७ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाण्डौ १ मा प्रकाशमान विजयी

sarusaru
२३ मंसिर २०७४, शनिबार ०२:२८

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका छन् ।

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ८१९ मतान्तरले पराजित गर्दै कांग्रेस नेता सिंह विजयी बनेका हुन् ।

प्रकाशमानका स्वकीय सचिव युपी लामिछानेले पनि सिंहको जितको पुष्टि गरेका छन् ।

निर्वाचन कार्यालयले अनलाइनखबरलाई दिएको जानकारीअनुसार सिंहले १० हजार ९ सय ३७ मत पाएका छन् । सिंहका निकटतम प्रतिद्वन्द्वी रविन्द्र मिश्रले १० हजार ११८ मत पाएर दोस्रो स्थान हासिल गरेका छन् ।

मिश्रले कांग्रेस नेता सिंहलाई सुरुदेखि नै पछ्याइरहे पनि जित्न सकेनन् । चुनाव जितेर मिश्रले आफ्नो पार्टीलाई राष्ट्रिय पार्टी बनाउने रणनीति बनाएका थिए ।

वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले भने तेस्रो स्थानमा चित्त बुझाएका छन् । उनले ५ हजार ३३५ मत ल्याए ।

कांग्रेसको विजयी सुरुआत

प्रकाशमान सिंहको जितसँगै प्रतिनिधिसभामा नेपाली कांग्रेसले जितको पहिलो खाता खोलेको छ । काठमाडौं १ बाटै कांग्रेसले विजयी सुरुआत गरेको हो ।

विगतमा दुईपटक संविधानसभामा जितेका सिंहले ह्याटि्रक गरेका छन् ।

कांग्रेसले देशव्यापीरुपमा पराजय व्यहोरिरहेको अवस्थामा सिंहको जितले उनलाई पार्टीभित्र बलियो पोजिसनमा पुर्‍याउने अनुमान गर्न सकिन्छ ।

यसैवीच विवेकशील साझा पार्टीका नेता मिश्रले अनलाइनखबरलाई प्रतिक्रिया दिँदै आगामी दिनमा पार्टी र संगठनको सुदृढीकरणमा सक्रिय भएर लागिपर्ने बताए । अर्को चुनावमा पार्टीलाई जित दिलाउनका लागि अहिलेको चुनावी नतिजाले आफूहरुमा उत्साह थपेको मिश्रले बताए ।

पार्टी गठन भएको छोटो अवधिमै यति धेरै मत आउनु सकारात्मक भएको र यसले आफूलाई उत्साह थपेको उनले बताए ।

– अनलाइनबाट ।