६ चैत्र २०८०, मंगलवार
Follow Us

लन्डन राम मन्दिरमा जनैपूर्णिमा विशेष कार्यक्रम

नेपालब्रिटेन डट कम्
२९ श्रावण २०७३, शनिबार ०४:४८

लन्डन । विश्व हिन्दू महासंघ यूके च्याप्टरले आउँदो विहीबार अर्थात् अगस्ट १८ तारिखमा जनैपूर्णिमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । साउथलमा रहेको राम मन्दिरमा आयोजना हुने उक्त कार्यक्रममा सहभागिताका लागि विश्व हिन्दू महासंघ आह्वान गरेको छ ।
महासंघका अध्यक्ष चिरञ्जीवी ढकालका अनुसार यूके च्याप्टरले उक्त दिन रुद्री तथा जनै फर्ने र रक्षा बन्दन लगाउने कार्यक्रम आयोजना गरिएको छ । विहीबार विहान ९ बजेदेखि ११ बजेसम्मका लागि समय सीमा तोकिएको विश्व हिन्दू महासंघले जनाएको छ । सम्पूर्ण बेलायतीबासी नेपाली समूदायलाई आमन्त्रण गरिएको सो रक्षा बन्धन कार्यक्रममा संयुक्तरुपमा जनै मन्त्रणि गरिने आयोजकले जनाएका छन् ।

Programme Address

22 King Street, Southall, London UB2 4DA

जनैको महत्वबारे ज्योतिषाचार्यको बयान

येनबद्धो बलिराजा दानवेन्द्रो महाबल।
तेनत्वं प्रतिवध्नामी रक्षेमा चलमा चल।।
हिन्दु धर्ममा जनैको विशेष स्थान छ तर अब यसका वैज्ञानिक कारणबारे पनि खोज अनुसन्धान गरिएको छ । हिन्दु धर्मालम्बीहरुमा ब्रतबन्ध सस्कार गरिसकेका पुरुषहरुले काधमा लगाउने गरेको धागोलाई जनै भनेर भन्ने गरिन्छ, देख्दा धागो जस्तो भएता पनि यसभित्र बैदिक बिधान अनुरुप प्रतिष्ठा गरेर शक्तिशाली बनाइएको हुन्छ, धागोमा बिभिन्न देवताहरुको आराधना गरेर अभिमंत्रण गरि सकेपछि त्यो जनै वा यज्ञोपवित बन्दछ।
शुध्द व्यक्तिले काटेको कपासको धागोलाई बिधानपुर्बक बाटेर छुट्टै किसिमले गाठो पारिएको हुन्छ,त्यस गाठोलाई शिखा भन्ने गरिन्छ,एउटा जनै वा यज्ञोपवितमा ३ डोरा हुन्छ, त्यो ३ दोरा भित्र पनि प्रत्यक डोरामा ९ वटा धागो हुन्छ जुन बेस्सरी बाटिएको हुदा सजिलै नदेखिन पनि सक्छ, यसलाई बिस्तारै केलाएर हेरेमा मात्र देखिन्छ, जसलाई तन्तु भनिन्छ,यसरी निर्माण गरिएको २ वटा जनै भएपछि १ जोर या न कि १ जनै बन्छ, र त्यसलाई जनै पुर्णिमाको दिनमा बिधि पुर्बक अभिमंत्रण गरेर तन्तु देवता,र शिखामा ब्रम्हा बिष्णु र महेश्वरको पूजा गरि ब्रम्ह सुत्र बनाइन्छ र धारण गरिन्छ, बिधिपूर्बक ब्रम्हसुत्र धारण गर्ने र ब्रम्ह कर्म गर्ने भएकोले पहिले देखिने ब्राह्मण भनेर नामकरण गरिएको हो ।

धार्मिक दृष्टिकोणबाट जनैधारण गर्नाले शरीर शुद्ध र पवित्र हुने मानिन्छ, जनै धारण गरेको व्यक्तिलाई कुनै पनि आसुरी शक्तिले आक्रमण गर्न सक्दैन । जुनसुकै धार्मिक कार्य गर्दा पनि पुरुषले जनै अनिबार्य धारण गरेको हुनु पर्दछ, बिना जनै गरिएको काम पुरा नहुने मात्र होइन बिपरित फल समेत दिन सक्ने हुन्छ। यसलाई हिन्दु धर्मको एउटा अनुशासनको कडी मान्न पनि सकिन्छ।
वैज्ञानिक दृष्टिबाट पनि जनै लगाउदा मानिस झनै स्वस्थ रहने पत्ता लागेको छ, यसले हृदय रोगको सम्भावनालाई कम गर्छ, चिकित्सा विज्ञानका अनुसार दाँया कानको नशा अण्डकोष र गुप्तेन्द्रियसँग जोडिएको हुन्छ । पिसाब फेर्ने समयमा दाँया कानमा जनै राख्नाले शुक्रकिटको रक्षा हुनुको साथै बाया काधमा जनै राखेर सुतेमा नराम्रो सपना देख्ने समस्याबाट मुक्ति मिल्दछ भने निन्द्रामा भुत प्रेत आदि बाट हुने ऐठन आदिको भयबाट पनि मुक्ति मिल्छ । काधमा जनै लगाउनाले पेट सम्वन्धि रोग तथा रक्तचापको समस्याबाट बच्न सकिन्छ । यो पनि मानिन्छ कि शरीरको मध्यभागबाट पिठ्युमा जाने एक प्राकृतिक रेखाले विद्युत प्रवाहको काम गर्छ । यो रेखा दाँया काँधबाट कम्मरसम्म फैलिएको हुन्छ,त्यसैले जनै लगाउनाले विद्युत प्रवाह नियन्त्रित हुन्छ। जसको कारण काम-क्रोधमा नियन्त्रण राख्न सजिलो हुन्छ।

हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानको प्रतिक मानिन्छ, सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ।
यसैगरी यस दिन तन, मन, बचन र भाब शुद्ध गरी देवता,मनुष्य, सप्तऋषि (कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ । ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा गर्ने ऋषीहरूको सम्मानमा ऋषि तर्पणी गरि अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्र कार्य सम्पादन गरिन्छ,यज्ञोपवित धारण बैदिक बिधान द्वारा सस्कारित द्विजहरुले गर्ने गर्दछन भने अन्य सबै नारि पुरुषले डोरो वा रक्षाबन्धन धारण गर्ने गर्दछन,रक्षा बन्धनको धारणले व्यक्तिलाई बिबिध किसिमका अफ्ठ्यारो परेको बेलामा पनि रक्षा गर्नेछ भन्ने धार्मिक मान्यता र किम्बदन्तीहरु पाइन्छन। रक्षाबन्धन अभिमंत्रित गरेर बाध्ने बेलामा पढिने मन्त्र यस प्रकार छ ।

येनबद्धो बलिराजा दानवेन्द्रो महाबल।
तेनत्वं प्रतिवध्नामी रक्षेमा चलमा चल।।

नेपाली भाषामा
“सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन,विचलित नहोऊ”
जनैमा प्रयुक्त हुने डोराग्रन्थ र शिखाले ज्ञान र जीवनबारे सही मार्गमा लैजान सहयोग गर्छन। यी कर्महरू गर्ने व्यक्ति, देवऋण, ऋषीऋण (मनुष्य ऋण) र पितृऋणबाट मुक्त हुने धार्मिक विश्वास छ। दानवी शक्तिबाट रक्षीत हुनका लागि आजै रक्षा बन्धन धारण गर्ने गरिन्छ। जनैपूणिर्माको दिन बांधिएको रक्षाबन्धन गाइतिहारका दिन गाईको पुच्छरमा बांधि दिएमा मृत्युपछि वैतरणी नदी पार हुने जन विश्वास छ ।
काठमाडौं उपत्यका र यसको प्रभाब परेका क्षेत्रमा बसोबास गर्ने नेवार समुदायमा भने यस पर्वलाई ‘गुन्हु पुन्ही’ भनी मास, भट्मास, मुूग, ठूलो केराउ, सानो केराउ, चना, सीमी, र बोडी गरी नौ प्रकारको गेडागुडी मिसाई पकाएको क्वाटी खाएर खाने गर्दछन् । यस दिन रसुवा जिल्लामा पर्ने लामटाङ्ग हिमालयको काखमा रहेको गोसाइूकुण्डमा ठूलो मेला लाग्दछ । साथै गोसाइकुण्डबाटै पानी आइराखेको जनविश्वास रहेको पाटनको कुम्भेश्वरमा पनि ठूलो मेला लाग्दछ ।
रक्षाबन्धन धारणको बिषयमा शास्त्र र ब्यबहारमा केही फरक मत देखिन्छ, शास्त्रको निर्णय अनुसार पुरुषले दाया हातमा र महिलाले बाया हातमा धारण गर्नु पर्दछ भनिएको छ, तर अहिले समानताको नाममा वा प्रसाद त दाया हातमा लगाउनु पर्दछ भन्ने मान्यता र यस्तै बिबिध मत मतान्तरको आधारमा सबैले दाया हातमा धारण गरेता पनि शास्त्रको निर्णय अबलम्बन गर्ने हो भने पुरुषले दाया र महिलाले बाया हातमा नै धारण गर्ने हो ।
केही कारणले जनै पूर्णिमामा अभिमंत्रण गर्न सकिएन जनै र रक्षा बन्धन धारण गर्न बिध्न पर्यो भने अनन्त चतुर्दशीको दिनमा पनि गर्न सकिन्छ । हाम्रो धार्मिक कार्यहरु सबै ब्यबहारिक र बिज्ञान सम्मत छन् त्यसलाई हामीले बुझ्न र प्रयोग गर्न सकिन्छ ।
-[ज्योतिषाचार्य पं . वासुदेव अधिकारी]