१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा व्यापक हिमबर्षा

नेपालब्रिटेन डट कम्
२४ मंसिर २०७४, आईतवार २२:४४

लण्डन । बेलायतको ठूलो क्षेत्रमा आइतबार विहानैदेखि हिमपात हुँदा सामान्य जनजीवन प्रभावित भएको छ।

हिमपातका कारण आइतबार वेल्स, मिडल्याण्ड तथा उत्तर तथा पश्चिमी इङल्याण्डमा यो बर्षकै पहिलो पटक व्यापक हिमपात भएको स्थानीय मौसमविद्हरूले जनाएका छन्।

हिमपातका कारण बरमिङघम विमानस्थलबाट विभिन्न स्थानका लागि तय भएका उडानहरू अवरुद्ध भएका छन् भने अन्य यातायातबाट हुने आवतजावतमा समेत निकै कठिनाई परेको प्रहरीले जनाएको छ। हिमपातका कारण वेल्स तथा मिडल्याण्ड लगायतका क्षेत्रमा परेको हिमबर्षाले लामो समयसम्म यातायातका साधन ठप्प हुनपुगेका थिए।

मौसम विज्ञान कार्यालयले उक्त क्षेत्रमा आइतबार नै थप हिउँ पर्ने जनाउँदै सावधानी अपनाउन सम्वद्ध सवैजनालाई आग्रह गरेको छ।

हिमपातपछि स्कटल्याण्ड, वेल्सलगायतका भूभागमा तापक्रम ह्वात्तै घटेर माइनस १० डिग्री सेल्सियससम्म पुग्ने अनुमान मौसमविद्ले गरेका छन्। शहरी वस्तीबाट टाढा रहेका केही ग्रामिण इलाकामा तापक्रम माइनस १४ डिग्री सेल्सियससम्म पुग्ने पूवानुमान मौसम विज्ञान पूर्वानुमान कार्यालयले बताएको छ।

केही ग्रामिण वस्तीमा हिमपातका कारण यातायात सेवा अवरुद्ध हुनसक्ने भन्दै सकेसम्म एक दुई दिन नयाँ यात्रा तय नगर्न नागरिकलाई अनुरोधसमेत गरिएको छ।