१५ चैत्र २०८०, बिहीबार
Follow Us

वाम गठबन्धनका कार्यकताको कुटाइबाट चार प्रहरी घाइते

नेपालब्रिटेन डट कम्
२३ मंसिर २०७४, शनिबार ११:१९

बझाङ । वाम गठबन्धनका कार्यकर्ताको आक्रमणमा परी गस्तीमा रहेका चारजना प्रहरी घाइते भएका छन् । गठबन्धनका कार्यकर्ताले प्रहरीको गाडीमा तोडफोड समेत गरेको छ । शुक्रबार राति जिल्ला वन कार्यालय अगाडि रहेको प्रहरी गस्तीलाई लक्ष्य गरी मदिरा सेवन गरेका उनीहरुले ढुंगामुडा गरेका थिए ।

ढुंगा लागेर प्रहरी जवानहरु हेमराज पनेरु, लक्ष्मी भट्ट, तेजबहादुर चन्द र यज्ञराज जोशी घाइते भएको प्रहरी निरीक्षक रामबहादुर चन्दले जानकारी दिनुभयो । धाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

ढुंगामुडा गर्दा प्रहरीको गाडीमा समेत क्षति पुगेको छ । ढुंगा लाग्दा वडाप्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथको सञ्चार सेटमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका प्रहरी नायब निरीक्षक रामसिंह बाहोराले बताउनुभयो ।

तोडफोडमा संलग्न रहेको आशंकामा खप्तड छान्ना गाउँपालिका– १ का मुकुन्द थापा, थलारा गाउँपालिका– २ का रमेश खाती र भक्त खातीलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया अगाडि बढाएको बोहराले जानकारी दिनुभयो ।

मतपरिणाम सार्वजनिक भएपछि बजारमा विजय उत्सव मनाइरहेका वाम गठबन्धनका कार्यकर्ताले सो आक्रमण गरेका बताइएको छ । वडा प्रहरी कार्यालयको टोलीले स्थिति नियन्त्रण गर्न नसकेपछि जिल्ला प्रहरी कार्यालयबाट थप सुरक्षा टोली मगाउनुपरेको थियो ।