६ बैशाख २०८१, बिहीबार
Follow Us

नवौं क्षेत्रीय सम्मेलनको तयारी तीब्र: एनआरएन क्षेत्रीय संयोजक लामा

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७३, शुक्रबार १७:२४

लन्डन । गैरआवासीय नेपाली संघ अमेरिकाकोे नवौं क्षेत्रीय सम्मेलनको तयारी पूरा भएको आयोजकले जनाएको छ । अगस्त २७ र २८ तारिक न्यूजर्सी राज्यको नेवार्कमा सम्पन्न हुने सो सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाले जनाए । संघको केन्द्रीय समितिलाई सुझाव र मार्गर्दशन दिने अपेक्षा गरिएको उक्त सम्मेलनको नारा ‘एनआरएनए भिजन २०२० एण्ड बियोन्ड’ राखिएको छ । लामाले गैरआवासीय नेपाली संघ तीन दर्जन राष्ट्रिय समितिलाई निमन्त्रणा पठाइसकिएको जनाकारी दिए । क्यानाडा, अष्ट्रेलियलगायत यूरोपका धेरै देशलाई अमेरिकाको लागि भिषा लगाउनु पर्दैन, भिषा लगाउन पर्ने करिब ३३ देशका गैरआवासीय नेपालीहरुको लागि स्पोन्सर लेटर पठाएको लामाले बताए ।

नेवार्कको हिल्टन होटलमा आयोजना हुने सम्मेलनलाई सफल पार्न अमेरिकामा छुट्टै कार्यालयको स्थापना गरी विश्वबाट आउने गैरआवासीय नेपालीहरुको सहयोगका लागि टोली खटिएको छ । सम्मेलनलाई सफल बनाउन संयोजक सोनाम लामाको संयोजकत्वमा १४ सदस्यीय मूल सञ्चालन समितिसहित २० वटा विभिन्न उपसमिति सक्रिय रुपमा लागि परेका छन् । सम्मेलनमा भाग लिन प्रमुख अतिथिका रुपमा पूर्वसभामुख सुवास नेम्वाङ अमेरिका आउने निश्चित भइसकोको जनाकारी लामाले दिए ।

संयोजक लामा
संयोजक लामा

अमेरिकाबाहेक २ सयसहित करिब ५ सय जनाले सम्मेलनमा भाग लिने बताइएको छ । सम्मेलनमा भाग लिन शेष घले, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व प्रमुखसंरक्षक जीवा लामिछाने, संस्थापक नेता रामप्रताप थापा, युरोप संयोजक कुल आचार्य, पूर्वयुरोप संयोजक चिरञ्जीवी ढकाल, उपाध्यक्ष कुमार पन्त महासचिव बद्री केसीलगायत गैरआवासीय नेपाली संघका अधिकाश पदाधिकारीले सम्मेलनमा भाग लिने अपेक्षा गरिएको छ । 

सम्मेलनमा भाग लिन आउनेहरुको लागि २ सय अमेरिकी डलर प्रवेश शुल्क तोकिएको छ । सो सम्मेलनबाट उठेको रकम गैरआवासीय नेपाली संघले काठमाडौंमा निमार्ण गर्न लागेको एनआरएन भवनका लागि जाने संयोजक लामाले नेपाल ब्रिटेन डट कमलाई बताए । सम्मेलनमा विश्वका बिभिन्न देशमा कार्यरत करिब २ दर्जन पत्रकारहरुको समेत उपस्थिति रहने अपेक्षा गरिएको छ । यसअघि अध्यक्ष शेष घलेले गैरआवासीय नेपाली संघलाई समयानुकूल परिर्वतन गर्दै दीर्घकालीन रुपमा सशक्त रुपले अगाडी बढाउने उद्देश्यले सम्मेलनमा संघको नयाँ संरचनाको खाका प्रस्तुत गर्ने जनाइएको छ । यस्तै गैरआवासीय नेपाली सँघको यूकेको तर्फबाट करिब डेढ दर्जन प्रतिनिधीले सो सम्मेलनमा भाग लिने तयारी गरेका छन् ।

1