१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एमाले एक्लैलाई थोरैले बहुमत नपुग्ने, नेपाली कांग्रेस तेस्रो

नेपालब्रिटेन डट कम्
२४ मंसिर २०७४, आईतवार १५:०७

काठमाडौं । कूल १ सय ६५ स्थानका लागि भएको प्रत्यक्ष निर्वाचनमा नेकपा एमालेले आइतबार राति ९ बजेसम्म ६५ स्थानमा जित निकालिसकेको छ । उसले अझै १६ स्थानमा जित्न सक्छ । यदि उसले १६ स्थानमा जित निकाले ८१ स्थानमा एमाले विजयी हुनेछ । स्वतन्त्र ३ स्थानमा विजयी र झापा–३ मा एमालेकै समर्थनमा विजयी भएका राजेन्द्र लिङदेनसमेत जोड्दा प्रत्यक्षतर्फ एमालेको ८५ सिट पुग्नेछ । उसलाई बहुमत पुग्न थप ५३ सांसद आवश्यक पर्छ । बहुमतका लागि १ सय ३८ सांसद चाहिन्छ । समानुपातिकबाट प्राप्त गर्ने सांसद जोड्दा एमाले एक्लैलाई बहुमत पुग्न थोरै सांसद नपुग्न सक्ने अनुमान गरिएको छ ।
दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म २४ स्थानमा विजयी भइसकेको छ । उसको ११ स्थानमा अग्रता कायम छ । यदि उसले ११ स्थानमा जित निकाले ३५ स्थानमा विजयी हुनेछ ।
संघीय संसदमा वर्तमान सत्तारुढ दल नेपाली कांग्रेस तेस्रो हुने भएको छ । ५१ स्थानको मत परिणाम आउन बाँकी रहँदा कांग्रेसले १३ स्थानमा जीत निकालेको छ । सम्भवतः उसले ११ स्थान जित्न सक्छ । यदि ११ स्थानमा नेपाली कांग्रेसले जित निकाले प्रत्यक्षतर्फ २४ स्थानमा विजयी हुनेछ । यो उसको तेस्रो पोजिसन हो ।
चौथो पोजिसनमा रहेको संघीय समाजवादी फोरमले ५ स्थानमा जित निकालेको छ । उसको ६ स्थानमा अग्रता छ भने राष्ट्रिय जनता पार्टी ४ स्थानमा विजयी भएको छ भने ५ स्थानमा उसको अग्रता कायम छ ।