७ बैशाख २०८१, शुक्रबार
Follow Us

निर्वाचनको तयारी पूरा

नेपालब्रिटेन डट कम्
२० मंसिर २०७४, बुधबार ०८:०९

ललितपुर, जिल्लामा निर्वाचनको सबै तयारी पूरा भएको छ ।
सुरक्षाकर्मी र निर्वाचनमा खटिने कर्मचारी सबै मतदानमा आवश्यक सामग्री लिएर सम्बन्धित स्थलमा पुगिसकेको जिल्ला निर्वाचन कार्यालयले बताएको छ ।

एक सय ३१ मतदानस्थलमा नै कर्मचारी पुगिसकेको कार्यालयका प्रमुख सीता साम्बाले बताउनुभयो । एक मतदान केन्द्रमा १० देखि १२ जना कर्मचारी खटिनेछन् । जिल्लाभरका २७७ मतदान केन्द्रमा तीन हजार एक सय कर्मचारी खटिएका छन् । मतदानमा खटिने कर्मचारीलाई विभिन्न तहका तालीम सञ्चालन भएको थियो । उहाँले भन्नुभयो, “मतदाता शिक्षाका लागि स्वयंसेवकलाई तालीम दिएर कार्यालयले वडापिच्छे खटाइएको छ ।”

जिल्लभरमा दुई लाख २८ हजार तीन सय ३८ मतदाता छन् । जिल्लामा प्रतिनिधिसभामा तीन र प्रदेशसभामा छ क्षेत्र छन् । सबैभन्दा बढी क्षेत्र नं ३ मा ८६ हजार चार सय ३९ र सबैभन्दा कम क्षेत्र नं १ मा ६५ हजार ९१८ मतदाता छन् । क्षेत्र नं २ मा ७५ हजार ९८१ मतदाता छन् ।
सुरक्षा व्यवस्था मजबुत

बिहीबार हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाभरिको सुरक्षा व्यवस्था मजबुत रहेको प्रजिअ महादेव पन्थीले बताउनुभयो ।

“विशेषगरी मतदान केन्द्रीकृत सुरक्षा व्यवस्थालाई चुस्त पारिएको छ”, उहाँले भन्नुभयो, “सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको उपस्थिति बलियो छ, भोलि हुने मतदानमा ढुक्कसाथ मत खसाल्न म मतदाताहरुलाई आग्रह गर्छु ।”