१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेम्वाङको चार पटक निर्वाचन यात्रा

नेपालब्रिटेन डट कम्
२४ मंसिर २०७४, आईतवार ०७:३२

इलाम । इलाम क्षेत्र नं २ बाट पूर्वसभामुख सुवास नेम्वाङ निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केशव थापालाई नौ हजार ६५४ मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा चौँथो पटक विजयी हुनुभएको छ । नेम्वाङले ३६ हजार ५१४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी थापाले २६ हजार ८६० मत प्राप्त गर्नुभयो । नेम्वाङले नेपालका संविधानसभाका दुईवटै निर्वाचनपछि गठित संविधासभाको अध्यक्ष भई संविधान जारी गर्न मुख्य भूमिका निर्वाह गर्नुभएको थियो ।

दोस्रो जनआन्दोलनपछि पुनःस्थापित संसद्को सभामुख बन्नुभएका नेम्वाङले लामो समय त्यही संसद्को सभामुख भई काम गर्ने अवसर पाउनुभएको थियो । इलामबाट २०५६ सालको संसदीय निर्वाचनमा विजय भएपछि उहाँले कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री, सामान्य प्रशासनमन्त्री र संसद्को सार्वजनिक लेखा समितिको अध्यक्षको समेत भूमिका निर्वाह गर्नुभएको थियो ।

हाल नेकपा (एमाले) संसदीय दलका उपनेतासमेत हुनुभएका नेम्वाङ कसैलाई नहोच्याउने, नम्र र मिजाजिलो स्वभावका हुनुहुन्छ । उहाँले संविधान बनाउनका लागि सबैको सहकार्य अपरिहार्य रहनेमा जोड दिँदै आउनुभएको छ ।

नेकपा (एमाले)को केन्द्रीय सदस्य र कानून विभाग प्रमुख रहनुभएका नेम्वाङले २०५६ सालको आम निर्वाचनमा नेपाली काँग्रेसका कुलबहादुर गुरुङ, २०६४ को संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका केशव थापा र २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा काँग्रेसका महासमिति सदस्य भेषराज आचार्यलाई पराजित गर्नुभएको थियो । कानून व्यवसायीका रूपमा परिचित र प्राध्यापन पेशामा समेत संलग्न भइसक्नुभएका नेम्वाङले नेपाल बार एशोसिएसनको महासचिवको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियो ।

विसं २०२९ मा अनेरास्ववियुका तर्फबाट इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्ववियु सभापति भएसँगै उहाँ राजनीतिमा निरन्तर क्रियाशील रहनुभएको छ । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लाग्नुभएका नेम्वाङ २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभएको थियो । नेपाल ल क्याम्पसमा २०३५ सालदेखि २०५१ सम्म उहाँले प्राध्यापन गर्नुभएको थियो ।

आफ्नै पहलमा संविधान जारी भएको बताउँदै नेम्वाङले अब देश र जनताको विकास र समृद्धिका लागि ठोस योजना ल्याउनेमा जोड दिनुभयोे । “सबैको साथ र सहयोगमा निर्वाचनमा विजयी भइयो, अब जनताको हित र विकासको काम गर्नेछु”, उहाँले भन्नुभयो ।