छ । र, फाटफुट पानी पर्ने सम्भावना पनि छ’, उनले भने ।
अर्यालका अनुसार चक्रवातका कारण भित्रिने जलवाष्फयुक्त बादल नेपाल भित्रिन्छ । त्यो बादल हिमाली क्षेत्रमा पुगेपछि तत्काल हिमपातको सम्भावना हुन्छ । ‘यो क्रम बुधबार सा“झबाट कम हुनसक्छ । तर, पश्चिमको मौसम भने बुधबार दिनभर नै गडबड हुन्छ’, उनले भने ।
महाशाखाले भूउपग्रहबाट प्राप्त तस्बिर तथा गणितीय मौसम पूर्वानुमानका आधारमा तीन दिनसम्म चक्रवातको प्रभाव नेपालको हिमाली क्षेत्रमा पर्ने जनाएको हो ।
महाशाखाले सोमबार पश्चिम तथा मध्य हिमाली क्षेत्रमा हल्का, मंगलबार केही स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना औंल्याएको छ । यसैगरी बुधबार पश्चिम र मध्य नेपालमा हल्कादेखि मध्यम र पूर्वी हिमाली क्षेत्रको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

– नागरिक न्युजबाट ।